भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा प्रहरीले सर्वोच्च अदालतका न्यायाधीशलाई दिनुपर्ने ‘गार्ड अफ अनर’ (सम्मान गारद) गल्तीले सांसद असदुद्दिन ओवैसीलाई दिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार भएको यो घटनापछि प्रहरीले आन्तरिक छानबिन सुरु गरेको छ।
सहारनपुरस्थित सर्किट हाउसमा सर्वोच्च अदालतका एक न्यायाधीशको आगमनका लागि प्रहरी टोली औपचारिक सम्मान गारद दिन तयारी अवस्थामा थियो। त्यही समयमा अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम) का प्रमुख ओवैसी आफ्नो सवारीसहित त्यहाँ पुगे। प्रहरी टोलीले उनको सवारीलाई न्यायाधीशको सवारी ठानेर सम्मान गारद दिएको बताइएको छ।
प्रहरीले सम्मान दिन थालेपछि ओवैसी केहीबेर रोकिएर सलामी ग्रहण गरेका थिए। पछि मात्रै प्रहरीले आफूले गलत व्यक्तिलाई सम्मान दिएको थाहा पाएको थियो।
घटनाबारे ओवैसीले आफूलाई किन सम्मान गारद दिइयो भन्ने थाहा नभएको बताएका छन्। प्रहरी टोलीले उभिन भनेपछि आफू त्यसैअनुसार उभिएको उनको भनाइ छ।
सहारनपुरका वरिष्ठ प्रहरी उपरीक्षकले घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक (ग्रामीण) लाई निर्देशन दिएका छन्। छानबिनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा नियमानुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
ओवैसी आजाद समाज पार्टी (कांशीराम) का प्रमुख चन्द्रशेखर आजादसँगै आगामी सन् २०२७ को उत्तर प्रदेश विधानसभा निर्वाचनको तयारीका क्रममा सहारनपुर पुगेका थिए। उनीहरूबिच संयुक्त राजनीतिक मोर्चा बनाएर चुनावमा सहभागी हुने तयारी छ।
प्रकाशित: ६ मंसिर २०८३ १९:१० आइतबार





