coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

हिउँले ढाकिएको खप्तड (फोटो फिचर)

तस्बिरः नागरिक

स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भुँइमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो ।  

प्राकृतिक हिम गलैचामाथि उडिरहेका रंगिविरंगी पुतली । घना रुखहरू । रुखहरूमा सेताम्य हिउँले ढाकिँदा देखिने त्यो सुन्दर दृश्य अहिले सुदूरपश्चिमको भू–स्वर्ग खप्तडको हो । बिहीबार रातिदेखि सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । हिमपातपछि भू–स्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ । ‘खप्तड अहिले सेताम्य छ,’ खप्तड होमस्टेद्वारा सञ्चालित ‘खप्तड हेली टूर’का सञ्चालक दीपकबहादुर खड्काले भने,‘हिजो रातिदेखि खप्तड क्षेत्रमा भारी हिमपात भइरहेको छ ।’

हिमपातका कारण खप्तडमा अहिले रमाइलो दृश्य देखिएको उनले बताए । बिहीबार रातिदेखि परेको हिमपातले त्रिवेणी लगायत खप्तडका फाँटहरुमा डेढ फिटजति हिउँ परेको बताउँदै उनले भने,‘खप्तडमा हिजो रातिदेखि हिमपात हुँदा डेढ फिटजति हिउँ जमेको छ भने खप्तको मध्यवर्ती क्षेत्र झिग्रानामा पनि बाक्लो हिमपात भएको छ ।’ हिमपातले खप्तड क्षेत्र पूरै सेताम्य भएको उनले बताए ।  

छिनमै वर्षात, छिनमै हिउँ । केही बेरमै हावाहुरी त उत्तिखेरै टन्टलापुर घाम खप्तडको मौसमी विशेषता हो । खप्तड बाबाको कुटी छेउमै झैँ लाग्ने दार्चुलाको अपी र बझाङको सैपाल हिमालका साथै डाँफे कोटको भ्यू टावरबाट भारतको नन्दादेवी हिमालदेखि बाजुराको बडीमालिकासम्म देखिन्छन् । प्राकृतिक सौन्दर्यले पूर्ण  खप्तडलाई प्रकृतिको स्वर्गभन्दा फरक पर्दैन ।  

डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थल खप्तडको त्रिवेणीमा अवस्थित त्रिवेणी मन्दिर र वरपर २२ पाटन छन् । खप्तड पर्यटकीय स्थल मात्रै नभएर खप्तड बाबाले ५० वर्ष तपस्या गरेको ज्ञानभूमि भएकाले पनि धार्मिक रूपमा प्रसिद्ध छ । वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दूहरूको पवित्र तीर्थस्थान मानिन्छ । यहाँको खप्तड बाबाको कुटी, सहस्र लिंग, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, गणेश मन्दिर, नागढुङ्गा, केदारढुङ्गाजस्ता धार्मिक स्थल छन् । पुराणअनुसार महादेवले खप्तडको जडीबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ । खप्तडमा लाग्ने विविध सांस्कृतिक मेला सदियौंदेखि प्रचलित र प्रख्यात छन् । जेठ शुक्लपक्षको गंगा दसहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ ।  

 

 

प्रकाशित: २३ माघ २०७७ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App