उनी बाहिर सानो नाति च्यापेर बाहिर निस्किइन्। चार वर्षे नाति त्यही छोपियो।
४४ वर्षे गिरी तीन घन्टापछि रगताम्मै बनेर बाहिर निकालिइन्। धुलिखेल अस्पताल, अर्थोपेडिक जोरपाटी, काठमाडौं मेडिकल कलेज हुँदै स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र साँगा पुर्या्इयो। दुई महिनाअघि उनी त्यहाँ पुग्दा विक्षिप्त थिइन्। देख्नेहरू भन्थे, 'ओहो! कति ठूलो घाउ! कति दुखेको होला!' उनलाई टाउकोमा लागेको चोटभन्दा मनको घाउ बल्झेर दुख्थ्यो। किनकि अब घर रहेन। त्योभन्दा ठूलो त भर दिने श्रीमान् कतार गएको धेरै भइसक्यो अत्तोपत्तो छैन। अब कहाँ जाने, बाँकी जीवन कसरी बिताउने? त्यो दुर्घटनापछि उनी यस्तै सोचेर धेरैदिन बिथोलिइन्।
'मर्न मन लागेको थियो। किन बाँच्ने जस्तो भयो,' रसिलो आँखा बनाउँदै उनले सुनाइन्, 'उठ्न सक्ने भए, कतै गएर हाम फाल्थेँ होला। मेटासिट पाको भए पिउँथे। माग्न पनि मागेँ, कसैले दिएनन्।'
दुर्घटनाले घाइतेहरूका जीवनप्रति निराश हुने, सपनाहरू चकनाचुर हुने, हाँस्न बोल्न मन नलाग्ने अवस्था आइलाग्छ। यो गिरीजस्ता आकस्मिक दुर्घटनाका सबैमा लागू हुन्छ। सोच्दै नसोचेको अपांगता स्विकार्न निकै कठिन हुन्छ। उनीहरू जीवनलाई सार्थक देख्दैनन्। आफैंलाई कमजोर ठान्छन्। तर ठिक समयमा आफन्तहरूबाट माया, प्रेरणाका साथै उपचार र काउन्सिलिङ भएमा जीवनको पुनर्जन्म पनि हुन सक्छ।
...
दसैंको रमझम थियो। सबैका घर रातोमाटो र कमेरोले पोतिएका थिए। गाउँको दसैं त्यसै पनि फरासिलो हुन्छ। माहोलले गाउँ नै सुन्दर देखिन्थ्यो। टाढाका आफन्तहरू गाउँ फर्किसकेका थिए। पारिवारिक जमघट थियो। सबैको घरमा रमाइलो वातावरण थियो। सोनिका ढकाल पनि त्यहीँ रमाउँदै थिइन्। नवमीको दिन नजिकै चौरमा लिंगेपिङ खेल्न गइन्। सिन्धुली कमलामाई नगरपालिका १४ मा उनको घर थियो। एक साथीसँगै रहेर दोहोरी मच्चाउन थालिन्। सोनिकाको हात लठ्ठोबाट एक्कासि फुत्कियो। उनी भुइँमा बजारिइन्। तुरुन्त उनलाई भिमान पुर्याोइयो। त्यसपछि जनकपुर अस्पताल लगियो। रिफर हुँदै उनी त्रिवि शिक्षण अस्पताल आइपुगिन्।
दुई महिनापछि उनलाई स्पाइनल इन्जुरी अस्पताल साँगा पुर्याअइयो। डाँडापाखा दौडिँदै गरेकी युवती एक्कासि बिस्तरामा, त्यसपछि ह्विलचियरमा बस्नुपर्ने सुन्दा छाँगाबाट खसेजस्तै भइन्, उनी। निद्रा लाग्ने सुई लगाएरै धेरै समय बिताइन्। स्लिपिङ ट्याबलेट खाएरै बस्थिन्। जिन्दगी नै सकियो भन्ने सोच्थिन्। 'मर्न पाए हुन्थ्यो झैं लागिरहन्थ्यो,' २०६१ सालका ती कहालीलाग्दा दिन सुनाउँदै उनी भन्छिन्, 'तर, आफूजस्तै अपांगता भएका अन्य साथी देख्दा केही चित्त बुझ्न थाल्यो।'
त्यस बेला उनी कक्षा १२ पढ्दै थिइन्। आफन्तको हौसलाले बिस्तारै उनमा जीवनप्रतिको मोह बढ्न थाल्यो। बाँकी जीवन संघर्ष गरेरै बाँच्ने शक्ति जम्मा गर्न थालिन्। पुनःस्थापनामै कम्प्युटर, सिलाइबुनाइ, मैनबत्ती बनाउने तालिम सिक्न थालिन्। काउन्सिलिङ, फिजियोथेरापी, स्विमिङमा रमाउँदै गइन्।
