उनीहरूले कहिल्यै ‘भ्यालेन्टाइन्स डे' मनाएनन्। तर हरेक दिन उनीहरूका लागि भ्यालेन्टाइन्स डेभन्दा कम्तीको बनेको छैन। प्रेम कसैलाई गर्छु भनेर भनिने चिज होइन, यो त गरिने हो— व्यवहारमा। उनीहरू पनि ‘म तिमीलाई माया गर्छु' भनेर भन्दैनन्। त्यसैले होला शकुन्तलालाई ज्वरो आउँदा हरिहरलाई छटपटी हुन्छ। हरिहरलाई दुख्दा शकुन्तला पीडामा हुन्छिन्। ‘जीवनभर सद्व्यहवार र सद्आचरणले माया गर्दै छु,' जीवन जिउने सूत्रबारे हरिहरले सुनाए, ‘एकापसको समझदारी नै ठूलो कुरा हो। मैले गरेको यो मायालाई उनले राम्रोसँग बुझेकी छिन्, त्यही भएर जिन्दगी रमाइलो बनेको छ।'
श्रीमान्–श्रीमतीमा कहिलेकाहीँ असमझदारी हुनु स्वाभाविक हो। एक छिन ठुस्स परे पनि नफकाई–नबुझी धरै छैन। तर, हरिहरलाई श्रीमतीको आवाज कहिल्यै नमिठो लागेन। ‘बरु झनै मधुर,' उनी हाँस्छन्, ‘अझै प्यारो नै लाग्यो।'
०२५–२६ सालतिर रेडियोमा सुनिने शकुन्तला गुरुङको आवाज मन पराउने हजारौं स्रोतामध्ये एक थिए, हरिहर शर्मा। ०३३ सालमा आइपुग्दा उनी आफूलाई ‘भाग्यमानी स्रोता' बन्न पुगेको बताउँछन्। ‘उनलाई मन पराउने हजारौंमध्ये सँगै जिउन पाउने भाग्यमानी मै हँु,' तीलचामले जुँगा उचाल्दै उनको ओठ हाँस्यो, ‘अहिले त मलाई उनको र उनलाई मेरो आवाज उत्तिकै प्यारो लाग्छ।'
उनीहरू मायामा समर्पण, विश्वास र त्याग हुनुपर्ने बताउँछन्। यसले मायालाई अजम्बरी बनाउँछ। शकुन्तलाको नजरमा हरिहर सबथोक हुन्। ‘उहाँ मेरो साथी, बाउ, आमा, श्रीमान् सबै हुनुहुन्छ,' उनलाई भ्यालेन्टाइन गिफ्टको मतलब छैन, ‘उनी नै मेरो जिन्दगीको सबैभन्दा ठूलो उपहार।'
काठमाडौंको लाजिम्पाटस्थित आफ्नै घरमा बसेकी केटीलाई डेरामा ल्याएर राख्नुपर्दा त्यति बेला हरिहरलाई असजिलो लागेको थियो। तर, शकुन्तलाले माइतीको फराकिलो सुख साँघुरो डेरामा कहिल्यै खोजिनन्। शकुन्तालको यो व्यवहारले हरिहर झनै प्रभावित भए। ‘मैले जुन कुराले अफ्ठ्यारो महसुस गरेको थिए,' हरिहरले भने, ‘तर उनले त्यो महसुस हुनै दिइनन्।'
०३० सालतिर त्यस बेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा काम गर्दा हरिहर–शकुन्तलाबीच प्रेमको अंकुर भइसकेको थियो। त्यसको तीन वर्षपछि ०३३ सालमा उनीहरूले मागीबिहे गरे। अन्तरजातीय विवाहलाई अहिलेको समाजले पनि कतिपय ठाउँमा तगारो हाल्ने गरेको छ। गुरुङ र ब्राह्मण समुदायको विवाहलाई चार दशकअघिको समाजले कसरी पत्याउँथ्यो? शकुन्तलाका बुबाआमाले सुरुमा केही अफ्ठ्यारो मानेका थिए। तर उनीहरूको स्वच्छ–प्रेमको अगाडि कसैको केही लागेन। शकुन्तला सुनाउँछिन्, ‘दाइले साथ दिनुभएकाले मात्रै हामीलाई सजिलो भयो।'
शकुन्तलाको आवाजबाट हरिहर प्रभावित भएजस्तै शकुन्तला हरिहरको ‘कन्भिन्सिङ पावर'बाट पुलकित भइन्। ‘उहाँको नाट्य अभिनय पनि निकै राम्रो थियो,' उनी आफूलाई संसारकै सबैभन्दा भाग्यमानी ठान्छिन्, ‘उहाँ नै सबैभन्दा राम्रो र ज्ञानी लोग्नेमान्छे हो।'
पछिल्लो पुस्ताको व्यवहार नियाल्दा माया यान्त्रिक बन्दै गएको हो कि झैं लाग्दो रहेछ उनीहरूलाई। ‘मायामा लेनदेन भयो भने त्यो टिकाउ हुँदैन। प्राविधिक रूपमा गरिने प्रेम दुःखदायी हुन्छ,' हरिहर भन्छन्, ‘निस्वार्थ र साँचो मनले गरिने मायाले जिन्दगीभर सुख दिन्छ।'
उनीहरू दुवैले नाटक, टेलिफिल्म र सिनेमा गरी ६०–७० वटामा सँगै अभिनय गरे। त्यसमा उनीहरू खुबै रमाए। कतिपयमा नाटकमा प्रेमकथा हुन्थ्यो कतिमा विछोड। शकुन्तलाका कोसँग जुधौं, मानिस र मुकुन्डो, पहाड चिच्याइरहेछ, फर्केर हेर्दा, कंकाल, च्यातिएको पर्दा, पर्खालभित्रजस्ता दर्जनौं नाटक चर्चित छन्। शकुन्तलाले विक्रमको तीसको दशकमा फिल्म हिजो, आज र भोलि तथा बदलिँदो आकाशमार्फत निकै चर्चा पाइन्। उनले हरिहर शर्मासँगै ‘वासुदेव'मा पनि काम गरिन्।
‘हामीले थुप्रै नाटकमा माया गरेका छौं,' हरिहर गम्भीर हुँदै बोले, ‘तर मायामा कहिल्यै पनि नाटक गरेनौं।'
एक–अर्कामा विश्वास र खुसीको लागि आफू समर्पित रहे सबैसँग सम्बन्ध मधुर बन्ने उनको अनुभवले बताउँछ। सम्बन्धलाई गतिशील बनाउन समझदारी, विश्वास र आपसी प्रेम नै महत्वपूर्ण हो— शर्मा दम्पतीको बुझाइ छ।
मान्छेको जीवन न हो इच्छा–आकांक्षा भई नै हाल्छ। उनीहरूका पनि थुप्रै आकांक्षा थिए। छन्। तर उच्च महत्वाकांक्षाको लोभ कहिल्यै नगरेको शकुन्तलाले सुनाइन्। ‘हामीमा दर्बिलो बनाउने र सँगै गाँसिरहने समझदारीले नै हो,' दुवै मुस्कुराए, ‘यो समझदारी जीवनभर अझै झाँगिदै जानेछ।'
प्रकाशित: १ फाल्गुन २०७१ २२:१३ शुक्रबार




-600x400.jpg)
