२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

त्यागी सन्त प्रपन्नाचार्य

शक्तिको पखेटा हुन्छ। त्यो न नेतासँग टिक्छ न स्वामीसँग। डा. स्वामी प्रपन्नाचार्य कुनै समय राजाका प्रिय थिए। शक्ति उनका वरिपरि झुम्मिन्थ्यो। जीवनको उत्तरार्धमा उनका 'अनुयायी' को भीड घट्दो थियो। तर, 'शक्ति' प्रति 'भक्ति' को आसक्तिका जानकार स्वामीमा त्यसको कत्ति पनि चिन्ता थिएन।वर्षदिनअघि पशुपति मृगस्थलीस्थित चन्द्रेश्वर सत्तल पुग्दा ९२ वर्षका वृद्ध र अस्वस्थ स्वामीजी स्थायी सहयोगीको हेरचाहमा थिए। उनका ज्ञान र उपदेशमा मग्न हुनेहरुले बिस्तारै पाइला टेक्न छाडेका थिए।

'अचेल त सुनसान रहेछ,' पहिले–पहिले त्यहाँ हुने खचाखच भीड सम्झँदै नागरिककर्मीले गरेको जिज्ञासामा प्रपन्नाचार्यले भनेका थिए, 'थला परेको स्वामीलाई भक्तले पनि वास्ता गर्दैनन्। बलेको आगो सबैले ताप्छन्, खरानी कसैले छुँदैन। म खरानी भएँ, फोहर लाग्छ भनेर कोही आउँदैनन्।'

स्वामी प्रपन्नाचार्य स्वयं पनि राजा वीरेन्द्रको आग्रहमा आठ वर्ष राजपरिषद स्थायी समिति सदस्य भएका थिए। त्यतिखेर आफ्नो आश्रममा लाग्ने भिड उपदेश लिन थियो वा 'पावर एक्सरसाइज' गर्न उनले खुट्ट्याउन खोजेनन्। धेरैले आफ्नो पार्टी कित्तामा उभ्याउन खोजेको अनुभव गरे तर आबद्ध भएनन्। पैसाको प्रलोभन देखाएर राजनीतिमा लगाउन खोज्ने भेटेपछि उनले त्यो जमातको अध्ययन गरे र बुझे, त्यहाँ फट्याइँ र फुट मात्र छ।

स्वामी विवेकानन्दले मानव बन्न अर्थ्याएजस्तो नैतिकता, इमान, जिम्मेवारी र चरित्र उनले नेतामा भेटेनन्। र, राजनीतिबाट तर्कने प्रयास गरिरहे। 'पहिला मलाई लाखौंको प्रलोभन देखाउनेहरु अहिले कहाँ छन् खै?' बरु पशुपति क्षेत्र विकास कोषले दिने मासिक १० हजार रुपैयाँले आफू र आफ्ना सहयोगीको गुजारा चलाइरहेका स्वामीले भनेका थिए।

'संन्यासी संग्रह होइन, त्यागको निम्ति कहलिनुपर्छ। मैले सोही सिद्धान्तबमोजिम भक्तहरुले दिएको धनसम्पत्ति निर्धनहरुलाई बाँडिदिएँ। त्यो देखेका मेरा सहयोगीहरु उतिबेला बचाएको भए अहिले दुःख पर्दैनथ्यो भनेर गुनासो गर्छन्,' उनी कहिल्यै पैसा जम्मा गर्ने साधुका रुपमा चिनिएनन्। उनले जम्मा भएका सम्पत्ति मठ–मन्दिर निर्माणमा खर्च गरे।

नेपालमा साधु–सन्तको सान्निध्य खोज्ने नेता, व्यापारी छन्जस्तो उनलाई लाग्दैनथ्यो। त्यसो त कुनै बेला भक्तको अभिनय गर्दै नेताहरू उनको आश्रम धाउँथे, जसको भित्री अभीष्ट ज्ञान लिनेभन्दा आफूलाई राजनीतिमा लगाउने हो भन्ने उनले बुझेका थिए।

धनी, व्यापारीहरू त उनलाई झन् स्वार्थी लाग्थे। एकपटक उनी देशका ठूलै व्यापारीका घर गएका थिए। 'केही माग्नै गएजसरी ती व्यापारी तर्किएको देखेपछि दोहोर्यारएर कसैको घर गइनँ,' उनले सुनाएका थिए।

नेपालीमा विद्वान र सन्त चिन्ने क्षमता नभएको निष्कर्ष थियो स्वामी प्रपन्नाचार्यको। 'जो सन्त–महात्माकहाँ गएको देखिन्छ, त्यो पूरै नाटक हो। ज्ञान लिन होइन, जनताका अगाडि आफूलाई धार्मिक जस्तो देखाउन उनीहरूले यस्तो नाटक गरेका हुन्,' उनी नेताहरूप्रति अलि बढी नै क्रुद्ध थिए, 'नेपालको राजनीति स्वार्थी र फटाहाहरूको समूह हो जसलाई ज्ञान र विद्वानको जरुरत नै हुँदैन। नेता आश्रममा गएका देखिन्छन् भने त्यहाँ पनि स्वार्थ लुकेको हुन्छ, धर्म र ज्ञानका लागि होइन।'

प्रकाशित: ४ भाद्र २०७२ १९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App