ठूलो दुर्घटनापछि पनि जीवनमा केही गर्न सकिन्छ र खुुसी आइलाग्छ भन्ने उनैले पुष्टि गरिदिइन्। चार वर्षपछि नै उपचार पाएकै ठाउँमा उनी काउन्सलर बनिन्। अहिले उनी दौंतरी सेवामा आबद्ध छिन्। आफूजस्तै ह्विलचियरमा बस्ने साथीहरूलाई सम्झाउने, हौसला दिने र जीवन बाँच सिकाउने टिप्स सोनिकासँग पर्याप्त छ।
ह्विलचियर गुड्छ मात्रै तर यहीँ बसेर जीवनको पखेटा हालेर उड्न सिकाउँछिन् उनी। नयाँ गोरेटो देखाइदिन्छिन्। यतिखेर भुइँचालोका कारण ह्विलचियर प्रयोग गर्न बाध्य अपांगहरू उनीसँग।
स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र साँगाका प्रशासकीय निर्देशक दिपेश प्रधानका अनुसार अहिले १ सय ४० जना स्पाइनल इन्जुरीका बिरामी उपचाररत छन्। उनीहरूलाई जीवनको अर्थ सिकाउँदै गोरेटो कोरिदिन पाउँदा केन्द्रका कर्मचारी खुसी देखिन्छन्।
भुइँचालोले ती अपांग बनेकाहरूको घरबास मात्रै खोसेन, धेरैका परिवारका सदस्य गुमेका छन्। 'यसकारण पनि सुरुमा आउँदा धेरैले निराशाका कुरामात्र गर्छन्,' सोनिका भन्छिन्, 'स्पाइनल इन्जुरीपछि एक्कासि ह्विलचियरमा आउनुपर्दा धेरै दुःखी छन्।' उनीहरूका साथमा परिवारका सदस्य छैनन्। ह्विलचियरमा बसेर अबको जीवन कसरी बिताउने भन्ने पीरमा छन्। गाउँघरमा ह्विलचियर गुडाउन गाह्रो हुन्छ। त्यसैमाथि घर भत्केको छ। बस्ने ठाउँ छैन। बाँकी जीवन सम्झेर पनि कतिपय डिप्रेसनमा फस्ने गरेको सोनिका सुनाउँछिन्।
राति नसुत्ने, खान मन नलाग्ने, टोलाइरहने, धेरै नबोल्ने, दिक्क मान्नेजस्ता समस्या ती अपांगता भएकाहरूमा देखिएको छ। प्रलयबाट गुज्रेका उनीहरूलाई जीवनको सही बाटो पहिचान गर्न कम्तीमा चार महिना अनुमान गर्छिन् उनी।
...
नुवाकोट फिकुरीका विराज भट्टले यसैपटक एसएलसी दिएका हुन्। अस्पतालको बेडमै रहेर उनले दोस्रो डिभिजनमा पास भएको खबर सुन्न पाए। एसएलसी पास भए पनि उनले खुसी बाँड्न सकेनन्। कारण— घरले च्यापिँदा उनको ढाड र खुट्टामा समस्या छ। घर भत्केको पीडा अझै पनि उनका निराश आँखामा देखिन्छ। एसएलसी सकेर ओभरसियर पढ्ने धोको थियो उनको। 'जिन्दगीको बाटो नै बन्द भो। बाँकी जीवन ह्विलचियरमै बिताउनुपर्नेछ,' बुधबार साँगामा भेट्दा उनले भने, 'पाँच दिनदेखि अलिअलि निदाउन थालेको छु।'
आफू अपांग भएको थाहा पाएपछि घाइतेलाई सुरुमा 'स्ट्रेस डिसअडर' हुन्छ। मन डराउने, छटपटाउने, आफ्नो जीवनलाई विश्वासै गर्न नसक्ने अवस्था आउने त्रिवि शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोजराज वझा बताउँछन्।
'एउटा सामान्य अवस्थाको जीवन बिताइरहेको व्यक्ति एक्कासि अपांगता हुँदा आफूलाई विश्वासै गर्न सक्दैन। छटपट गरिरहने, ननिदाउने, खाना नखाने, टोलाइरहने समस्या देखा पर्छ,' उनी भन्छन्, 'यदि नयाँ वातावरणमा आफूलाई सहभागी गराउन सकेन भने नराम्रो परिणाम पनि आउन सक्छ।'
वझाले भनेजस्तै देवी आचार्यलाई पनि आफू अपांगता भइसकेपछि नयाँ वातावरणमा घुलमिल हुन निकै अप्ठेरो लागेको थियो। त्यसैले उनी अस्पतालमा रहँदा स्लिपिङ ट्याब्लेट चोरेर खान्थिन्।
