२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्य

नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार

भारतको पश्चिम बंगालमा नौ कक्षाको अर्धवार्षिक परीक्षामा राम्रो अंक ल्याएपछि १५ वर्षीय एक विद्यार्थीले बुबाबाट करिब साढे तीन करोड रुपैयाँ मूल्यको बीएमडब्ल्यू कार उपहार पाएका छन्।

कक्षा ९ मा अध्ययनरत मोहम्मद तल्हालाई उनका बुबा शमसुद्दीन मिद्याले बीएमडब्ल्यू एम४ कम्पिटिसन कार दिएका हुन्। उक्त कारको मूल्य दुई करोड ३० लाख भारतीय रुपैयाँ अर्थात् करिब तीन करोड ६८ लाख ५५ हजार नेपाली रुपैयाँ पर्छ।

आजतकका अनुसार पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लास्थित गलसी क्षेत्रको पराज गाउँमा शमसुद्दीन परिवारसहित बस्छन्। उनका छोरा तल्हा स्थानीय विद्यालयमा अध्ययनरत छन्। बुबाका अनुसार तल्हाले लामो समयदेखि बीएमडब्ल्यू एम४ कम्पिटिसन कार चढ्ने इच्छा राख्दै आएका थिए। उनले धेरै पहिले नै 'अब्बा, मलाई बीएमडब्ल्यू चाहिन्छ' भनेका थिए। अर्धवार्षिक परीक्षामा राम्रो नतिजा आएपछि शमसुद्दीनले छोराको इच्छा पूरा गर्ने निर्णय गरे। त्यसपछि उनी मुम्बई गएर अन्धेरीस्थित एक गाडी बिक्री केन्द्रबाट नयाँ बीएमडब्ल्यू एम४ कम्पिटिसन किने। गत शुक्रबार विशेष कन्टेनरमा राखेर उक्त कार पराज गाउँ पुर्‍याइएको थियो।

शमसुद्दीनको संघर्षको कथा पनि रोचक छ। अहिले उनी सफल चामल व्यापारीका रूपमा चिनिन्छन्। तर कुनै समय उनी मुम्बईको फिल्म उद्योगमा लाइट म्यानका रूपमा काम गर्थे। सन् २००३ मा रोजगारीको खोजीमा मुम्बई पुगेका उनी करिब सात वर्ष त्यहाँ बसे। त्यसपछि सन् २०१० मा गाउँ फर्किएर चामलको व्यापार सुरु गरे। सुरुमा सानो स्तरबाट थालेको व्यवसायलाई उनले विस्तार गर्दै लगे।

अहिले गलसी क्षेत्रमा उनका तीन वटा चामल मिल छन्। उनको व्यवसाय पश्चिम बंगालमा मात्र सीमित छैन। उनले भियतनाम, मलेसिया, सिंगापुर र दुबईलगायत देशमा समेत चामल निर्यात गर्दै आएका छन्।

शमसुद्दीनलाई महँगा गाडीको शौक छ। उनीसँग यसअघि नै रेन्ज रोभर, भोल्भो, महिन्द्रा थार र हुन्डाई अल्काजारजस्ता गाडी छन्। अब उनको गाडीको संग्रहमा बीएमडब्ल्यू एम४ कम्पिटिसन पनि थपिएको छ। उनका धेरै गाडीको दर्ता नम्बरको अन्तिम तीन अंक ५५५ छन्। बलिउड अभिनेता शाहरुख खानका गाडीमा पनि यही नम्बर प्रयोग हुने गरेको छ।

उनी आफ्नो सफलताको श्रेय भगवानलाई दिन्छन्। शमसुद्दीनले आफ्नो मेहनत र सफलतामा भगवानको कृपा रहेको बताउने गरेका छन्। उनका अनुसार उनी आवश्यक परेका मानिसलाई सहयोग पनि गर्छन्। कतिपय अवस्थामा कसैलाई जानकारी नै नदिई गोप्य रूपमा सहयोग गर्ने गरेको उनले बताएका छन्।

१५ वर्षीय तल्हाका लागि बीएमडब्ल्यू उपहार पाउनु सपना पूरा भएजस्तै हो। तर उमेर नपुगेका कारण उनी अहिले आफैँ गाडी चलाउन सक्दैनन्। उनीसँग सवारी चालक अनुमतिपत्र पनि छैन। तल्हाले अहिले आफ्नो पढाइमा ध्यान दिने बताएका छन्। उनले सातामा एक दिन बीएमडब्ल्यूमा यात्रा गर्ने योजना बनाएका छन्। त्यस दिन उनका बुबाले गाडी चलाउनेछन् भने उनी अगाडिको सिटमा बसेर यात्राको आनन्द लिनेछन्।

छोराले परीक्षामा राम्रो नतिजा ल्याएपछि बुबाले दिएको यो महँगो उपहार अहिले पराज गाउँसहित आसपासका क्षेत्रमा चर्चाको विषय बनेको छ। अहिले सामाजिक सञ्जालमा पनि थरी थरीका प्रतिक्रिया आइरहेका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ १९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App