७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

कुण्डै-कुण्डको जिल्ला रसुवा (फोटो फिचर)

रसुवा धार्मिक तथा पर्यटकीय क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो। जिल्लामा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र थुप्रै छन् लाङटाङ, गोसाइँकुण्ड, रसुवागढी लगायतका क्षेत्रमा वार्षिक हजारौं पर्यटक पुग्ने गरेका छन् भने धेरै क्षेत्र प्रचारप्रसारको अभावमा अझै ओझेलमा छन्।  रसुवा जिल्लालाई कुण्डै कुण्डको जिल्ला भनेर पनि चिनिन्छ।  

यस जिल्लाभित्र १ सय ८ वटा कुण्ड रहेका छन्। जिल्लामा रहेका कुण्डहरूमध्ये अझै पनि धेरै कुण्डको नामाकरण भएको छैन। जिल्लाको गोसाइँकुण्ड, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको विभिन्न क्षेत्रमा कुण्ड रहेका छन्। यी तीनवटै गाउँपालिकाले कुण्डको नामबाट आफ्नो गाउँपालिकाको नाम राखेका हुन्।  

गोसाइँकुण्ड गाउँपालिकामा सबैभन्दा बढी कुण्ड रहेको छ भने नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा कुण्डको संख्या थोरै छ। कुण्डको अध्ययन, अवलोकन तथा तीर्थका लागि वार्षिक हजारौं पर्यटक रसुवा आउने गरेका छन्।  

गणेश हिमाल र सूर्य पिक जस्ता रमणीय पहराको पवित्र परिधिभित्र गोसाइँकुण्ड लगायतका सरस्वतीकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, सूर्यकुण्ड, रक्तकुण्ड, पीपकुण्ड, रामकुण्ड, लक्ष्मण कुण्ड, सीता कुण्ड, गणेश कुण्ड, कुमार कुण्ड, अग्नि कुण्ड, पार्वतीकुण्ड, रिभर कुण्ड, महालक्ष्मी कुण्ड, महासरस्वतीकुण्ड, महाकालीकुण्ड रहेका छन्।  

त्यसैगरी धर्मकुण्ड, कर्णकुण्ड, शेषकुण्ड, अद्भूत कुण्ड, वेदकुण्ड, ब्रम्हाकुण्ड, बैष्णबायकुण्ड, विष्णुकुण्ड, व्यासकुण्ड, गौरीकुण्ड, उमाकुण्ड, रमाकुण्ड, दीपकुण्ड, ज्वाला कुण्ड, सागरकुण्ड लगायतका धेरै कुण्डहरू पाइन्छन्।  

जिल्लामा रहेका कुण्डहरूमध्ये गोसाइँकुण्ड प्रमुख कुण्डको रूपमा रहेको छ। यसको वरिपरि अन्य १६ वटा कुण्ड रहेका छन्। त्यस क्षेत्रमा अन्य नाम नखुलेका कुण्ड पनि रहेका छन् धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको गोसाइँकुण्डमा वर्षमा दुई पटक मेला लाग्छ। मेलाको समयमा हजारौं तीर्थयात्री त्यहाँ पुग्छन् पछिल्लो समय मेला भन्दा बाहेकको समयमा पनि गोसाइँकुण्ड जानेको लर्को देखिन्छ।  

धुन्चे गोसाइँकुण्ड पदमार्गबाट जाँदा गोसाइँकुण्ड पुग्नुअघि सरस्वती कुण्ड र भैरवकुण्ड देख्न सकिन्छ सुन्दरीजल गोसाइँकुण्ड पदमार्गको प्रयोग गरेर जाँदा सूर्यकुण्ड, रक्त कुण्ड, चन्द्र कुण्ड, दुध कुण्ड, बतास कुण्ड, आमा कुण्ड लगायतका कुण्डको अवलोकन गर्न सकिन्छ।  

त्यसैगरी नौकुण्ड गोसाइँकुण्ड (प्रस्तावित) पदमार्गबाट जाँदा लाम कुण्ड, राजा कुण्ड, रानी कुण्ड, तेम कुण्ड, दि कुण्ड, चुल्हो कुण्ड, शीर कुण्ड लगायत नौवटा कुण्डको अवलोकन गर्न सकिन्छ।

जिल्लामा रहेका विभिन्न कुण्डको उचित व्यवस्थापन तथा प्रचारप्रसारमा लाग्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकको आगमनलाई वृद्धि गर्न सकिन्छ। हेर्नुहोस् धुन्चे गोसाइँकुण्ड पदमार्गबाट देखिएका तथा गोसाइँकुण्ड वरिपरि रहेका कुण्डहरूको मनोरम दृश्य :

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App