एउटा खेल फोटो पत्रकारका रुपमा मैले सामना गरेका थोरै भावुक क्षणमध्ये त्यो एक थियो। जहाँ त्रिभुवन विश्वविद्यालयको मैदानमा उपस्थित करिव १२ हजार दर्शकले विनोदलाई उठेर लामो समयसम्म ताली बजाउँदै विदा गरे। जसले विनोदको विदाई थप भावुक बनायो। विनोदको अश्रुमिश्रित अनुहार र दर्शकको सम्मानले ममात्र होइन, त्यहाँ रहेका सबै खेलाडी, दर्शक तथा क्रिकेट अस्ट्रेलिया र अन्तर्राष्ट्रिय क्रिकेट परिषदका पदाधिकारीलाई पनि भावुक बनायो।
ह्युजको स्मृतिमा गरिएको सम्मान खेलका लागि उतैबाट आउनेमध्ये एक अस्ट्रेलियाली क्रिकेटर म्याथु इलियट पनि थिए। उनी अस्ट्रेलियाली टेस्ट टोलीबाट ओपनिङ ब्याट्सम्यानका रुपमा खेलिसकेका खेलाडी हुन्। त्यस्ता खेलाडी नेपालमा छन्, मलाई विश्वास गर्न गाह्रो भइरहेको थियो। त्यस्ता क्रिकेटरसँग साक्षात्कार हुन पाउने लोभले मन पुलकित थियो। खेललगत्तैको दिन तिनै क्रिकेटर इलियट बालुवाटार क्रिकेट एकेडेमी भ्रमणमा जाँदैछन् भन्ने जानकारी नागरिक खेलकुद ब्युरो प्रमुख अजय फुयाल दाईबाट पाउँदा मैले आफूलाई धेरैबेर रोक्न सकिँन। मैतिदेवीस्थित वासस्थानबाट बालुवाटार हान्निएँ। नेपाली राष्ट्रिय क्रिकेटलाई ठूलो योगदान गरेको बालुवाटार क्रिकेट एकेडेमीमा त्यसअघि पनि केही अवसरमा फोटो खिच्न म पुगिसकेको थिएँ। स्कुले विद्यार्थीलाई परिपक्व क्रिकेटरका रुपमा विकास गर्न बालुवाटार लागिपरेको छ।
आइतबारको दिन पनि त्यहाँ करिव ३० जना स–साना विद्यार्थी भविश्यको स्टार क्रिकेटर बन्ने सम्भावना तिखार्न प्याड लगाएर तयार थिए। इलियट आउने, उनीसँग छलफल गर्न पाउने उत्साह उनीहरुमा धेरै थियो। इलियटलाई बालुवाटार एकेडेमीका सञ्चालक उपेन्द्र भट्टराईले स्वागत गर्नेवित्तिकै उनले साना खेलाडीसँगको कुराकानी सुरु गरिहाले। सुरुआत इलियटको भाषणबाट भयो। जहाँ उनले किशोर खेलाडीसँग आफ्नो नेपाल भ्रमणको उत्साह पोखे। बालुवाटार क्रिकेट एकेडेमी आउँदा खुसी लागेको बताए। एउटा क्रिकेटर बन्ने सपना पाल्न र त्यसका लागि पर्यापत मिहिनेत गर्न उनले वालवालिकालाई सुझाए। 'क्रिकेट मन पराउने हरेक मानिस आफ्नो देशको राष्ट्रिय टिमका लागि खेल्न चाहन्छ। यसमा तिमिहरु पनि सामेल हुनुपर्छ। त्यसका लागि तिमिहरुले कडा अभ्यास गर्नुपर्छ। अनुसाशित हुनुपर्छ। धैर्य राख्नुपर्छ,' यत्ति भनेर उनले स–साना खेलाडीबाट जिज्ञासा अपेक्षा गरे।
मलाई लागेको थियो, 'यति साना बालकहरु लाज मान्लान। के प्रश्न गर्लान र?' तर मेरो अनुमान तुरुन्तै गलत सावित भयो। एकजनाले मौनता भंग गरिहाले, निकै रोचक प्रश्नसँगै। तिनै वालकहरुको प्रश्नका कारण इङल्यान्डको लर्डस इलियटलाई सबभन्दा मनपर्ने मैदान रहेछ भनेर मैले पनि थाहा पाएँ। त्यही मैदानमा वेस्ट इन्डिजसँग खेलेर अन्तर्राष्ट्रिय डेब्यु गरेका रहेछन्। डेब्यु खेलको अनुभव उनीसँग राम्रो रहेनछ। पहिलो अन्तर्राष्ट्रिय खेलमा उनले एउटै रन बनाउन सकेका रहेनछन्। डेब्युमा आफू जम्न नसकेको प्रशंग कोट्याउँदै उनले वालकहरुलाई कुनै पनि असफलताले सपना चुम्न रोक्न नसक्ने सिकाउन खोज्दै थिए।
एकजना वालकको प्रश्न थियो, 'तिब्र गतिका बलरमध्ये तपाईलाई डर लाग्ने को हो?' अनुहारमा हल्का मुस्कान ल्याउँदै इलियटको जवाफ थियो, 'म कसैसँग डराउँदिन, तर शोएव अख्तरको गति साँच्चै धेरै थियो।'
अर्का बालकले तुरुन्तै दोस्रो प्रश्न गरे, 'अनि स्पिनर नि?' यो प्रश्नको जवाफ इलियटले एकै सासमा दिए, 'शेन वार्न।'
इलियट निकै कम समयका लागिमात्र बालुवाटार एकेडेमी पुगेका थिए। तर वालकहरुले कागज, टिसर्ट र क्रिकेट ब्याटमा इलियटको अटोग्राफ लिने र उनीसँग सेल्फी लिने अवसर खेर फालेनन्। यसबीचमा उनले आफ्नो ब्याटिङ प्रतिभा पनि वालकहरुमा सार्ने प्रयास गरे। त्यसका लागि उनले केही ब्याटिङ टिप्स दिनुका साथै आफैले ब्याटिङ गरेर पनि देखाएका थिए।
इलियटको भ्रमण छोटो भए पनि निकै प्रेरणादायी थियो। एउटा महान खेलाडीको अनुभवबाट हामीले पनि धेरै सिक्ने मौका पायौं। सपना पछ्याउन धैर्य भन्ने शब्दको महत्व कति हुन्छ भन्ने बुझ्नका लागि इलियटको अनुभव प्रभावकारी थियो। यस्ता प्रेरक व्यक्तित्वको भ्रमण नेपाली क्रिकेटबाट एउटा महान खेलाडी विनोद दासको विदाईको अवसरसँग जोडिएको थियो। तर उनको ऐतिहासिक भ्रमणको प्रेरणाबाट नेपाली क्रिकेटमा अरु विनोद दासहरुको उदय हुन सकोस। इलियटसँग बालुवाटार क्रिकेट एकेडेमीमा साक्षात्कार भएपछि मलाई लाग्यो, 'महान मानिसले अरुलाई प्रेरित गर्छन र उनीहरुको प्रेरणाले अन्य थुप्रै मानिस महान मानिसमा परिणत हुन्छन्।'
प्रकाशित: ११ वैशाख २०७२ २१:२६ शुक्रबार