सुत्दा पैसा पाइन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ। तर राम्रोसँग सुत्न सक्ने व्यक्तिले २२ लाख २० हजार येन जित्ने प्रतियोगिता जापानमा आयोजना हुँदैछ।
‘म्याटरेस बाइ कोआला’ नाम दिइएको यो अनौठो निद्रा प्रतियोगिता अक्टोबर ५ मा टोकियोमा हुँदैछ। यसको नारा ‘जो राम्रोसँग सुत्छ, उसैले जित्छ’ भन्ने रहेको छ। प्रतियोगितामा दौडने, हाम फाल्ने वा तौल उठाउने होइन, सहभागीले ९० मिनेटसम्म सकेसम्म राम्रो निद्रा लिनुपर्नेछ।
कोआला जापानले सेप्टेम्बर ४ मा प्रतियोगिताको घोषणा गरेको हो। प्रतियोगिता टोकियोको मिनाटो वार्डस्थित सेयर ग्रीन मिनामी आओयामामा हुनेछ।
प्रतियोगितामा दिनभरि तीनवटा दौड हुनेछन् र प्रत्येकमा करिब २० जना सहभागी हुनेछन्। आवेदन धेरै परेमा सहभागी छनोट चिठ्ठामार्फत गरिनेछ। आवेदन सेप्टेम्बर १६ (आज) राति ११:५९ बजे स्थानीय समयसम्म खुला रहनेछ।
सहभागीले निद्रा मापन गर्ने उपकरण लगाएर कोआला गद्दामा ९० मिनेट सुत्नुपर्नेछ। निद्राको गहिराइ, समग्र गुणस्तर, निदाउन लाग्ने समय र निद्राको स्थिरतालाई आधार बनाएर ‘स्लीप स्कोर’ दिइनेछ। चिकित्सकको निगरानीमा हुने मूल्यांकनमा सबैभन्दा बढी स्कोर ल्याउने सहभागीले २२ लाख २० हजार येन पुरस्कार पाउनेछन्।
तर प्रतियोगिता केवल ओछ्यानमा पल्टिएर सुत्ने मात्र हुनेछैन। प्रतियोगिता सुरु हुनुअघि सहभागीले ‘स्लीप वार्मअप’ अर्थात् निद्राका लागि तयारी अभ्यास गर्नुपर्नेछ। त्यसपछि उनीहरूलाई निद्राको गुणस्तरमा प्रभाव पार्न सक्ने विभिन्न ‘स्लीप आइटम’ पनि दिइनेछ।
प्रतियोगिता चलिरहेका बेला आयोजकले जानाजानी निद्रामा अवरोध सिर्जना गर्नेछन्। यस्तो अवस्थामा पनि सहभागीले कति राम्रोसँग निद्रा कायम राख्न सक्छन् भन्ने परीक्षण गरिनेछ। सहभागीलाई प्रतियोगिताअघि रातभर जाग्राम बस्ने, निद्राको चक्की खाने वा छिटो निदाउन अन्य औषधि प्रयोग गर्ने अनुमति हुने छैन।
प्रतियोगितामा मुख्य पुरस्कारबाहेक विभिन्न विशेष पुरस्कार पनि राखिएका छन्। गहिरो निद्रा लिने सहभागीलाई ‘डीप स्लीप अवार्ड’ र असामान्य तरिकाले सुत्ने सहभागीलाई पनि विशेष पुरस्कार दिइनेछ।
प्रतियोगितामा सहभागी हुन शुल्क लाग्ने छैन। पहिलो दौड स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि २ बजेसम्म, दोस्रो २:३० बजेदेखि ४:३० बजेसम्म र तेस्रो साँझ ५ बजेदेखि ७ बजेसम्म हुनेछ। यी समयभित्र दर्ता, तयारी र अन्य प्रक्रिया पनि समावेश हुनेछन् भने वास्तविक निद्रा प्रतियोगिता ९० मिनेटको हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य जापानमा रहेको निद्राको समस्यातर्फ ध्यान खिच्नु हो। जापानमा औसत निद्रा अवधि अन्य विकसित देशको तुलनामा कम (पाँचदेखि सात घण्टा) रहेको विषयलाई प्रतियोगितामार्फत उठाउन खोजिएको छ।
विश्वमा यसअघि पनि निद्रासँग सम्बन्धित यस्ता असामान्य प्रतियोगिता आयोजना भइसकेका छन्। मार्चमा चीनमा पनि पर्याप्त आरामको महत्त्वबारे ध्यान खिच्न नगद पुरस्कारसहित बाहिरी निद्रा कार्यक्रम आयोजना गरिएको थियो।
प्रकाशित: ३१ भाद्र २०८३ ०९:३९ बुधबार