काठमाडौंबाट बुटवल घर जाँदै गरेकी उनी चढेको गाडी नवलपरासी दाउन्नेमा दुर्घटना हुँदा उनको ढाड नचल्ने भयो। दुर्घटनापछि परिवारका सदस्यले उनका लागि निकै हौसला दिएका थिए। उपचार राम्रैसँग भइरहेको थियो। तैपनि बाँचेर फाइदा हुने ठान्दै उनले आत्महत्याको प्रयास नगरेकी होइनन्। १० वटा ट्याबलेट एकैपटक खाइदिँदा उनी तीन दिनसम्म बेहोस भएकी थिइन्।
डाक्टर वझाका अनुसार केहीमा उदास हुने, बाँचेर के सार भन्ने सोचिरहने, नकारात्मक सोचको विकास हुन्छ। त्यसका लागि परिवारिक, सामाजिक सहयोग भरपर्दो हुनुपर्छ। 'विस्तारै डिप्रेसनमा फसेपछि मात्र आत्महत्याको सोच पलाउँछ,' उनी सुझाउँछन्, 'यस्ता बिरामी वा घाइतेलाई डिप्रेसनको अवस्थासम्म पुर्यामउन नदिन कोसिस गर्नैपर्छ।'
एकाएक अपांग बन्नपर्दाको पीडा शब्दमा व्यक्त गर्न सक्दिनन्, आचार्य। 'दिसापिसाब थाहा हुँदैन। हिँड्न सकिँदैन। घाउ भएको पनि थाहा हुँदैन,' उनी भन्छिन्, 'परिवारले कहिलेसम्म हेर्लान् भन्ने नकारात्मक सोचकै कारण म डिप्रेसनमा पुगेको रहेछु।' तीन पटकसम्म आत्महत्याको प्रयास गरेको उनी सुनाउँछिन्।
उपचार र विभिन्न काउन्सिलिङपछि उनको शारीरिक र मानसिक अवस्थामा निकै सुधार आएको छ। उनी अहिले अपांगता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति कोषकी कोषाध्यक्ष पनि हुन्। 'अब त जुनसुकै अप्ठेरो अवस्था पनि झेल्न सक्छु। आत्मनिर्भर बनेकी छु। जीवनप्रतिको सकारकात्मक सोच विकास भएको छ,' उनी भन्छिन्।
डिप्रेसनअघिको उपचार
डिप्रेसनका धेरै कारणमध्ये स्पाइनल इन्जुरी पनि एक हो। सामाजिक, वातावरणीय, पारिवारिक कारण होस् वा जुनसुकै अवस्थामा हुने डिप्रेसनका लक्षण एउटै देखिन्छन्। मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायका अनुसार निराश हुने, रुन मन नलाग्ने, खाना, निद्रा नलाग्ने यसका लक्षण हुन्।
के कारण डिप्रेसन भयो भन्ने थाहा हुन सकेमात्र औषधि, काउन्सिलिङ, मेडिटेसनले काम गर्छ। जीवनका योजना र लक्ष्यलाई दुर्घटनाले एक्कासि अवरोध पुर्यातउँदा अगाडिको बाटोबारे सोच्न सक्दैनन्। यसपछि नै डिप्रेसन सुरु हुने उपाध्यायले बताए।
'कुनै विपत्ति अर्थात् दुर्घटनाको असरपछि कुनै व्यक्तिलाई पहिलेकै अवस्थामा फर्काउन साइकोथेरापी, कग्निटी विहेभियर थेरापी गराउन सकिन्छ,' उनी भन्छन्, 'यसो भयो भने तनाव कम हुन्छ, सम्भावित डिप्रेसनबाट जोगाउन सकिन्छ।'
डा. सरोजराज वझा पनि एक्कासि अपांगता भएकाहरूलाई पारिवारिक, सामाजिक सहयोग नै ठूलो हुने बताउँछन्। 'कसैलाई निद्रा नलाग्ने भए मनोचिकित्सकको सल्लाह लिएर औषधि खुवाउन सकिन्छ,' उनले थपे, 'कतिपय आत्महत्याको मुखसम्म पुग्ने गरेका छन्। राज्यले जनचेतनामूलक कार्यक्रमसहित सहयोग गर्नुपर्छ।'
दुर्घटना आकस्मिक नै हुने हो। कोही दुर्घटनामा परे सुरुमा पारिवारिक माया र हौसलाकै जरुरी हुन्छ। बल्ल समाजले माया गर्छ अनि राष्ट्रले अपांगता भएकालाई माया गर्नेछ। मायाले मात्र पुग्दैन। यसका लागि काउन्सिलिङ, मेडिटेसनजस्ता कुराको पनि जरुरी हुने ठान्छन्, वझा।
प्रकाशित: १५ श्रावण २०७२ २२:४६ शुक्रबार

