१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्य

९३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा सहभागी हुने तोशिसुके इच्छा

तस्बिर : एपी

९० वर्षीय बडीबिल्डर तोशिसुके कानाजावा उमेरले इच्छाशक्ति र शारीरिक तन्दुरुस्तीलाई रोक्न सक्दैन भन्ने उदाहरण बनेका छन्। 

जापानका उनी ९० वर्षको उमेरमा पनि आफूभन्दा निकै कान्छा खेलाडीसँग बडीबिल्डिङ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

कानाजावा शुक्रबार स्पेनको तटीय सहर सान्ता सुसानामा आयोजित अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा सहभागी भएका थिए। अन्तर्राष्ट्रिय फिटनेस तथा बडीबिल्डिङ महासंघले आयोजना गरेको प्रतियोगितामा उनले ५० वर्षमाथिका खेलाडीका लागि छुट्याइएको मास्टर्स विधामा प्रतिस्पर्धा गरेका हुन्। 

प्रतियोगिताअघि उनले युवा खेलाडीले जस्तै तयारी गरेका थिए। स्टेजमा जानुअघि टोलीसँग वार्मअप गरे र शरीर आकर्षक देखाउन स्प्रे ट्यान लगाए। कानाजावा आफूलाई अरूले नगरेका काम गर्न मन पर्ने बताउँछन्। उनले जीवनको अन्तिम समयसम्म बडीबिल्डिङलाई निरन्तरता दिन चाहेको पनि बताए।

उनले आफ्नो शारीरिक तन्दुरुस्तीको श्रेय खानपानलाई दिएका छन्। ५० वर्षको उमेरदेखि ब्राउन राइस, नाट्टो (किण्वित भटमास) र मिसो सुपजस्ता परम्परागत जापानी परिकार खाएर मांसपेशी बलियो बनाउने प्रयास गरेको उनले बताए। यही खानपानका कारण ९० वर्षको उमेरसम्म आफू बिरामी नपरेको उनको भनाइ छ।

प्रतियोगितामा उनले कुनै पदक जित्न सकेनन्। तर, त्यसले उनको उत्साह घटाएको छैन। कानाजावाले ९३ वर्षको उमेरमा फेरि प्रतियोगितामा सहभागी हुने इच्छा व्यक्त गरेका छन्। त्यसपछि भने बडीबिल्डिङबाट संन्यास लिने उनको योजना छ।

उमेर बढ्दै जाँदा शरीरमा चाउरी पर्नु स्वाभाविक भए पनि आफू त्यसको चिन्ता नगरी आफ्नो रुचिमा केन्द्रित रहेको उनले बताए। जापानमा चाउरी परेको अनुहारलाई राम्रो नमान्ने धारणा भए पनि आफूलाई बडीबिल्डिङप्रतिको लगाव महत्त्वपूर्ण लाग्ने उनको भनाइ छ।

कानाजावा आफ्नो यात्राले ज्येष्ठ नागरिकलाई पनि सक्रिय रहन र लक्ष्य पूरा गर्न प्रेरित गर्ने आशा गर्छन्। कुनै पनि काममा सफल हुन मानसिक शक्ति र दृढ संकल्प आवश्यक पर्ने उनको विश्वास छ। उमेर बढ्दैमा आफ्नो रुचि र लक्ष्य छाड्नु नपर्ने सन्देश उनी दिन चाहन्छन्। एजेन्सी

प्रकाशित: १५ कार्तिक २०८३ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App