१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

देशभर मौसम बदली: बागमतीसहित यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र तराई भेगमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मौसमको उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हुने सम्भावित वर्षा, हिमपात र हुरीबाट सतर्क रहन तथा पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ।

प्रकाशित: १३ चैत्र २०८२ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App