१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

शान्ति खोज्दै अनदुडाँडा

चराहरु उडेको हेर्दा तपाईंको टाउको उठ्छ कि निहुरिन्छ ? पक्कै उठ्छ । चरा उडिरहेको हेर्नु पर्‍यो भने यहाँबाट भने टाउको निहुराउनु पर्छ, कताकतिमात्रै उठाउने हो । किनभने योे ठाउँबाट चराहरु उडेको आकाश मुनि नै पर्छ। तर, तपाईं नझुक्निनुहोला यो ठाउँ भनेर यहाँ जहाज चढिरहेको बेलाको कुरा गरिएको छैन । यो ठाउँ फेवातालको दक्षिणको डाँडा हो, अनदुडाँडा।हो यहींबाट देख्न सकिन्छ, फेवातालमाथिको सिरसिरे वतासमा चराहरु कावा खाँदै गरेको दृश्य । एक त तालमाथिको हावाको बहावमा चराहरुले मजा लिइरहेका हुन्छन् भने अर्काे तालमै पनि अकेन दृश्य देखिरहन्छ । सूर्यको प्रकाशको मधुरता र चहकतासँगै पानीले आफूलाई अनेक रङमा बदलिरहन्छ । डुंगाहरुको चहलपहल पनि उस्तै गरी चलिरहन्छ ।

फेवाताल र यो अनदुडाँडाको बीचमा छ रानीवन । वनको हरियाली, तालमात्रै अनदुडाँडाबाट देखिन्न । यहाँबाट देखिने दृश्य धेरै छन् । एकै नजरमा रानीवन, फेवाताल, सराङकोट, पोखरा भ्याली र हिमाली दृश्यहरु आँखामा ठोकिन आइपुग्छन् । 'पर्यटकीय पोखरा उपत्यकाका विशेषता भनेकै ताल र हिमालहरु हुन् । तर, एकैपटक एउटै दिशा फर्किंदा फेवाताल र हिमाल अनि पोखरा सहरलाई नियाल्न पाइने सबैभन्दा उत्तम ठाउँ नै अनदुडाँडा हो,' ह्याप्पी पासपोर्ट डटकमकी लेखिका रेबेका बोसले लेखेकी छन्, 'जहाँ विश्व शान्ति स्तूप छ ।'

अनदुडाँडाको स्तूप परिसर पोखरा र सेरोफेरोका हिमालहरु हेर्न सबैभन्दा उत्तम टाकुरा हो । यहाँबाट हिमालहरुको प्यानोरोमिक भ्यु देखिन्छ । धौलागिरि, अन्नपूर्ण र मनास्लु कुनै शृंखलाका हिमाल छुट्दैनन् । उत्तर फर्किएपछि एकैचोटि ताल, हिमाल र पोखरा सहर देखिन्छ, त्यो पनि निकै नजिक ।

विश्वमा शान्ति फैलियोस् भन्ने उद्देश्यसहित निर्मित स्तूप रहेको यो डाँडामा आउँदा आगन्तुकहरु साँच्चीकै शान्ति मिलेको आभास गरेको सुनाउँछन् दुर्गा बोगटीलाई । उनी स्तूपका कर्मचारी हुन् । उनका अनुसार निप्पोजन मियोजी अर्थात अखिल जापान भिक्षु संघले यो स्तूप बनाएको हो । त्यो संघका संस्थापक हुन् निचिदात्सु फुजिई । उनले संसारभर १०० वटा स्तूप बनाउने संकल्प गरेका थिए । ७१ औं स्तूप पोखरामा बनाएका हुन् ।

फुजिईलाई फुजी गुरुका नामले चिनिन्छ नेपाल र भारतमा । १९३१ मा महात्मा गान्धीसँग उनको भेट भएपछि गान्धीले नै उनलाई फुजी गुरु भनेर सम्बोधन गर्न थालेका थिए । जापानमा दोस्रो विश्वयुद्धका बेला अमेरिकाले हिरोसिमा र नागासाकीमा भीषण बमबारी हुँदा फुजी गुरु हिरोसिमामा थिए । त्यहाँ उनले युद्धको विभीषिकासँग साक्षात्कार गरे । त्यसपछि उनलाई शान्ति एक ठाउँ वा दुई ठाउँमा मात्रै भएर हुँदैन, विश्वभरि नै चाहिन्छ भन्ने लाग्यो । संसारभरि १०० वटा स्तूप निर्माण गर्ने संकल्प गरे । पहिलो स्तूप आफ्नै ठाउँमा बनाए । भगवान बुद्ध जन्मिएकै देशमा त बनाउनै प¥यो । सन् १९७३ मा पोखरा आउँदा स्तूपका लागि उत्तम ठाउँ हुने ठह¥याए । धर्मशीला बुद्ध विहार नदीपुर पोखरामार्फत भेटिए मीनबहादुर गुरुङ । उनी सहयोगी पनि थिए र गर्ने भनेको काम पूरा गर्नैपर्ने हठी पनि । जापानी भिक्षुले पोखरामा स्तूप बनाउन चाहेको कुराले उनलाई छोयो र आफ्नै गाउँको डाँडामा जग्गा दिलाए । उनकै पहलमा स्तूप पुग्दीभुम्दी गाउँको अनदुडाँडामा आएकाले पनि स्तूप रहेकै ठाउँलाई अचेल मीनथुम्की भन्न थालिएको छ ।

