७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

हराएका गीत हराएका व्यक्ति

साढे दुई वर्षअघि गीतकार यादव खरेल एल्बम निकाल्न कस्सिए। उनी चाहन्थे— गायक फत्तेमान राजभण्डारीको एकल स्वरमा एल्बम तयार पारूँ। त्यसको कारण थियो, खरेलको गीतिकारिताको पहिलो खुट्किलोमा फत्तेमान फाप्नु। फत्तेमानका लागि पनि खरेल त्यस्तै फापेका परे। यी दुईको सहकार्यमा बनेको गीत 'यस्तो पनि हुँदो रै'छ जिन्दगीमा कहिले कहिले' २०२० को सुरुवातमा निकै चल्यो। दुवै स्थापित भए। नयाँ एल्बम निकाल्न जोस्सिएका खरेल ५० वर्षअघिको तन्नेरी वय सम्झँदै फत्तेमानको आवाज खोज्न निस्किए।


फत्तेमानले पनि किन हुन्न भन्थे र! दुई जनाको सहकार्य फेरि जम्ने भयो।

एल्बमको पहिलो गीत 'मैले पिएँ धेरै पिएँ'मा फत्तेमान गहकिलो आवाजमा पोखिए। सबैलाई 'वाह, क्या गाए' जस्तो लाग्यो। तर, संगीतलाई साधना मान्ने संस्कृतिमा हुर्किएका गायक स्वयंलाई चाहिँ चित्त बुझेन। लामो रिहर्सल गरेर गाउन गएका फत्तेमानले हेडफोन स्ट्यान्डमा झुन्ड्याउँदै भने, 'खै, मूड नै आएन। आज रेकर्ड नगरौं है, अर्को दिन गरौंला, यो प्राक्टिसमात्र भयो।'

गायकले यसो भनेपछि गीतकारले हुन्न भन्न सकेनन्। तर, दुरुस्त भावभंगीमा गाए पनि फत्तेमानलाई किन गीत चित्त बुझेन खरेलले बुझेनन्। 'मलाई त राम्रो लागेको थियो। उसले योभन्दा पनि राम्रो गर्छु भनेपछि अर्को दिनलाई स्टुडियो बुक गरेर फर्कियौं,' खरेल सम्झन्छन्।

त्यसपछि बिरामी परेका फत्तेमान अस्पताल भर्ना भए। त्यो 'अर्को दिन' कहिल्यै आएन। खरेलले रिहर्सलकै रूपमा भए पनि स्टुडियोमा बजेको फत्तेमानको आवाजसहित अरु 'हराएका' १० वटा गीत समेटेर एल्बम निकालेका छन्।

आफ्ना रचनाका नयाँ तथा पुराना गीत खोजेर 'हराएका गीत' ल्याएका खरेलसँग हरेक गीतको घतलाग्दो कथा छ। चाखलाग्दो सम्झना छ।

लामो समयदेखि गाउन छोडेका, सञ्चार माध्यमसँग नबोल्ने 'रहस्यमय' गायक/संगीतकार बच्चुकैलाशको आवाज पनि उनले एल्बममा समेटेका छन्। तर, खरेलको यही एल्बमका लागि भनेर बच्चुकैलाशले गाएका थिएनन्। र, खरेलको सानोतिनो प्रयत्नमा उनी गाउन राजी भएका थिएनन्।

