५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

विन्ध्यवासिनीमा खैंजडीको धुन

प्यागोडा शैलीको तीनतले मन्दिर। भित्र सिंहमाथि बसेकी भगवती। आठ हात भएकी देवीको दायाँ–बायाँ गणेश र ललितादेवीका मूर्ति। दधिकोट, भक्तपुरको बिरुवामा अवस्थित विन्ध्यवासिनी मूर्तिको उचाइ ६ फिट छ भने चौडाइ ४ फिट।पश्चिम फर्केकी देवी। बाहिर उत्तरपट्टि राधाकृष्ण र सप्तऋषिका मूर्ति। पूर्वदेखि दक्षिणसम्म लहरै शिवलिंग, वासुकी, तुल्सीनारायण, सरस्वती, वटुक भैरव, हनुमान र बुद्ध चैत्य। घन्टहरू। 
मन्दिरको पूर्व चमेली सामुदायिक वन। सडकबाट १७२ वटा ढुंगे सिँढी चढेपछि मन्दिर पुगिन्छ। मन्दिर क्षेत्र करिब ३ रोपनीमा फैलिएको छ। हरेक बिहान तीर्थालु आउँछन्। दधिकोट, सिरुटार, लुभु र लामाटारका मात्रै होइन, देशभरका आइपुग्छन्। शक्तिपीठ दर्शन गर्छन्। 
पुजारी रत्नबहादुर श्रेष्ठका अनुसार मन्दिर बिहान साढे ४ बजेदेखि ११ बजेसम्म खुल्छ। टाढा–टाढाबाट भक्तजन आएमा दिउँसो पनि खोलिदिने चलन छ। मन्दिरमा चैत्र अष्टमी, रामनवमी र बडादसैंको नवरात्रिमा घुइँचो लाग्छ। 
श्रेष्ठ नित्य पूजा र आरती गर्छन्। विन्ध्यवासिनी चमेली खैंजडी भजन समूहले मन्दिर संरक्षण गर्दै आएको छ। मन्दिरमा विवाह, व्रतबन्ध, सप्ताह आदि धार्मिक कार्य गरिन्छ। समूहका अध्यक्ष रामकृष्ण चौंलागाईका अनुसार धार्मिक कार्य गरेको शुल्क तोकिएको छैन। इच्छाअनुसार दान गर्छन्।
मन्दिर बनेको धेरै भएको छैन। डाँडामा ढुंगे शिला थियो। त्यसलाई मान्छे ढुंगा भनिन्थ्यो। देवीको अंश परेको छ भनेर पुजिन्थ्यो। एकपटक योगी नरहरिनाथ र शुषमा माता घुम्दै त्यहाँ आइपुगे। ‘योगीजीले शिलामा विन्ध्यवासिनीको अंश छ भनेर ओमकारयुक्त झन्डा गाडिदिनुभयो,' चौंलागाईंले सम्झे, ‘त्यसपछि माताको सक्रियतामा ललितपुरका कलाकार राजु शिल्पकार झिकाएर मूर्ति कुँद्न सुरु भयो।' 
बीचमा केही वर्ष काम रोकियो। स्थानीय जयराम घिमिरेले देवीको भाकल गरेपछि उनलाई अमेरिकाको डिभी पर्यो । उनले आर्थिक सहयोग गरे। साथै दधिकोट, सिरुटार र लुभुवासीको राम्रो सहयोग जुट्यो। र, २०६० सालमा मन्दिर बन्यो। त्यसको अघिल्लो वर्ष भजन समूह गठन गरिएको थियो। 
समूहले खैंजडी, कर्ताल, मुजुरा, झ्याली बजाएर भजन गाउँछ। बिरुवामा मात्रै होइन, काठमाडौं खाल्डोलगायत धेरै ठाउँ पुगेर उनीहरूले कला देखाइसके। धार्मिक कथालाई भजन लयमा गाउँदै उनीहरू नाच्छन्। समूह गोलो परेर नाच्दा हेर्नेहरूलाई पनि नाचूँनाचूँ लाग्छ। मायाप्रीतिबाहेक जनचेतना जगाउने खालका गीत पनि गाउँछन्। संघसंस्थाले त्यस्ता जागरण गीत गाउँदा दिएको पारिश्रमिक मन्दिर विकासमा खर्चिन्छन्। 
रमणीय छ मन्दिर क्षेत्र। हरियाली जंगल नजिकै शान्त अनि शीतल। पिकनिक स्पट पनि छ। विन्ध्यवासिनी चढ्ने सिँढीसँगै कुलमाया भगवती मन्दिरछेउमा खाजा र धूपबत्ती बेच्ने पसल छ। बिरुवा बसपार्कमा पनि चिया पसल छन्। अहिले काँक्रो/फर्सीको सिजन। मन्दिर घुमेर फर्कंदा गाउँको ताजा तरकारी किन्न पाइन्छ।

कसरी पुग्ने : अरनिको राजमार्गको कौशलटारदेखि विन्ध्यवासिनी साढे ६ किमि। कौशलटारबाट बालकोट, बिरुवा हुँदै मन्दिर फेदीसम्म सडक यात्रा। बागबजारबाट बिरुवासम्म सार्वजनिक बस चल्छन्। ललितपुरको ग्वार्कोदेखि मन्दिर ८ किमि। ग्वार्कोबाट लुभु, भुजुङ, बिरुवा हुँदै मन्दिर। नयाँबाटो ठिमीबाट दधिकोट, चरखण्डी हुँदै मन्दिर पुग्न साढे ५ किमि। र, सूर्यविनायकबाट गुण्डु, तर्खगाल हुँदै मन्दिर ७ किमि। 

कुलमाया भगवती 
विन्ध्यवासिनी उक्लने सिँढीको देब्रेपट्टि पुरानो मन्दिर छ। स्थानीय घिमिरे परिवारले एक सय २५ वर्षअघि स्थापना गरेको कुलमाया भगवती। भगवती मन्दिरसँगै गणेश र शिव मूर्ति। नजिकै ढुंगेधारा। पीपल चौतारो। मन्दिरको आडैमा पुजारी घर। पुजारी रत्नबहादुर श्रेष्ठले भगवतीको पूजा गर्दैं आएका छन्। 

पूर्वाधार बनाउँदै छौं 
रामकृष्ण चौलागाईं
अध्यक्ष, खैंजडी भजन समूह
स्थानीयवासीको सहयोगमा मन्दिर क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरिरहेका छौं। मन्दिरबाट ३ सय मिटरमाथि भ्यु–टावर बनाउने योजना छ। पिकनिक स्पट थप्दै छौं। पाटीपौवा बनाउनुछ। सरकारले सुरक्षाका लागि प्रहरी र भौतिक निर्माणका लागि पर्याप्त बजेट दिनुपर्योप।

प्रकाशित: ६ असार २०७१ २३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App