२५ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्य

विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

एआई तस्बिर

डेटिङ एपमार्फत पनि उपयुक्त जीवनसाथी खोज्न नसके पैसा फिर्ता पाइन्छ भने कस्तो होला ?

चीनको एउटा एआई डेटिङ एपले यस्तै अनौठो अफर ल्याएको छ।

चीनको ‘लियाङपेई एआई’ नामक डेटिङ एपले प्रयोगकर्ताबाट वार्षिक दुई हजार युआन (करिब ४५ हजार रुपैयाँ) शुल्क लिन्छ। तर, प्रयोगकर्ताले तीन वर्षभित्र विवाह गर्न नसके उक्त रकम पूरै फिर्ता गर्ने एपको वाचा छ।

सामान्य डेटिङ एपमा प्रयोगकर्ताले एकैपटक धेरै व्यक्तिसँग कुराकानी गर्न सक्छन्। तर, लियाङपेई एआईले भने प्रयोगकर्तालाई एक समयमा एक जनासँग मात्र सम्बन्ध अगाडि बढाउन प्रोत्साहित गर्छ। यसले दुवै पक्षलाई एक अर्कालाई बुझ्न र सम्बन्धलाई गम्भीर रूपमा अघि बढाउन सहयोग पुग्ने एपको विश्वास छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार एपका संस्थापक जेङ सिन्सुनले एकपटकमा एक जनासँग मात्र भेटघाट र कुराकानी गर्दा दुवै पक्षले सम्बन्ध निर्माणमा बढी ध्यान दिन सक्ने बताएका छन्।

उनी भन्छन्, ‘एक-एक जनाबिचको भेटघाटले दुवै पक्षलाई सम्बन्ध निर्माणमा बढी ध्यान दिन र प्रयास गर्न मौका दिन्छ। सम्बन्ध सफल नभए पनि वास्तविक कुराकानीपछि निष्कर्षमा पुग्न सकिन्छ।’

लियाङपेई एआईमा खाता बनाउनुअघि प्रयोगकर्ताले करिब २० मिनेट एआईसँग कुराकानी गर्नुपर्छ। त्यसपछि एआईले प्रयोगकर्ताको पारिवारिक पृष्ठभूमि, शिक्षा, पेसा, रुचि, व्यक्तित्व, जीवनशैली र आफूले खोजेको जीवनसाथीसम्बन्धी अपेक्षाका आधारमा विस्तृत प्रोफाइल तयार गर्छ।

एपमा ‘एआई रणनीतिकार’ नामको सुविधा पनि छ। यसले प्रयोगकर्ताको प्रोफाइल र कुराकानीका आधारमा सम्बन्धमा देखिएका समस्या विश्लेषण गरेर आवश्यक सुझाव दिन्छ।

एआई खोज प्रविधिसँग सम्बन्धित क्षेत्रमा काम गरिसकेका जेङले स्थापना गरेको यो एपले गम्भीर सम्बन्ध खोजिरहेका मानिसलाई लक्षित गरेको छ। लियाङपेईले उपयुक्त जीवनसाथी खोजेर विवाहसम्म पुग्न सहयोग गर्ने लक्ष्य राखेको छ।

लियाङपेई एआईमा ३५ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भएका छन्। एपको प्रयोगकर्ता ग्राहकमा रूपान्तरण हुने दर करिब ९ प्रतिशत रहेको छ। यसले एन्जल फन्डिङमार्फत एक करोड ५० लाख युआन लगानीसमेत जुटाएको छ।

एआईको सहयोगमा जीवनसाथी खोज्ने र तीन वर्षभित्र विवाह हुन नसके शुल्क फिर्ता दिने यसको अनौठो व्यावसायिक मोडेलले चीनमा चर्चा पाएको छ।

प्रकाशित: २५ कार्तिक २०८३ १९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App