अचेल सबैतिर बर्थडे, पूजा, बिहे, चाडवाड, मेलामहोत्सव अनि रमणीय स्थान घुम्न गए प्राय: सबैले टिकटक बनाउने गर्छन्। राधिका पनि टिकटक बनाउने गर्थिन्।
यसैबेला उनीको टिकटक मन पराएर आफूभन्दा दोब्बर कान्छो केटाले फ्लो गरेर गिफ्ट दिन थाल्यो। गिफ्ट दिने मान्छेसित बोलूँ न भनी उनीले आफ्नो फेसबुक र वाटसप नम्बर शेयर गरी। उनीहरूकाे बाक्लै बोलचाल हुन थाल्याे। तीन जनाकी आमा भए पनि श्रीमानको पैसामा अनेक फेसन र मेकअप गरी टिकटक बनाउन थाली। सबैसँग लुकीलुकी बोल्न थाली अर्थात् गहिरो प्रेममा परी।
केही महिनापछि एक अनलाइन टिभिमार्फत युट्युब कन्टेनरले एक परिवारको घटनाको विवरण प्रस्तुत गर्दै पीडित सदस्यसँग वार्ता गरे।
"नमस्कार दर्शकवृन्द! यतिबेला म एक महिला आफूभन्दा दोब्बर कान्छो केटासँग गएकाेमा उनको परिवार र आफन्तमा ठूलो पिर परेको घरमा आइपुगेको छु। उनका तीन छोरी र एक श्रीमान छन्। कान्छी छोरी रोएर हैरान छ। म यी नानीलाई नै सोध्नेछु।"
आफ्नो सोते नानीतिर सोझाउँदै "कति वर्ष पुग्यौ नानू?"
अँध्यारो मुख पार्दै नानीले भनी, " ९ वर्ष!"
"तिम्रो आमाले कहिले घर छोडेको? किन यसो गरे जस्तो लाग्छ तिमीलाई?"
"आज चार दिन भयो। खै आमा सधैं फोनमा बोलिरहनुहुन्थ्यो खाना पकाउँदा पनि हाँसिरहनुहुन्थ्यो।"
"त्यो बेलुका बाबाले माछा किनेर ल्याउनुभएको थियाे। मजाले पकाई खाएर सुतेका थियाैं। बिहान उठ्दा आमा ओछ्यानमा थिएन।" माइली छोरी रुन थाली।
"चार तोला सुन र ५० हजार रुपैयाँ लिएर उहाँ फरार रहेको सुनेको छु मैले। अब आमालाई के भन्नुहुन्छ?" कन्टेनरले सोध्यो।
"आमा! तपाईं जहाँ भए पनि घर फर्किएर आइदिनुहोला। हामी पर्खिरहेका छौं। चार दिन भयो हामीले राम्रोसँग केही खाएका छैनौं।"
बाबुलाई सोधियो, "अनि दाजु तपाईं के भन्नुहुन्छ?"
"राधा तिमीले यो के गरेऊ ? कसरी यस्तो कुबुद्धि पलायो। मैले खानलाउन पुर्याएकै थिएँ। दशैंतिहार पनि आइरहेछ। तिमी जहाँ छौ घर फर्किएर आउ। जे जस्तो भए पनि म स्विकारेर राख्नेछु यी नानीहरूका लागि।"
केही दिनमा उक्त फरार महिला फोन सम्पर्कमा आएर बोली,"अब म यसै बिग्रिएँ बिग्रिएँ। बदनाम भइसकेँ। घर फर्किएर आउने छुइनँ।"
प्रकाशित: २६ चैत्र २०८२ १०:५९ बिहीबार

