११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

जोखिममा बालबालिकाको जीवन

धादिङ- सलाङ-५ मजुवाटारका बालबालिका दिनहुँ ज्यान जोखिममा राखेर ज्ञान आर्जन गर्न त्रिशुली नदी तर्न बाध्य छन्। देख्दा आङ सिरिङ हुन्छ। एउटा डोरीमा बाँधिएको बेरिङ (खिरखिरे) तुइनको लठ्ठामा अड्काएर नदी वारपार गर्छन्।
Student dhading-1
घरबाट निस्कँदा किताबको झोलासँगै खिरखिरे उनीहरुको प्रिय सवारी हो। प्रत्येक घरमा कम्तीमा एउटा खिरखिरे राखिएको छ, जलेश्वरी मावि सलाङमा कक्षा ९ मा पढ्ने छात्र मुक्तबहादुर मगरले भने। यहाँ एउटा कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्ने जिर्ण तुइन् छ। बालबालिकाले त्यो तुइन् तान्न सक्दैनन्। तान्नै नसक्ने तुइनको विकल्पमा उनीहरु यसरी खिरखिरे भिरेर निस्कन्छन् साँझ लिएर जान्छन्।
Student dhading-3
तुइनको बाकस नदी पारी हुँदा तरकारी तथा अन्य सामाग्री तार्नकै लागि पनि स्थानीयले खिरखिरे प्रयोग गर्छन्। तुइनमा हिँड्दा तान्न गाह्रो पर्छ। खिरखिरेमा तर्दा सजिलो र चाँडो हुने बालबालिका बताउँछन्। यसरी जोखिम पूर्ण यात्रामा निस्कनेहरु बालिकाभन्दा बालकहरु ब्ढी हुन्छन्। केटीहरु पाएसम्म तुइनमै जान्छन्। कोक्रो पनि पुरानो छ। ३/४ जना बसेर पारी पुग्न पनि १० मिनेट जति लाग्छ। वारीपारी गरुन्जेल स्कुल पुग्न ढिला हुने भएकाले खिरखिरेमा झुण्डिनुको विकल्प नभएको उनी बताउँछन्।
Student dhading-4
तल निलो नदी सुसाउँदै बगिरहेको छ। एउटा डोरीको सहायताले उनीहरु सहासपूर्वक झुण्डिएर आउजाउ गर्छन्। मुक्तबहादुर भन्छन्- डराएर के गर्नु आँट नगरे पारी पुगिन्न। पहिले पहिले डर लाग्थ्यो अहिले त बानी परिसक्यो। अलि छिटो छिटो हात चालिएन भने धारले काट्न सक्छ, तुइनमा त च्यापिएर घाइते हुने डर हुन्छ। यसरी दिनहुँ ओहोर दोहोर गर्दा पनि अहिलेसम्म विद्यार्थीलाई भने केही नभएको उनी बताउँछन्। गाउँका एक महिलासहित तीन जना भने तुइनबाट झरेर घाइते अवस्थामा उद्धार गरिएको उनीहरुलाई सम्झना छ।
Student dhading-5
३४ सालमा बनाइएको तुइन् ०५० मा आएको बाढीले बगाइदियो। ०५० देखि सञ्चालनमा रहेको तुइन बिना मर्मत चलिरहेको छ। नदी पारी मालिङ्गामा फणिच (जमुनो) को रुखको फेदमा लठ्ठा बाधिएको छ। मजुवाटारमा उतिबेलैदेखि दुई वटा सालको मुड्कामा लठ्ठा अड्याइएको छ। मक्किँदै गएको मुड्को चार वर्षअघि बीचमै चरक्क चिरिएको छ। चिरिएको मुड्कोलाई तारले बाँधेर अड्याइएको छ। भार थेग्न नसक्दा कुनै पनि बेला ठूलो विपत्ति आइपर्न सक्छ।
Student dhading-6
यसरी दैनिक तुइन र खिरखिरेमा यात्रा गर्ने शिशु कक्षादेखि कक्षा १० सम्म बालबालिका दुई दर्जन छन्। मजुवाटारमा ९ घर दलितसहित १३ घर छ। ग्यास टारमा पचासभन्दा बढी घर परिवारको दैनिकरुपमा नुन, तेल, सिटामोल, खाद्यान्न लिन जाने मुख्य बाटो नै यही हो। सलाङको वडा नम्बर ५ र ६ का करिब सय घर धुरीको पृथ्वी राजमार्गसम्म पुग्ने मुख्य गौंडो पनि यही भएको मजुवाटारका राशरण सेढाइ बताउँछन्। राजधानीसँग सीमाना जोडिएको जिल्ला भएर पनि यो दर्दनाक पीडा भोग्न बाध्य छन् पृथ्वी राजार्गको किनारमा। जहाँ काठमाडौंबाट ८० किलोमिटरको दूरीमा पर्छ।
Student dhading-7
हिँडेर जान एक घण्टा लाग्छ। तुइनबाट गए आधा घण्टामै पुगिन्छ कक्षा ९ मै पढ्ने मीना मगराति भन्छिन् सडकमा पुगेपछि मोटर पाइन्छ। मोटर नपाइए पनि उकालो ओरालो गर्नु पर्दैन। यसरी दिनहुँ कष्ट झेलेर स्कुल जाने बालबलिका दुई दर्जन बढी छन्। वर्षा याममा हिँडेरै जाने बाटो पनि बन्द हुन्छ कक्षा ६ मा पढ्ने सलिना सेढाइले भनिन् स्कुल जाने बाटोमा खोला छ। हिउँदमा त जसो तसो तर्न सकिन्छ। वर्षामा ठूलो भेल आउँदा त्रिशुली पनि उत्तिकै सुसाउँदै आउँछ। नदी ठूलो हुँदा तुइन नै लैजाने डर हुन्छ। खिरखिरेमा जान सकिँदैन। पारी जान सके स्कुल जाने नसके घरमै बस्नु पर्ने बाध्यता रहेको कक्षा ३ मै पढ्ने पम्फा उपरकोटीले पीडा व्यक्त गरिन्।
