२ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

‘आइती र खोखेडा'

माम्बारे खोलाको पानी हरियो छ। यहाँ माछा गजब पाइन्छ, विशेषगरी साल्मन। ओसाकामा मलाई कामिनागा सानले ख्वाएका थिए। मिठो मानीमानी सकेपछि थाहा भयो, त्यो त काँचै रहेछ।
कोकोदामा माछा मार्ने तरिका रमाइलो छ। खोलाको भँगालोमाथि उक्लिन साल्मन उफ्रिँदा रहेछन्। त्यही बेला फिल्डरले झैं माछा च्याप्प पार्न पर्ने। भाँडो नथाप्ने, हातैले समात्ने। जसले धेरै समात्छ, उही च्याम्पियन। प्रतिस्पर्धा नै हुने।

गाउँभन्दा टाढा यही खोलामा उफ्रेका माछा चैं भालुले च्याप्प पार्दा रहेछन्। मैले यो सुनेको थिएँ। फोटो खिच्ने इच्छा थियो। बेचना मसँग जान डराउँथ्यो। मचाहिँ उबाहेक कसैसित जान नसक्ने। किनभने बाहिरियासित यहाँका रैथाने घुलमिलै नहुने, भाषामा पनि जटिलता। त्यो ठाउँ पुग्न लगभग तीन घन्टा डुंगाको सफर, काठको पातलो डुंगामा।
बेचना बेलाबेला आइतीलाई जिस्क्याउँदो रहेछ, ‘हाम्रो दाइलाई भालुले माछा च्यापेको देखाउन लगिदेऊ त।'
कोकोदा नजिकैको माम्बारे खोलामा त म पनि जान्थेँ कहिलेकाहीँ एक्लै क्यामेरा बोकेर।
–––

बिहानै ६ बजे ब्युँझिएँ। आज रेडियो खोलिनँ। बेचना ब्युँझेला भनेर। क्यामेरा ब्यागमा ५०० को टेली लेन्स हालेँ र १८–७० को अर्को लेन्स क्यामेरामा फिट गरेर हिँडे माम्बारेतिर। आज अलि माथिसम्म जाने निधो गरेँ। जंगलको बाटो एक्लै डर पनि लाग्यो। बाटोमा किङफिसर चरो देखियो। माछा च्यापेर बसेको रहेछ सुख्खा रूखको टुप्पोमा। यसको मतलब खोला नजिकै छ। लेन्स फेरेँ र किङफिसर ताकेँ। चरो अलि सतर्क थियो। मलाई देखिसकेको थियो त्यसले। तर पनि भागेन। मलाई प्रशस्तै फोटो खिच्ने मौका दियो। यताको किङफिसर नेपालका भन्दा अलि ठूला। किङफिसरको रङरोगन मलाई डाँफेझैं लाग्छ। त्यसले माछा निल्छ कि भनेर लेन्सबाटै हेरिरहेँ। एताउता हेर्थ्यो, तर निल्थेन। माछा च्यापेको च्यापै। लेन्सको फोकस मिलाउँदै हेर्दै थिएँ, किङफिसरको त माछा उछिट्टिएर माथि गयो, केही भुत्ला उडे, किङफिसर चैं एक्कासि भुइँमा फ्यात्त झर्योा। क्यामेरा घाँटीमा भिरेर एताउता हेरेँ, केही देखिएन। फेरि टेलीलेन्सबाटै किङफिसरलाई हेरेँ, उसको हल न चल प्राणपखेरु उडिसकेको झैं थियो। 

