२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
अन्य

‘क्यान्डी क्रश’ खेलेर १९ वर्षमा बनाए विश्व रेकर्ड

भारतको बिहारका १९ वर्षीय शुभम कुमारले लोकप्रिय मोबाइल गेम क्यान्डी क्रश सागामा २२ हजार २२२ लेभल पार गरेर विश्व रेकर्ड बनाएका छन्।

इन्टरनेशनल बुक अफ रेकर्ड्सले उनको उपलब्धिलाई ‘क्यान्डी क्रश सागा (किशोर) मा हासिल गरिएको उच्चतम स्तर’ श्रेणीमा मान्यता दिएको छ। संस्थाको आधिकारिक वेबसाइटका अनुसार शुभमले ५ जुलाई २०२६ मा १९ वर्ष ८ महिना २५ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका थिए। रेकर्ड सूचीमा उनलाई बिहारको दिघवाराका बासिन्दाका रूपमा उल्लेख गरिएको छ।

क्यान्डी क्रश सागामा खेलाडीले एउटै रङका क्यान्डी मिलाएर विभिन्न लक्ष्य पूरा गर्दै अगाडि बढ्नुपर्छ। लेभल बढ्दै जाँदा खेल थप चुनौतीपूर्ण बन्दै जान्छ। शुभमले भने हजारौँ लेभल पार गर्दै २२ हजार २२२ को आँकडा पार गरेका हुन्।

रोचक कुरा के छ भने, रेकर्डका लागि मान्यता पाएको २२ हजार २२२ लेभलपछि पनि शुभमले खेल जारी राखेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार क्यान्डी क्रशको आधिकारिक समुदायमा गरिएको पोस्टमा उनले आफ्नो हालको लेभल २३ हजारभन्दा बढी पुगेको बताएका छन्। यद्यपि, इन्टरनेशनल बुक अफ रेकर्ड्सले मान्यता दिएको उपलब्धि २२ हजार २२२ लेभलकै हो।

यो रेकर्ड विशेषगरी किशोर वर्गका लागि हो। त्यसैले शुभमले क्यान्डी क्रश खेल्ने सबै खेलाडीमध्ये सबैभन्दा धेरै लेभल पार गरेको भन्ने होइन। रेकर्डसम्बन्धी विवरणमा उनले कति समय लगाएर यो उपलब्धि हासिल गरे वा कहिलेदेखि क्यान्डी क्रश खेल्न थाले भन्ने जानकारी भने दिइएको छैन।

प्रकाशित: २२ आश्विन २०८३ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App