देश अहिले पो धर्म निरपेक्ष भयो, पञ्चायतकालमा त बौद्ध धर्मले समेत आफ्ना गतिविधि गर्न पाउने अवस्था थिएन । स्तूप बनाउनलाई राजा वीरेन्द्रसँग सिधै सोधेका थिए फुजी गुरुले । राजाले हुन्छ भन्दिए । २०३० सालमा स्तूप शिलान्यास गरियो । तर पञ्चायती सरकारले विभिन्न वहाना बनाएर ३१ सालमा स्तूप भत्काइदियो । झन् स्तूप निर्माणका अगुवा मीनबहादुर गुरुङलाई पञ्चे सरकारले मन पराउँदैनथ्यो । उनी कांग्रेस थिए, त्यसमाथि बिपी कोइरालासँग अत्यन्तै निकट पनि । २०१५ सालपछि बिपी नेतृत्वमा बनेको सरकारमा रक्षा सहायक मन्त्री बनेका गुरुङलाई स्तूप निर्माणको अभियोगमै त केही गर्न सकेन पञ्चे सरकारले तर, वन विनाश गरेको जस्ता वहाना बनाएर १८ महिना थुन्यो । उनका छोरा कृष्णबहादुर पनि ९ महिना थुनिए ।

स्तूप निर्माणको काम अघि बढाउन प्रजातन्त्र नै आउनुपरेको सम्झन्छन् कर्मचारी दुर्गा बोगटी । भन्छन्, '२०४७ सालमा कृष्णप्रसाद भट्टराईले स्तूप निर्माण अघि बढाउनू भनेर तोक आदेश गरेपछि मात्रै २०४८ सालमा स्तूपको फेरि शिलान्यास भयो ।' तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले दोस्रोपटक शिलान्यास गरेको स्तूप उनैले २०५६ सालमा उद्घाटन गरे । अनदुडाँडाबाट देखिने दृश्य त उही थियो तर, स्तूप बनेपछि भने यो डाँडाको दृश्य फेरियो । पर्यटकीय केन्द्र लेकसाइडबाटै पर्यटकको आँखामा पटकपटक ठोक्किन आइपुग्ने स्तूपले तानिरहन्छ । चम्किलो र सफा रङ अर्थाते सेतो स्तूपको रङ छ ।

मीनथुम्की ११ सय मिटर उचाइमा छ । यहाँ बनेको स्तूपको उचाइ ११५ फिट हो भने गोलाइ ३४४ फिट । स्तूपमा बुद्धका ४ मूर्ति छन् । नेपाल, थाइल्यान्ड, जापान र श्रीलंकाका तर्फबाट राखिएका हुन् ती मूर्ति । नेपालको मूर्ति दक्षिणपट्टि छ । बुद्ध जन्मँदाको अवस्था झल्काउँछ त्यो मूर्तिले । बुद्धको महापरिनिर्वाणको मूर्ति उत्तरपट्टि छ, जुन थाइल्यान्डबाट प्राप्त भएको हो । धर्मचक्र मूर्ति श्रीलंकाबाट र जापानबाट पूर्ण कदको मूर्ति प्राप्त भएको छ । सबै मूर्तिका आफ्नौखाले विशेषता छन् । मूर्ति अगाडि उभिएर बौद्धमार्गीहरुले त्रिवन्दना गर्छन्—बुद्धम् शरणम गच्छामि, धम्मम् शरणम् गच्छामि र संघम् शरणम् गच्छामि गुन्गुनाउँछन् ।

स्तूपमा प्यागोडा शैली छ । गोलो भागको बीचबाट निर्मित प्यागोडा शैलीले गजुरको झल्को दिन्छ । खासमा स्तूप घोप्टो पारिएको कचौरा जस्तो छ । यसको संरचना बुद्धको भिक्षापात्र घोप्टाएको आकारमै तयार पारिएको बोगटी बताउँछन् । भगवान बुद्धभन्दा पहिल्यै बितेका उनका शिष्य मौदगल्यान्को सम्झना स्वरुप सबैभन्दा पहिला स्तूप निर्माण गरिएको बौद्ध पुराणहरुमा उल्लेख रहेको जानकारहरु सुनाउँछन् । पोखराको यो स्तूपमा भगवान बुद्धको अस्ति धातु पनि छ । जहाँ अस्ति धातु हुन्छ त्यहाँ भगवान बुद्ध स्वयंको बास हुन्छ भन्ने विश्वास गरिन्छ । अस्ति धातुसमेत भएका बौद्ध तीर्थस्थल नेपालमा कमै छन् ।