के भयो? अलि नजिक गएर हेर्न मन लाग्यो। सुकेका पात चर्मराए, म हच्किएँ। किङफिसरको बहानाबाजी पो हो कि? उड्ने पो हो कि फेरि! एक छिन लेन्सबाटै हेरिरहेँ त्यसलाई। अझै हल न चल थियो।
लेन्सको फ्रेमभित्रै एक्कासि आइती देखा परी। उसको एउटा हातमा गुलेली थियो। म रूखको पछिल्तिर लुकेँ। आइतीले त्यो किङफिसरको पखेटाको टुप्पोमा समाएर झुन्ड्याई। किङफिसरको टाउकोसमेत तुर्लुङ्ङ झुन्डियो। अचम्म लाग्यो, आइती यसरी सिकार गर्दिरहिछे। मैले त्यो दृश्य दिमागमै कैद गरेँ, क्यामेरामा गरिनँ। किनभने आइतीले कहिले पनि तस्बिरको लागि अनुमति दिएकी थिइन।
म साल्मन हेर्न नगई त्यहीँबाट फर्किएँ। घर पुगेर बेचनालाई नास्ता तयार गर्न भनेँ। बेचनाले रोटी र चिया ल्याएर टेबुलमा राखिदियो। म चुपचाप लेन्स पुछ्दै थिएँ। स्त्रि्कनमा किङफिसरको अन्तिम तस्बिर हेर्दै थिएँ। जुम गरेर बेचनालाई सोधेँ, ‘यो चरालाई यहाँ के भनिन्छ?'
‘खोखेडा।'
‘यसको मासु कस्तो हुन्छ?'
‘तिख्खर हुन्छ। यो खाएमा शरीरभित्र गर्मी हुन्छ भन्छन्। पावर बढ्छ रे। मैले पनि एक–दुईपटक खाएँ। तर त्यस्तो केही अनुभव भएन,' तरकारी काट्दै बेचना सुनाउँदै थियो।
‘यसको कत्तिको सिकार गर्छन्।'
‘खोजीखोजी त गर्दैनन्। केटाकेटीले देखे मार्छन्। रंगीचंगी भएर पनि होला। यसले खाने नै माछा हो। खुब फुर्तिलो हुन्छ। नदी किनार चुपचाप रूखमा बसिरहन्छ, माछा देखे गोलीझैं पानीभित्र छिर्छ। मिसै गर्दैन।'
‘महिलाहरू कत्तिको सिकार गर्छन्?'
‘महिलाहरू सिकार गर्दैनन्। उनीहरू खोखेडा खाँदैनन् पनि।'
‘किन?'
‘खै, खान हुँदैन भन्छन्। लोग्ने कमजोर हुन्छ भन्ने छ।'
‘लुकीलुकी सिकार गर्छन् कि, कसै कसैले? हामीलाई थाहा नहुन पनि त सक्छ।'
‘यस्तो रूढीमा यहाँका मानिस कट्टर हुन्छन्।'
‘महिलाले सिकार गरे के हुन्छ?'
‘उनीहरूलाई त केही नहोला, तर समाजले विरोध गर्छ।'
‘भन्नाले?'
‘खै, निकै वर्षअघि एउटा किशोरीले केटा साथीहरूसँगै मिलेर जंगली कुखुरा मारेकी रहेछ, गाउँलेले थाहा पाएर अशुभ भन्दै गाउँ निकाला नै गरेछन्। त्यही वर्ष गाउँमा बिरामी भएर नौ जना मरेछन् पनि।'
‘अहिले पनि निकाल्छन् त?'
‘भनँे नि, गाउँले कट्टर छन् भनेर।'