'के भनूँ म कसोगरी परेँ, मोहिनीको मायाजालैमा' गीतको पंक्ति जतिजति सर्दै गयो, खरेलको मस्तिष्कमा बच्चुकैलाशको आवाजमात्रै आइरह्यो। गीत जब आफ्नै निर्देशनमा बन्ने फिल्म 'प्रेमपिण्ड'मा राख्ने भए, उनले एकसूत्रीय संकल्प गरे— जसरी पनि बच्चुकैलाशलाई गाउन लगाउने। तर, उनलाई राजी गराउन त्यति सजिलो थिएन। अरूलाई भए ठाडै 'हुन्न' भन्न सक्थे, पुराना सहकर्मीको हैसियतले खरेललाई सिधै गाउँदिनँ नभने पनि धेरै समय झुलाए। खरेल गीत रेकर्ड गर्न मुम्बई पुगे, भारतीय गायक अभिजीतको आवाजमा त्यो गीत विकल्पस्वरूप रेकर्ड गरे, सुटिङ थाले तर बच्चुकैलाशलाई 'लौन गाउनुपर्योव' भन्न थाकेनन्। अन्तमा बच्चुकैलाश नै थाके र 'प्रेमपिण्ड'को लागि गीत गाए। त्यति बेलासम्म फिल्मको सुटिङ सकिइसकेको थियो। अभिजीतको आवाजमा रेकर्ड गरिएको 'वैकल्पिक गीत' हटाएर बच्चुकैलाशको राख्दा 'सिंक' भएन। बच्चुकैलाशको दुर्लभ आवाज कसै गरे पनि फिल्ममा राख्न मिलेन। खरेललाई थकथकी लाग्यो। फिल्ममा राख्न नमिलेको गीत उनले आफ्नो संग्रहालयमा बढो जतन साथ राखेका थिए। 'त्यति परिश्रम गरेर बच्चुकैलाशलाई गाउन लगाएको गीत त्यसै खेर जाने हो कि भन्ने चिन्ता थियो बल्ल यो एल्बममा राख्न पाएँ,' उनी भन्छन्।

'हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाऊँला' संगीतका पुराना पारखीमा यो गीत निकै गढेको हुन सक्छ। तर, यही गीतका गायक तथा संगीतकार डिबी महेश पाल्पालीलाई कमैले मात्र सम्भि्कएका छन्। यिनको अवस्थाबारे धेरै जना बेखबर देखेपछि खरेलले उनलाई खोजे। बुटवलमा बुढ्यौली दिन काटिरहेका पाल्पाली काठमाडौं आएका बेला भेटे। र, 'हराएका गीत' गीत खोज्ने आफ्नो योजना बताए।

बीसको दशकमा पाल्पाली यति हिट थिए, उनको आवाजमा आफ्नो रचना गाइए कस्तो हुन्थ्यो भनेर लालायित हुने रचनाकार प्रशस्तै थिए। गीत रचनामा भिज्दै गएका तन्नेरी खरेललाई पनि यस्तै मोह थियो। २०२१ सालमा केही गीतको खात बोकेर कोलकाता गएका पाल्पालीको प्राथमिकतामा खरेलको गीत 'आउँदिन म जाँदैछु बैगुनीलाई छाडी सम्झना' पनि पर्योि। पाल्पालीको स्वर र संगीतमा यही गीत ग्रामोफोन डिस्क ७८ आरपिएममा रेकर्ड भयो।

त्यति बेला निकै रुचाइएको गीत पछि रेडियो नेपालको संग्रहालयमा पनि भेटेनन् खरेलले। पाल्पालीको संकलनमा पनि पाइएन। धेरैपछि रेडियो सगरमाथाको संग्रहालयमा भेटिएको गीतलाई उनले एल्बममा 'हराएका गीत'को रूपमा राखेका छन्।

खरेलले यो गीत पाल्पालीलाई सुनाउँदा सुरुमा त उनले आफ्नै आवाज ठम्याउन सकेनन्, केही बेर सुनेपछि रोमान्टिक हुँदै, श्वास जम्मा पार्दै गुनगुनाउन पुगे। 'यो गीत त मेरै स्मरणमा पनि हराएको रहेछ,' पाल्पालीको प्रतिक्रियाले खरेललाई सार्थक काम गरेको आभास भयो। त्यति बेलै पाल्पाली र रत्नबहादुर खड्गीको स्वरमा बनेको 'जल्यो जल्यो तन जल्यो' रेडियो नेपालको संग्रहालय र अन्यत्रसमेत पाउन नसक्दाको दुःख पोखे खरेलले। 'खासमा यस्ता गीत ऐतिहासिक सम्पदा हुन्,' खरेल गुनासो पोख्छन्, 'राज्यले संरक्षणमा कुनै जिम्मेवारी बहन गरेको छैन।'