पोखराको केन्द्रीय चोक नै हो, पृथ्वी (लखन)चोक । यहाँबाट ६ किलोमिटरमा पर्छ पुम्दीभुम्दीको अनदुडाँडा, जहाँ विश्व शान्ति स्तूप छ । त्यहाँबाट दिनमा तीन पटक बस चल्छ अनदुडाँडाका लागि । बिहान १० बजेअघि, दिउसो २ बजे र साँभm ५ बजे । ट्याक्सी त जति बेला भन्यो उति बेलै लैजान पाइन्छ । प्रसिद्ध गन्तव्यस्थल डेभिज फलबाट ४ किलोमिटरमात्रै हो, स्तूप । होइन यो बाटो नजाऊँ भने पनि विकल्प छन् । फेवातालबाट डुंगा चढेर आउने बाटो पनि छ । १५ मिनेट डुंगा चढेर तालपारि पुगेपछि ४५ मिनेटको उकालो हिँडाइमा स्तूप पुगिन्छ । फेवातालको ड्यामसाइडबाट पनि सिधैं उकालो जंगलै जंगलको बाटो अर्काे विकल्प हो स्तूप पुग्ने । रानीवनको जंगलको बाटो शीतलो छ । ठाडो उकालो छैन, तर्पायँ—तर्पायँ छ बाटो । पोखराबाट एक दिनको हाइकिङ योजना बनाउनेहरु यही बाटो हुँदै स्तूप पुग्छन् । रानीवन पर्यटकका लागि अर्काे आकर्षण ठाउँ हो । केही वर्षमै यो वन विश्व शान्ति उद्यान बन्दैछ । खुलम खुला हिँडिरहेका मृगहरुलाई साक्षात्कार गर्ने मौका मिल्ने गरी उद्यान बनिरहेको छ ।

स्तूप वरिपरि रेस्टुरेन्टहरु प्रशस्त छन् । होटलचाहिँ अलि कम । १० मिनेटको हिँडाइपछि पुगिने रानीवन रिट्रिट रिसोर्ट अत्याधुनिक र सुविधा सम्पन्न छ । यो धनी पर्यटकका लागि लक्षित रिसोर्ट हो । अरु मध्यमचाहिँ ३ वटामात्रै छ । नेपाली पर्यटकलाई नै लक्ष्य गरेर स्थानीय राजु क्षेत्रीले आफ्नो रेस्टुरेन्ट एआइट क्याफेसँगै केही कोठाहरु बनाएका छन् । जहाँ मध्यम वर्गका नेपालीका लागि उपयुक्त छ ।

स्तूप हाता बाहिरका थुम्काथुम्कीमा पिकनिक खाने पोखरेलीहरु पुगिरहन्छन् । साइक्लिस्टहरुका लागि अनदुडाँडा गतिलो गन्तव्य बन्न थालेको छ । पर्यटकीय सिजनका बेला ५ सयभन्दा बढी पर्यटक स्तूपभित्रै पुग्छन् । वैशाख १ गतेको दिन सबैभन्दा धेरै घुइँचो लाग्ने बोगटीको अनुभव छ । स्तूप परिसरमा पस्नचाहिँ साँझ ५ बजेसम्ममात्रै पाइन्छ । त्यसपछि यहाँ पूजापाठ र मन्त्रोच्चारणको समय हो । स्तूपमा बिहान साढे ४ बजे र साँझ ६ बजे मन्त्रोच्चारण गर्ने चलन छ । स्तूपको मूल व्यक्तिका रुपमा ८० वर्षीय भिक्षु मोरित्से छन् । स्तूप सञ्चालक समितिले बुद्ध धर्मका अनुयायी ध्यानका लागि आएको खण्डमा निशुल्क बसोबासको व्यवस्था पनि मिलाउँछन् । तर, यहाँ बस्दा बिहान ४ बजे नै उठ्नुपर्छ र साढे ४ बजेको र साँझको पूजामा पनि हुनै पर्‍यो । दिनमा ८ जनासम्म पाहुना समितिले थेग्न सक्छ । प्राकृतिक दृश्यले लोभिएर घुम्दै आएका पर्यटकमध्ये कतिपयले यहाँको पाहुनाघरमै केही दिन बसेर बौद्धज्ञान लिने पनि गरेका छन् ।

'कति भाग्यमानी है तिमीहरु,' दुर्गाले यस्तो वाक्य पाहुनाहरुबाट पटकपटक सुनिरहनुपर्छ । त्यसपछि झन् आनन्द महसुस गर्छन् उनी । मनमा शान्ति नभए कहिं गए पनि शान्ति हुन्न भनिए पनि यो ठाउँमा बसिरहँदा चाहिँ त्यो कुरा होइन कि भन्ने भान गराइदिन्छ । मनमा त्यसै—त्यसै ओम शान्ति ओम भन्ने भावको तरंग चलिरहेको जस्तो भइदिन्छ । अनि लाग्छ—मनमा शान्ति ल्याउन पनि बाहिरी वातावरणले सघाउँछ होला । होइन भन्ने लाग्छ भने पोखरा घुम्न आउँदा विश्व शान्ति स्तूप पुगेरै विचार गर्दा राम्रो ।

प्रकाशित: २८ फाल्गुन २०७२ २०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App