फेवातालको पानी रोक्ने मुख्य ड्याम चारदशकपछि मर्मतसम्भार गर्न थालिएको छ । लामो समयदेखि ड्याम मर्मत नहुँदा पानीको चुहावट बढेको थियो । ड्याम मर्मत गर्नका लागि तालको पानी दुईमिटर घटाइएको छ । यसअघि सानो आकारमा सामान्य रुपमा ड्याममा मर्मतसम्भार गरेपनि अहिले गर्न थालिएजस्तो वृहत मर्मत भएको थिएन ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यका अनुसार शनिबारदेखि ड्याम मर्मत गर्न थालिएको छ । त्यसका लागि तालको पानी घटाइएको हो । उनका अनुसार एकमहिना अवधि लगाएर ड्याम मर्मत गर्न थालिएको छ । ‘यसअघि ड्याममा सामान्य टालटुलका काम भएका हुन् । तर अहिले ठुलो रकम खर्चेर वृहत रुपमा ड्याम मर्मतसम्भार हुँदैछ,’ उनले भने, ‘चारदशक अवधिमा यत्तिको मर्मत पहिलोपटक गर्न थालिएको हो ।’
.jpeg)
आचार्यका अनुसार २०३५ पछि यो फेवातालको ड्याम मर्मत भएको थिएन् । ‘अहिलेसम्मकै ठुलो मर्मतसम्भार गर्दैछौ । ड्यामको मुनिबाट पानी रसाएको थियो,’ आचार्यले भने, ‘समयमै मर्मत नगर्ने हो भने जोखिम हुन सक्छ भनेर ड्याम मर्मत गर्न थालिएको हो ।’ उनका अनुसार ड्यामको गेटको रबरसिल पनि फेरिनेछ । ‘रबर सिल पुरै बिग्रेको थियो । यसअघिका मर्मतसम्भार पनि रबरसिल फेरिएको थिएन । पानीको चुहावट बड्दै जाने जोखिम भएकोले मर्मत थालिएको हो,’ उनले भने । आचार्यका अनुसार ड्याम मर्मत गर्नका लागि मात्र एककरोड रुपैयाँ खर्च हँुदैछ ।
पानी घटाएपछि तालको जलाशय क्षेत्र खालि भएको छ । तालको पानी घटाउँदा डुंगा व्यवसायी भने प्रभावित भएका छन् । डुंगा चढ्न जानेहरु पनि हिलो हुँदै आउजाउ गर्नुपरेको छ । पानी कम भएको मौका पारेर स्थानीयले शनिबार हिलो क्षेत्रमा माछा मारिरहेका थिए ।
.jpeg)
पहिलो पटक २०१७ सालमा फेवातालमा बाँध बाध्न थालिएको थियो । त्यो बाँध २०१९ मा पुरा भयो । त्यसपछि तालले स्वरुप लिईरहेकोमा २०३१ मा बाँध भत्किएको थियो । बाँध भत्केर तालको पानी घटेको मौका पारेर तालको जग्गा अतिक्रमण गरिएको यसअघिका अध्ययन प्रतिवेदनले औल्याएका छन् ।
तालको पानी घटेको बेला कमाई गरेको आधारमा व्यक्तिका नाममा जग्गा दर्ता गरिएको थियो । ताल सुकेको मौका पारेर २०३३ सम्म केहीले तालको जग्गा व्यक्तिको नाममा दर्ता गरेको पनि प्रतिवेदनले बताएका छन् । २०३५ सालमा पुन बाँध बनेपछि तालले पुरानै रुप लिएको हो ।
विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको अहिले क्षेत्रफल करिब ४.२ वर्गकिलोमिटर भनिएको छ । यो क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ सालमा ६, २०५२ मा ४.४३, २०५७ मा ४.२५ हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको छ । त्यसपछि आधिकारिक मापन भएको छैन ।
प्रकाशित: २४ माघ २०७७ १६:४५ शनिबार