Student dhading-8
हिँडेर जाँदा पनि स्कुल पुग्दा थकाइ लाग्छ। तुइन तार्न पनि उतिकै धौधौ पर्छ। लठ्ठाले हात काट्छ, तान्दा थकाई लाग्छ के गर्ने हाम्रो भाग्य नै यस्तै भन्दै आफ्नो अवस्थाप्रति निरासा व्यक्त गर्छन्। तारले काटेर छियाछिया भएको हात देखाउँदै स्थानीय रामशरण सेढाइले भने तुइन तान्दा हातबाट रगत नबगेको दिन हुँदैन। खिया लागेको तुइनले काटेर छिया छिया भएको हातको उपचार गराएका छैनन्। सामान्य तया फलामले काटेर घाउ लागे टिटानस हुनसक्छ। तर यहाँका मानिसलाई टिटानसको कुनै मतलब छैन।
Student dhading-9
एक घण्टा टाढाको जलेश्वरी माविमा पढ्दै आएका बालबालिका नदीकै डरले घरबाट १५ मिनेटमा पुगिने बेनिघाटस्थित चन्द्रोदय माविमा अभिभावकले भर्ना गर्न सकेका छैनन्। हामी सधैंभरी कामममा लाग्नुपर्छ। छोराछोरी स्कुल जाने र आउने समय कुरेर बस्न सकिँदैन। बरु हिउँदमा त टाढै भए पनि हिँडेर स्कुल पुग्न सक्छन् नि रामशरणले भने।
Student dhading-10
अभिभावकले भनेजस्तो कक्षा ६ देखि माथि पढ्ने बालबालिका हिँडेर टाढाको बाटो जान मान्दैनन्। उनीहरु जोखिम मोलेरै भए पनि छोटो बाटो स्कुल पुग्न चाहन्छन्। आमा बाबुले टाढाको विद्यालय भर्ना गरिदिए पनि उनीहरु आँखा छल्दै खिरखिरेबाटै नदी पारी पुगेर विद्यालय जान रुचाउँछन्। घरबाट निस्किँदै कितावको झोलासँगै खिरखिरे भिरेर निस्कन्छन्। तुइनको काक्रो वारी छ भने तान्ने साथी पनि भएका बखत कोक्रोमा जान्छन्। एक्लै भए वा कोक्रो पारी हुँदा विकल्पको रुपमा आफूसँग भएको खिरखिरे लठ्ठामा अड्याउँछन् र पारी पुग्छन् ५४ वर्षीय बले सार्कीले भने। पारी पुगेर खिरखिरे आफूले मात्र देख्ने ठाउँमा लुकाएर जान्छन् बेलुका फर्कंदा सोहीअनुरुप घर पुग्छन्। खिरखिरेमै तर्दा पनि खिया र फुटेर धार निस्किएको लठ्ठाले हात काटेर रगत आउँछ। मीना भन्छिन्- के गर्नु अर्को विकल्प छैन। वर्षौंदेखि पुल पर्छ भन्ने आश देखाउँछन् कहिल्यै पर्ने हैन अब त आश पनि छैन निरास हुँदै उनले दुखेसो गरिन्।
Student dhading-11हामी त खिरखिरेमै भए पनि तरेर पारी जान सक्छौं साना भाइ-बहिनी तर्न सक्दैनन् कक्षा ६ मा पढ्ने दिपक नेपाली भन्छन्- आमा बुबा काममा जानुपर्छ विद्यालय जाने उमेर भएका भाइ-बहिनी पनि गाउँमै खेलेर बस्न बाध्य छन्। दलित तथा विपन्न समुदायको बसोबास रहेको सो स्थानका स्थानीयको आम्दानीको प्रमुख स्रोत खेती किसानी हो। 'बालबालिकालाई लाने ल्याउने समयमा खेतबारीमा काम गर्नुपर्छ,' बुद्धिमाया उपरकोटी भन्छिन्, '६/७ वर्ष पुगेपछि हिँड्न सक्छन अअनि पठाउने गरेका छौं।'
Student dhading-12
'घरबाट स्कुल हिँडेका बालबालिका साँझमा घर नआउन्जेल जीउ आधा हुन्छ, आफू पनि काममा जानु पर्छ सधैं तार्न र लिन जान भ्याइनन्,' बुद्धिमाया भन्छिन्, 'पुलको आश गरेको वर्षौं भयो अन्त परिसक्यो हामी भने सधैं दुःखमा छौं।' 'पुल भए पाँच मिनेटमा सडकमा पुगिन्थ्यो। सामान ल्याउन छोराछोरी स्कुल जान पनि सजिलै हुन्थ्यो। आश मात्र गरेर भएन हाम्रा निम्ति बोलिदिने कोही नभएर यस्तो भएको होला,' उनले भनिन्।
Student dhading-13
'सलाङ ५ र ६ दुई वडाका करिब सय घरको नियमित आवतजावत गर्ने मुख्य घाट यही हो। तरकारीको मौसममा यहीँबाट दैनिक ७० देखि ८० क्वण्टल तरकारी तार्नुपर्छ। पुल नहुँदा पारी तार्नकै समस्याले तरकारी खेतीसमेत कम गर्छन्। फलाउनभन्दा पनि बजारमा पुर्या८उनै धौधौ पर्छ,' उपरकोटीले भनिन्।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App