बेनीको शिरमा केभहिल
मेरा लागि नौलो खबर। त्यो ठाउँ हेर्ने इच्छा भयो। पुस २० को साँझ हामी म्याग्दी सदरमुकाम बेनी बजार पुग्यौं। बेनी समाज काठमाडौंका महासचिव दिनेशले जन्मथलो घुमाए।
कालीगण्डकी र म्याग्दी खोला तीरमा उत्तर र पश्चिम फैलिएको बजार। मगर, नेवार, छन्त्याल, क्षेत्री, बाहुन, विश्वकर्मा आदिको बस्ती।
रेडियोमा खुबै सुनिन्थ्यो– ‘बेनीको बजार जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल।' टीकाबहादुर श्रेष्ठको शब्द र मनमाया छन्त्यालको स्वरमा ०३१ सालमा गीत रेकर्ड भएपछि धेरैले बेनीको नाउँ सुने।
बिहान हामी बजारका शिवालय र नदी किनारको नवदुर्गा मन्दिर घुम्यौं। १० बजे महिन्द्रा म्याक्स जीपमा उकालियौं। निख्खर निलो आकाशमुनिको यात्रा। साढे नौ किलोमिटर कच्ची सडक पार गर्यौ।
जीपबाट ओर्लिएर सात मिनेटमा गुफा डाँडा (केभहिल) पुग्यौं। हिमाल कति नजिक देखिए!
आँखैमा टाँस्सिए ती। गुर्जा, धौलागिरि, निलगिरि, मानापाथी, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको लर्कन।
दिनेशनारायण र जीपका गुरुजी कुमार पुन आइफोनबाट तस्बिर खिचेर अघाएनन्। आँखा झिमिक्कै भएनन्। जति हेर्योन हेरिरहूँ लाग्ने, मायालुको मुहारजस्तै।
त्यहाँ सयौं मान्छे बस्न मिल्ने ठाउँ छ। म्याग्दीकै पुनहिलबाट भन्दा केभहिलबाट धौलागिरि नजिक देखिँदो रहेछ।
डाँडासम्मै कच्ची मोटरबाटो। बेनीबाट हिँडे तीन घन्टामा केभहिल (२,१२० मिटर)। तर, त्यहाँ खाने र बस्ने सुविधा छैन।
डाँडाको छातीमा जगन्नाथ मन्दिर छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष याम बानियाँका अनुसार डाँडामा स्यानो ओडार भएकाले गुफा डाँडा भनिएको।
मन्दिर भर्खरै शिखर शैलीमा पुनःनिर्माण गरिएको छ। मन्दिरमा भेटिएका समिति सचिव नीलकण्ठ शर्माका अनुसार उहिल्यै पर्वत राज्यका राजा दीलिप बम मल्लले जगन्नाथ मन्दिर बनाएका।
मन्दिरमा तिनै राजाको समाधि छ। त्यहाँ जगन्नाथ, राम, लक्ष्मण, नरसिंह, कृष्ण, बलराम र गणेशका मूर्ति छन्। हामी त्यहाँबाट ओरालियौं।
नीलकण्ठले गाइड गरे। पुलाश्रम पुग्यौं। त्यहाँ दुइटा मन्दिर छन्, एउटा भर्खरै बनेको अर्को पुरानो। नयाँ शिव मन्दिर। पुरानोमा पुलस्त्य ऋषि, शिवलिंग र गणेशका मूर्ति।
रामायणअनुसार पुलस्त्य ऋषिका नाति हुन्, रावण। पुलस्त्य ऋषिले यहाँ तपस्या गरेका थिए। पुलस्त्यले रावणसहित नाति–नातिना विभीषण, खर, कुम्भकर्ण र शुपर्णखालाई आश्रममा हुर्काए। उनीहरू आश्रम क्षेत्रमै जन्मेको विश्वास गरिन्छ।
म्याग्दी पर्यटन परिषद्ले पुला क्षेत्रमा रामायण पार्क बनाउँदै छ। परिषद्का अध्यक्ष प्रमोदकुमार श्रेष्ठका अनुसार ०७२ सालमा महायज्ञ लगाएर रामायण पार्क बनाइनेछ। उनीहरूलाई मुक्तिनाथ बाबाले सघाउनेछन्।
रामायण पार्क पर्यटनमा नयाँ प्रोडक्ट बन्नेमा शंका छैन। गलेश्वरदेखि पुलाश्रमसम्म केबुलकार राख्न प्रयास हुँदै छ। पुलाश्रमबाट हामी महारानी थान पुग्यौं। महारानी दर्शन गरे मनोकांक्षा पूरा हुन्छ रे। किंवदन्तीअनुसार १७४४ साल पुसमा पर्वत राज्यका राजा मलेबम मल्लले सौतेनी भाइ भद्रिबमको हत्या गरिदिए। पति हत्याको खबरले पत्नी विश्रवाले कुरिलाखर्कमा देह त्यागिन्। गाउँलेले उनको सम्झनामा मूर्ति स्थापना गरे।
बेनी बजारमा बालमुक्तेश्वर, लक्ष्मीनारायण, भद्रिबम शिवालय, कोटभण्डार, भीमसेन, गणेश, बुद्ध बिहार आदि छन्। बेनी नगरपालिकामा अरू थुप्रै मन्दिर छन्। बजारबाट तीन किमि उत्तर जोमसोम जाने बाटोमा गलेश्वर धाम छ।
गलेश्वर दर्शन गरी उकालो चढेर केभहिल, जगन्नाथ मन्दिर, पुलाश्रम हुँदै महारानीबाट ओरालो झर्दा बेनी सर्किट बन्छ। बेनीबाट नौ किमिमा सिंगा तातोपानी कुण्ड। जहाँ प्राकृतिक उपचार गर्न बर्सेनि हजारौं पुग्छन्।
म्याग्दी होटल तथा रेस्टुरेन्ट संघका अध्यक्ष गोपाल पौडेलका अनुसार बजारका सानाठूला होटलमा हजार जनाले रात बिताउन सक्छन्। पर्यटकीय सुविधाका आठ होटलमात्रै छन्। राम्रा होटल थपिनुपर्छ।
मुक्तिनाथको प्रवेशद्वार बेनीले पर्यटनबाट खासै फाइदा लिन सकेको छैन। ‘पर्यटनकर्मीमा व्यावसायिकता खाँचो छ,' धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ भन्छन्, ‘पर्यटन विकासमा सरकारले चासो दिनुपर्छ।'
प्याकेज बनाएर मार्केटिङ गर्न सके बेनी क्षेत्रमा दुई दिन सजिलै पर्यटक भुलाउन सकिन्छ। डा.प्रेम शर्माको नेतृत्वमा म्याग्दीको पर्यटन गुरुयोजना बनेको छ। अब जिविस र उद्योग वाणिज्य संघले पर्यटन अभियान चलाउनुपर्छ।
मित्र दिनेशनारायण भन्दै थिए, ‘हामी चैतभित्र बेनीमा बृहत् पर्यटन विमर्श कार्यक्रम गर्नेछौं। त्यसले म्याग्दीको पर्यटनलाई दिशानिर्देश गर्नेछ।'