आइती र किङफिसरको कथा मैले बेचनालाई सुनाइनँ। किनभने ऊ पनि यही समाजको लोग्ने मानिस थियो। बरु उसलाई मैले कथा सुनाएँ, ‘नेपालको मेरो गाउँ राजधानीबाट ठ्याक्कै दुई सय किलोमिटर पश्चिममा पर्छ। त्यहाँका रैथाने साह्रै सोझा मिलनसार सहयोगी र शान्तिप्रिय समुदायका। मेरो बाजे पहाडबाट सरकारी जागिरमा खटिएर त्यो भेगमा पुगेका थिए। तिनीहरूको सद्भावले बाजेले पनि त्यतै घरखेत जोडे। उर्वरा जमिन। फसल साह्रै राम्रो हुने। तिनमा महिला–पुरुष भन्ने भेदवाभ छैन। उहिलेदेखि नै सबै समान। शारीरिक क्षमताअनुसार आ–आफ्नो काम गर्छन्। दुवैले हलो जोतेको पनि देखेको छु। दुवैले घर लिपेको पनि देखेको छु। माछा मार्ने, सिकार खेल्ने, बालबच्चा हेर्ने सबैले सँगै गर्छन्। दोहोरी नाचगान गर्थे। दोहोरी गीत चल्दाचल्दै गीतैमार्फत पक्कापक्की भएर बिहे गरेको पनि देखेको छु। भेडा काटेर भोजै खायौं। केटाले केटीमात्रै होइन, केटीले केटा पनि भगाउँथे। परम्परा नै भेदभावविहीन र समावेशी। तिनलाई कसैले सिकाएको होइन, त्यो समुदायमा शिक्षा शून्यसरह थियो। लेखपढ नजान्ने तिनको आफ्नै पाराको हरहिसाब हुन्थ्यो। रमाइलो केसम्म भने, कसैकसैको त सानैमा बिहे पक्कापक्की हुन्थ्यो र वयस्क भएपछि बिहेबारी पनि हुन्थ्यो। तर पनि जबरजस्तीचाहिँ थिएन। हरेक निर्णय उनीहरूको आपसी समझदारीमै हुन्थ्यो। अ–अदालत, प्रहरी प्रशासनको पहुँच थिएन, आवश्यकता पनि थिएन। ड्रेस लगाएका पुलिस नौलो हुन्थे। कुनै पनि विवाद गाउँका पाकाहरू बसेर छिनोफानो गर्थे। कुरा त्यहीँ सल्टाउँथे। समूहको निर्णय सर्वमान्य हुन्थ्यो। मैले देखे–सम्झेको कुनैमा पूर्वाग्रह भेटिन। समाज कतिसम्म उदार, सरल र भद्र थियो भने एकपटक पल्लो गाउँबाट आएका मझिला दाइले आफ्ना बालबच्चाको परिचय गराउँदा भने, ‘यो बड्कीको बा सिमरामा छ, मझिलीको बा भँडरामा, सझिलाको पर्सौनी र यो कान्छो मै पट्टिको हो।' र, ती सबै बालबच्चा र श्रीमतीप्रति उनको उत्तिकै माया ममता र जिम्मेवारी थियो। पुरुषको बहुविवाहलाई सरल लिइन्छ भने महिलाको किन नलिने? यसले महिला अधिकारमाथिको बराबर सम्मान पनि दर्शाउँछ। शिक्षा नपाएको यो भेगका महिलालाई अधिकारका लागि लड्नुपरेकै थिएन। तर अहिले यो समाज फेरिएको छ।
‘नेपालमा श्रीमतीलाई कत्तिको पिट्छन्?' बेचनाले सोध्यो।
‘यहाँभन्दा कम। तर महिलालाई उजुरी हाल्ने अधिकार छ। हालेका पनि छन्। अपराधी श्रीमानले सजाय पाएका पनि छन्।

