४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

संखुवासभा : सम्भावना बोकेका पर्यटकीय स्थल (फोटो फिचर)

पर्यटकीय स्थल छ्याङ्कुटी डाँडा

संखुवासभा– विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँच पोखरी, गुफा पोखरी, लाली गुराँसको राजधानी तीनजुरे मिल्के जलजले संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरु हुन्। भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ। तर, भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन्। कुनै पर्व विशेषमा मानिसहरु दुखका साथ ति स्थानमा पुग्ने गरेपनि अरु बेला चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन्।

संखुवासभालाई जोड्ने वसन्तपुर–चैनपुर सडक र तुम्लीङटार–हिले दुबै सडक हाल जिर्ण रहेका छन्। वर्षायामसंगै करिब तीन महिना यहीँ सडकको दुर्दशाका कारण सवारी आवागमन समेत थप्प हुने गरेको छ। तर जिल्ला प्रवेश मार्गका रुपमा यी दुवै सडकमा राज्यको अरबौँ रुपैंया रकम बालुवामा पानी सरह भएको छ। पटकपटक कालोपत्रे र मर्मतका नाममा यी सडकमा अरबौं रकम झ्वाम भएको छ। हवाई मार्गबाट तुम्लिङटार पुग्ने पर्यटक समेत मकालु, गुफा पोखरी लगायत स्थानमा पुग्न सकेका छैनन्। प्रचारको अभावमा धार्मिक महत्वको सभापोखरीबाट समेत संखुवासभाले आम्दानी लिन सकेको छैन्।

विश्वको होचो अरुण उपत्यकामा रहेको तुम्लिङटार विमानस्थल

चैत वैशाखमा पर्यटकको मुख्य आकर्षणमा पर्ने गरेको गुराँसको संरक्षित क्षेत्र तिनजुरे मिल्के जलजले क्षेत्रको फाइदा समेत तेह्रथुमले मात्र लिन सकेको छ। तराईका पर्यटकको रोजाईको टिएम्जे क्षेत्र पुग्न संखुवासभाबाट सडक सुविधा भएपनि स्तरोन्नति नहुँदा त्यस क्षेत्रका लाम पोखरी, गुफा पोखरी लगायतका स्थान ओझेलमा रहेका छन्। साथै अरुण नदीको मनमोहक दृश्य, मौसम सफा हुँदा चैनपुर, वसन्तपुर, तुम्लिङटार र धरानसम्मको दृश्य हेर्न मिल्ने भाटभटेनी डाँडा भएता पनि त्यसलाई ध्यानमा राखेर काम गर्न नसक्दा राज्यले यहाँबाट लिन सक्ने आर्थिक फाईदा लिनबाट चुकेको छ। 

गुफापोखरी

धेरै ताल र पोखरीहरु समेत रहेको जिल्लामा यसको सदुपयोग गरि त्यहाँसम्म सडक सञ्जाल जोड्न सकियो र पर्यटकीय पार्क र रिसोर्ट बनाउन सकिएको खण्डमा संखुवासभाले अनुहार फेर्नेमा दुई मत नरहेको बिरबहादुर लिम्बुले बताए। पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि मकालु हिरक महोत्सव, सभापोखरी महोत्सव, गुफापोखरी महोत्सव, गुराँस महोत्सव लगायत थुप्रै उत्सवहरु भएपनि निरन्तर प्रचार अभावले यस्ता स्थानहरु ओझेल पर्दै गएको तारा बहादुर बुढाथोकीले बताए।

विश्वको पाचौं अग्लो मकालु हिमाल

आन्तरिक र बाह्य पर्यटकका लागि प्रशस्त घुम्ने ठाउँहरु रहेको संखुवासभामा सडकको दुरावस्था हुनु साथै होटल र लजको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरुबाट फाइदा लिन सकेको छैन्। पूर्वाधार व्यवस्थापनमा ध्यान दिन सके यहाँ पर्यटक आगमन बढेर राज्य र स्थानीयले राम्रो लाभ लिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन्।

सभापोखरी

गुराँसको राजधानी तीनजुरे मिल्के जलजले

प्रकाशित: ११ भाद्र २०७५ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App