यो एल्बममा एउटा नौलो आवाज छ। तर, ५० वर्ष पुरानो। 'मेरो मनको एउटा घाउ' गाउने गायक हुन्, रामकृष्ण खरेल। यो नाम संगीत क्षेत्रमा खासै सुनिँदैन। तर, आवाज स्तरीय लाग्छ। खरेलका अनुसार बीसको दशकमा कुमार बस्नेत, बबि पन्त र रामकृष्ण खरेल रामशाहपथमा जम्मा हुँदै गिटार बजाएर गायनको अभ्यास गर्थे। यी तीनमा प्रचुर सम्भावना थियो। तर, कुमार बस्नेतले मात्र संगीतलाई पेसा बनाए। बाँकी अन्तै हराए। उनीहरूले गाएको गीत पनि हराए। त्यसै बेला शिवशंकरको संगीतमा राम खरेलले खाएको गीत भेटियो, जसमा खरेलले शब्द दिएका थिए। 'संयोगले सुरक्षित रहेको यो गीत एल्बममा राख्न पाउँदा खुसी लागेको छ,' आफ्नै भाइ राम खरेलले संगीत यात्रालाई निरन्तरता नदिए पनि त्यो सम्भावनायुक्त स्वर सुरक्षित राख्न सकेकोमा उनलाई खुसी लागेको छ।

खरेलले रेडियो नेपालमा कार्यक्रम चलाउँदा हुतराज शर्मा संगीतकारका रूपमा जागिर गर्थे। उनी 'राम्रो संगीत गरौं बरु थोरै गरौं' भन्ने मान्यता राख्थे। उनको 'थोरै'भित्र अट्यो खरेलको रचना पनि। 'तिम्रो अनुहार हेर्ने ऐना' बोलको गीत त्यस बेलाको नवप्रतिभा मदनकृष्ण श्रेष्ठले गाए। दिवंगत संगीतकार शर्माका धेरै गीत भेटिँदैन। 'यो गीत मेरो संग्रहमा बचेको रहेछ। त्यसैले एल्बममा ल्याएँ,' उनी भन्छन्।

२०२० सालतिरै आफूले रचेको पंक्ति 'जलनको नशा छ मलाई' र 'तिमीलाई म सयपत्री उनुँकी' खरेललाई पूरा हेक्का छ। तर, कल्याण रिमाल र बिजु रिमालको स्वरमा रेकर्ड भएको गीत भने कता हरायो कता! कसै गरे पनि पाएनन्, खरेलले। रिमाल दम्पतीकै स्वर र संगीतमा बनेको त्यति बेलाकै अर्को गीत 'कहाँ होलान् मेरा दाजु' बल्लतल्ल फेला पर्यो । र, खरेलको 'हराएका गीत'को सूचीमा संगृहीत भयो।

गायिका निर्मला श्रेष्ठ खरेललाई मिठो स्वरकी धनी लाग्छ। तर, उनी सांगीतिक दुनियाँमा लामो समय टिकिनन्। उनको आवाज टिकाउन कम्मर कसे खरेलले। 'यति धेरै माया नदेऊ मलाई' बोलको गीतमार्फत उनले थोरै साज र प्रविधिको सीमिततामा रहेर पनि राम्रो धुन बनाउन सक्ने स्रष्टा अम्बर गुरुङ र गायिका श्रेष्ठको गुणस्तीय सहकार्यलाई एल्बममा समेटेका छन्। यसबाहेक इन्द्रनारायण मानन्धर, रमेश ताम्राकार र दीप श्रेष्ठको स्वरसमेत उनको एल्बममा सुन्न सकिन्छ।

यी भए यादव खरेलले आफ्नो शब्द रचनामा तयार भइ हराएका गीत संकलनको कथा। उनी संगीत इतिहासमा अर्थ राख्ने कालजयी गीतलाई यसैगरी पुनर्जिवन दिनुपर्ने ठान्छन् र त्यसको लागि सरकारले पहल गर्नुपर्ने तर्क छन्। 'संगीतलाई सम्पदा मान्ने हो भने सरकारले संरक्षण गर्नुपर्दैन?' उनको आग्रह छ,'यो काममा ढिलाई गरे संगीतका ती कालजयी सम्पदा यही कालमा नासिनेछन्। यथासक्य ती अमूल्य सपत्तिलाई डिजिटाइज गरेर सुरक्षित गर्न जरुरी छ।'

प्रकाशित: २९ फाल्गुन २०७१ १९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App