–––
एक रात आइती एक्कासि मेरो ढोकामा आइपुगेकी थिई। पूरै शरीर निथ्रुक्क। ओठ काँपिरहेका। आँखा राताराता। सास लामोलामो। उसका बायाँ काँधमा च्यात्तिएको लुगाभित्र आलो घाउ। रगत बगिरहेको। शरीरभरि राता टाटा। खाली खुट्टाबाट पानी तर्किरहेछ। भित्र छिरी, ढोका लगाई र त्यहीँ थ्याच्च बसी। म बेचनालाई उठाउन चाहन्थेँ, ऊ डराउँथी। बाहिर हावाहुरी पानी दर्किरहेको थियो। मैले उसको कुमको घाउ सफा गरेर बेटाडिन लगाइदिएँ। ल्यापटपमा स्रेक एनिमेटेड सिनेमा हेर्दाहेर्दै त्यहीँ ढोकामै निदाएकी थिई आइती।
टाउको उठाएर तकिया राखिदिएँ। पातलो ब्ल्याङ्केट ओढाइदिएँ। टर्च लाइट र सोलार बत्ती बलेका थिएनन्। अँध्यारो कोठामा ल्यापटपको उज्यालोमात्रै थियो। त्यही उज्यालोमा आइतीलाई हेरिरहेँ। के भएको होला? लडेको भए यहाँ किन आउँथी? कसैले आक्रमण गरेको हुनुपर्छ पक्कै। कसले हुन सक्छ? श्रीमान्ले? यहाँ त श्रीमानले पिट्ने चलन पनि छ। श्रीमान्ले पिट्दा कसैले केही भन्दा रहेनछन्। श्रीमान्ले पिट्दैमा यहाँ किन आउँथी? धेरै आक्रामक भयो कि? पल्लो कोठामा बेचना सुतेको थियो। बेचनालाई पनि उठाउन दिइन। उसैले कुरो बुझ्थ्यो। अहिले उठाऊँ भने पनि ढोकैमा सुतेकी छे, खोल्नै नमिल्ने। बेचनालाई किन नउठाउनु भनेकी होला? झ्यालबाट गएरै भए पनि बेचनालाई उठाउनुहुन्थ्यो, न उसैसँग डराएकी पो हो कि? के गर्थ्यो र बेचनाले? मेसो पाउनै सकिएन के भएको होला। ल्यापटपको ब्याट्री पनि अब त सकिनै लाग्यो। अनि के बाल्ने? के गर्ने? बिहान मेरो कोठामा यो अवस्थामा महिला देखिए के भन्लान्? के भन्ने? सही कुरा कसले पत्याउने? उसको श्रीमान्ले नै पिटेको भए भोलि झनै बबण्डर मच्चाउने भयो। आइती सुतेको सुतै भए जटिल समस्या समाधानहिन नै हुन्छ। तर उसलाई केही नहोला। ल्यापटप पनि निभ्यो। झनै डर र चिन्ता थपियो। टाउकोमा चोटपटक त थिएन नि? बाहिर त थिएन, भित्र भए? भित्र भए त वान्ता गर्नुपर्ने अहिलेसम्ममा। अहिलेसम्म त गरेकी छैन, तर गर्नेबित्तिकै ढोका फोडेर भए पनि बेचनालाई उठाउँछु। आफू त निदाउनै भएन। अँध्यारोमा गरी भने कसरी थाहा हुन्छ त? छाम्ने। यो चुक घोप्टाएझैं अँध्यारोमा छामछुम गर्दा झनै ब्युँझिएर चिच्याउने पो हो कि? ब्युँझिएको त झनै राम्रै हो नि। सुतेको सुतै पो हुनु भएन त। कतिकति बेरमा छाम्ने त फेरि?
अनेकन् चिन्ता। समाधान बेचनासँगै छ। भाषा पनि उसैले जानेको, बत्ती पनि उसैसँग छ।
बेचनाको कोठा र मेरो कोठाको बीचमा भान्छा छ, भित्ता ढकढकाए उसले सुन्दैन। झ्यालबाट जानुपर्ने भयो। जाली लगाएको झ्याल डेढ फिटको होला, जाली च्यात्नै पर्‍यो। झ्यालबाट जमिन करिब दश फिट तल छ, टाउको छिराएर निस्कँू भने टाउकैले बजारिने, एउटामात्रै खुट्टा निकाल्न नसकिने। बाहिर पानी थामिएको छैन। म मेरो ओछ्यानमै छु। कति बज्यो होला? घडी ब्याट्रीबाटै चल्ने भए पनि डिजिटल थिएन। विद्युतीय उपकरणमा निर्भर हामी विद्युतविना थला नै पर्नेछौं। म थला परेँ। ओछ्यानमा पल्टिएरै सोच्न थालेँ, अब के गर्ने भनेर।
फेरि झल्याँस्स भएँ। उठेर छामछुम गर्दै क्यामेराको ब्याग समातेँ। फ्ल्यास निकालेँ र अन गरेँ। फ्ल्यास झिलिक्क पारेँ। आइती ढोकामै मस्त सुतेकी थिई। वान्ता गरेकी थिइन। ढुक्क भएँ। बिहान पौने तीन बजेको रहेछ। आइती अझै एक छिन सुतोस्। चार बजे बेचनालाई उठाउँछु। फेरि ओछ्यानमै पल्टिएँ। पानी दर्केको दर्कै, म भुसुक्कै सुतेँछु।
एक्कासि चट्याङले ब्युँझायो। आँखा उघि्रए। जर्याककजुरुक उठेँ। कोठामा उज्यालो थियो। झल्याँस्स आइती सम्भि्कएर ढोकामा हेरेँ, आइती थिइन। लौ कता गई? के भो? आँखा मिचेर हेरेँ। स्याभ्लोन, कटन, बेटाडिन ढोकामै थिए। मेरो सिरानीमा क्यामेराको फ्ल्यास थियो। आइतीलाई राखेको तकिया र ब्ल्याङ्केट ढोकामै असरल्ल थिए, आइतीमात्रै थिइन। घडी हेरेँ, सात बजेको रहेछ। सपनाजस्तो। आइती आएकै हो किनभने तकिया र ढोकानिरको भुइँ चिसै थियो। अब बेचनालाई भन्ने कि नभन्ने? त्यतिखेरै किन नउठाएको भने के भन्ने? आइतीले नमानेको त हो नि। तर बेचनालाई उठाउन किन मानिन त? कतै बेचनाकै पनि सहभागिता त थिएन यसमा? बाहिर केही चहलपहल छ कि भनेर बिस्तारै ढोका उघारेँ। सुनसानै थियो। घरमा बेचना पनि थिएन।

प्रकाशित: ३१ आश्विन २०७१ २२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App