१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अन्य

अरूलाई पैसा व्यवस्थापन सिकाउने ‘रिच ड्याड पुअर ड्याड’का लेखक १.२ अर्ब डलर ऋणमा

विश्व चर्चित पुस्तक ‘रिच ड्याड पुअर ड्याड’का लेखक रोबर्ट कियोसाकी १.२ अर्ब अमेरिकी डलर ऋणमा रहेको खुलासा भएको छ।

तर यो रकम उनको व्यक्तिगत ऋण मात्र नभई साझेदारहरूसँग गरिएको ठुलो घरजग्गा लगानीसँग सम्बन्धित रहेको बताइएको छ। ७९ वर्षीय कियोसाकीले लामो समयदेखि ऋणलाई सम्पत्ति निर्माणको माध्यमका रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्दै आएका छन्। गत गर्मीमा ‘गेट रिच एजुकेशन’ पोडकास्टमा उनले आफू १.२ अर्ब डलर ऋणमा रहेको बताएका थिए।

‘त्यसैले म १.२ अर्ब डलर ऋणमा छु,’ उनले भनेका थिए। ऋणको सही प्रयोग गर्न चाहनेले त्यसबारे पर्याप्त शिक्षा लिनुपर्ने पनि उनले बताएका थिए। ‘तपाईंहरूले मैले गर्ने काम जस्ताको तस्तै गर्नु हुँदैन। मैले सन् १९७४ देखि यसको अध्ययन गरिरहेको छु। यदि ऋणको सही प्रयोग गर्न चाहनुहुन्छ भने पहिले त्यसबारे शिक्षा लिनुपर्छ,’ उनले भनेका थिए।

कियोसाकीकी पूर्वपत्नी तथा व्यापारिक साझेदार किम कियोसाकीले भने १.२ अर्ब डलरको ऋणलाई धेरैले गलत रूपमा बुझेको बताएकी छन्। उनका अनुसार यो ऋण ठुलो घरजग्गा पोर्टफोलियोसँग सम्बन्धित छ, जसमा करिब एक हजार ५०० अपार्टमेन्ट युनिट छन्।

‘प्राविधिक रूपमा हो, हामीसँग यो सबै ऋण छ,’ किमले भनेकी छन्। तर उक्त ऋणको ठुलो हिस्सा साझेदारहरूसँग सम्बन्धित भएकाले कियोसाकीको व्यक्तिगत हिस्सामा पर्ने ऋण भने निकै कम रहेको बताइएको छ। रिपोर्टअनुसार उनको व्यक्तिगत ऋण करिब तीन करोडदेखि छ करोड डलरसम्म हुन सक्ने अनुमान गरिएको छ।

कियोसाकीको रणनीति घरजग्गाको मूल्य बढेपछि त्यसबाट बनेको इक्विटीलाई आधार बनाएर थप ऋण लिने र त्यसलाई नयाँ लगानीमा प्रयोग गर्ने हो। सम्पत्ति बिक्री नगरी ऋण लिँदा करको भार कम गर्न सकिने उनको तर्क छ। उनले आफ्ना विभिन्न लगानीलाई छुट्टाछुट्टै सीमित दायित्व कम्पनीमार्फत राख्ने गरेका छन्।

कर तथा घरजग्गा लगानीसम्बन्धी विज्ञ डेभिड ए. पेरेजले ठुलो मात्रामा सम्पत्ति-समर्थित ऋण लिनु घरजग्गा लगानीकर्ताबिच सामान्य रहेको बताएका छन्। तर थप ऋणले ब्याज, किस्ता र नगद प्रवाहको दबाब बढाउन सक्ने चेतावनी पनि उनले दिएका छन्।

अमेरिकाको एरिजोनास्थित वित्तीय परामर्शदाता जोन पूल भने यति ठुलो ऋणमा थप सावधानी आवश्यक रहेको बताउँछन्। ‘राम्रो ऋण हुन्छ, खराब ऋण हुन्छ र त्यसपछि १.२ अर्ब डलरको ऋण हुन्छ। यति ठुलो ऋण लिनु छ भने तपाईंले के गर्दै हुनुहुन्छ भन्ने राम्रोसँग थाहा हुनुपर्छ,’ उनी भन्छन्।

उनका अनुसार बजार बढिरहेको समयमा लिभरेजले राम्रो प्रतिफल दिन सक्छ। तर सम्पत्तिको मूल्य घटेमा यही रणनीति ठुलो आर्थिक संकटको कारण बन्न सक्छ। ‘यो सधैंभरि चल्दैन। कुनै न कुनै दिन ऋण तिर्नुपर्छ,’ उनले भनेका छन्।

कियोसाकीले सन् १९९७ मा प्रकाशित ‘रिच ड्याड पुअर ड्याड’ पुस्तकबाट विश्वव्यापी लोकप्रियता कमाएका थिए। भ्यानिटी फेयरका अनुसार उक्त पुस्तकका चार करोड ४० लाखभन्दा बढी प्रति बिक्री भइसकेका छन्। पुस्तकमार्फत कियोसाकीले आम्दानी दिने सम्पत्तिमा लगानी गर्न र लगानीका लागि ऋण प्रयोग गर्नुपर्ने धारणा प्रचार गर्दै आएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: १९ भाद्र २०८३ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App