१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्य

राष्ट्र संघको जन्मदिन : जे गर्न बन्यो, त्यहीँ नभएपछि २६ वर्षमै विघटन!

प्रथम विश्वयुद्धपछि विश्व शान्ति र अन्तर्राष्ट्रिय सहयोगलाई संस्थागत गर्ने उद्देश्यसहित राष्ट्र संघ (लिग अफ नेशन) को सन् १९२० जनवरी १० मा स्थापना गरिएको थियो। प्रथम विश्वयुद्धको क्षति, पीडा र विनाश दोहोरिन नदिन अन्तर्राष्ट्रिय रूपमा राष्ट्र संघको अवधारणा अघि बढाइएको थियो।

पेरिस शान्ति सम्मेलनका समयमा सन् १९१९ मा प्रथम विश्वयुद्धको औपचारिक अन्त्य गरिएको थियो। उक्त सम्मेलनमा युद्धलाई कुनै एक राष्ट्रविरुद्धको मात्र नभएर सबै मानव समुदायविरुद्धको अपराधका रूपमा व्याख्या गरिएको थियो। राष्ट्र संघले विवाद समाधानका लागि कानुनी प्रक्रिया, मध्यस्थता र न्यायिक उपायलाई प्राथमिकतामा राखेको थियो।

राष्ट्र संघले आफ्ना संस्थापक राष्ट्रहरूले अपेक्षा अनुसार दीर्घकालीन विश्व शान्ति कायम गर्न सकेन। यसले सन् १९३० को दशकमा चीनमा जापानी आक्रमण र इथियोपियामा इटालियन आक्रमण जस्ता ठुला आक्रमणहरूलाई रोक्न असमर्थ भयो। 

प्रथम विश्वयुद्धपछि स्थापना भएको राष्ट्र संघले विश्वमा शान्तिको लागि प्रशस्त काम गर्न सकेन। राष्ट्र संघ दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) रोक्न असफल भएपछि यसको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्न थालेको थियो। जसकारण सन् १९४६ अप्रिल १९ मा राष्ट्र संघ औपचारिक रूपमा विघटन भयो। त्यसको अधिकार तथा जिम्मेवारीहरू नवगठित संयुक्त राष्ट्र संघमा हस्तान्तरण गरिएको थियो।

राष्ट्र संघले विश्वयुद्धको समयमा काम गर्न असफल भएको मानिए पनि राष्ट्र संघको स्थापना अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा निर्णायक मोडका रूपमा लिइन्छ। तर अहिले पनि विश्वका शक्ति राष्ट्रले संयुक्त राष्ट्र संघलाई बेवास्ता गर्दै विभिन्न देशमाथि आक्रमण गर्दै आएका छन्। अब यसको औचित्यमाथि पनि प्रश्न गर्न थालिएको छ।

प्रकाशित: २६ पुस २०८२ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App