७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

क्या राम्रो स्याउबारी (फोटोफिचर)

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र–४ तिरी गाउँमा टिपेको स्याउ बजार लैजाने तयारीमा जुटेका किसान र व्यवसायी। तस्बिर सौजन्यः नेत्रप्रसाद भट्ट

‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ एक बेलाको चल्तीको गीत हो। त्यही गीतले भने झैं यतिबेला मुस्ताङको मार्फासहित आसपासका गाउँमा स्याउ पाकेर राताम्य भएका छन्। बगैंचामा टिपेको स्याउ थुप्रो लगाइएको छ। किसान स्याउ टिप्न व्यस्त छन्। व्यवसायी टिपेका स्या बजार झार्न उत्तिकै लागिपरेका छन्।  

हिमाली जिल्ला मुस्ताङमा धमाधम स्याउ टिप्न थालिएको छ। केहीवर्ष अघिसम्म त्यहाँ भदौको पहिलो साता नै स्याउ टिप्ने गरिएपनि पछिल्लो समय भने केही ढिला गरि समय तोकेरै टिप्ने दिन तोक्न थालिएको थियो। यो पटक भदौ २५ गतेदेखि स्याउ टिप्न पाउने गरी निर्णय गरिएको थियो। स्याउ टिप्न थालेपछि स्थानीयको व्यस्तता बढेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई (स्याउ जोन) जोमसोमका अनुसार गुणस्तर कायम गर्नका लागि पछिल्लो समय केही ढिला गरी स्याउ टिप्न थालिएको हो। हतार गरेर टिप्दा स्याउको गुलियोपना हराउने गुनासो आएपछि किसान, परियोजना इकाईबीच यो सिजनमा भदौ २५ गतेपछि मात्र दाना टिप्ने निर्णय भएको थियो।  

परियोजना इकाईका सूचना अधिकारी नेत्रप्रसाद भट्टले यो पटक भदौ २५ देखि टिप्ने निर्णय भए बमोजिम किसानले धमाधम स्याउ टिप्न थालेको बताए। सूचना अधिकारी भट्टका अनुसार ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘रोडकिङ’ ब्राण्डको स्याउ भने साउन २५ गते नै टिप्न थालिएको थियो। हाइ डेन्सिटीको गाला र रोडकिङ केही अगाडि नै पाक्ने स्याउका जात हुन्।  

हाइ डेन्सिटी एकमिटरको फरकमा रोपिने जात हो। यो जातको विरुवा एकरोपनीमा झन्डै ३ सय वटा रोपेर स्याउ फलाइन्छ। सानो बोटमा लटरम्म दाना लाग्छन्। तर स्थानीय जातको विरुवा भने एकरोपनीमा १५ देखि १८ वटा रोपिन्छ। स्थानीय जातको ठूलो रुख नै हुन्छ।

उनका अनुसार मुस्ताङमा हाइ डेन्सिटीको स्याउ खेती करिब ४० हेक्टर क्षेत्रफलमा गरिएको छ। स्थानीय जातको स्याउमा भने रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन र फूजी जातको स्याउको उत्पादन बढी छ।  

उनका अनुसार मुस्ताङमा सबै गरी १५ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। ती सबै विरुवामा दाना भने लाग्दैन। करिब ५५० हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीमा मात्र दाना लाग्ने गरेको छ। पोहोर एक हेक्टर बराबर १६.७ मेट्रिक टन स्याउ फलेको थियो। यो पटक भने करिब १५ प्रतिशत उत्पादन बढ्ने अनुमान छ। प्रतिहेक्टर १७ मेट्रिक टन स्याउ फल्ने अनुमान यो पटक रहेको उनले सुनाए।

यो पटक करिब ६० करोड रुपैयाँको स्याउ मुस्ताङमा फलेको भट्टको अनुमान छ। किसानले अहिले बगैंचाबाट  प्रतिकिलो ८० देखि ९० रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्। अघिल्लो वर्ष हिमाली जिल्ला मुस्ताङले स्याउ बेचेर करिब ५० करोड रुपैयाँ भित्र्याएको थियो। यो पटक उत्पादन बढ्दा आम्दानी पनि थपिने भट्टले जानकारी दिए।  

मुस्ताङको घरपझोङ र वारागुँ मुक्तिक्षेत्र गाउँपालिकामा बढी स्याउ खेती हुन्छ। समुन्द्री सतहदेखि २२ सयदेखि ३२ सय मिटरसम्म स्याउ खेती हुन्छ। तर, ४ हजार मिटरसम्म पनि स्याउ खेती भने गरिएको छ। माथिल्लो भेगमा भने थोरै मात्रामा खेती हुने गरेको छ। 

प्रकाशित: २७ भाद्र २०७९ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App