१५ श्रावण २०७८ शुक्रबार
अन्य

स्वादिलो लिट्टीचोखा

तराई मधेसको प्रसिद्ध परिकार लिट्टीचोखा काठमाडौंको झोँसे गल्लीमा पाउन थालेपछि यसका पारखी दंग परेका छन्। तराई मधेसका विशेषगरी देहात (ग्रामीण) क्षेत्रका हजुरआमाहरूले निकै परम्परागत मरमसला प्रयोग गरी लिट्टीचोखा बनाउँछन्। यसमा प्रयोग गरिने मसला जडिबुटीबाट बनाइन्छ। जनकपुरका पंकज कुमार साहले झोँसेमा जनकपुर जानकी लिट्टी भण्डार खोलेर विगत डेढ दशकदेखि सहरियालाई लक्षित गरेर फ्राई लिट्टी बेच्दै आएका थिए। कोरोना महामारीको उच्च जोखिम काठमाडौंमा बढ्दै गइरहेको अवधिमा पनि यहाँ बस्ने मधेसी समुदायले परम्परागत लिट्टीचोखा बनाउन उनलाई सुझाए।  

यो परिकार तराईमा गोबरको गुइँठामा पोलेर बनाइन्छ। यस्तो परम्परागत मधेसी परिकार काठमाडौंका बासिन्दाले रुचाउने हुन् वा होइनन् भन्नेमा पंकजलाई सुरुमा केही दुविधा थियो। उनले पहिलो दिन लिट्टीचोखा बनाउँदा खान आउनेमा मधेसी समुदायभन्दा पहाडी समुदायकै बढी थिए।  

पंकजले विगत तीन महिनादेखि ग्राहकको सुझाव अनुसार पत्थर कोइलामा पोलेर लिट्टीचोखा बनाउन सुरु गरेका छन्। ‘आज मेरा ग्राहक काठमाडौंका स्थानीयवासी नै बढी छन्,’ पंकज भन्छन्, ‘हाल मेरो लिट्टीचोखा पसलमा अरू आइटमभन्दा पनि पोलेको लिट्टीचोखा बढी बिक्छ। मेरा ग्राहकले पाटीमा समेत राख्न थालेका छन्। यसमा प्रयोग गरिने मसला स्वास्थ्यलाई निकै फाइदा गर्छ।’ गत साता पंकजको पसलमा लिट्टीचोखा खाँदै थिए, असनका दिलेश श्रेष्ठले। ‘पहिलोपटक पोलेको लिट्टी चोखा जनकपुर जानकी लिट्टी भण्डारमा खाँदा धेरै स्वादिष्ट लाग्यो,’ श्रेष्ठले भने, ‘यसमा प्रयोग गरिने ज्वानो, मंगरइलो, लसुन, अदुवा आँपको अचार लगायत मसलाले मेरो खोकी कम भएको महसुस भयो।’ आफ्नी छोरीको जन्म दिनमा लिट्टीचोखा पनि राखेको उनले बताए। उनी भन्छन्, ‘सबैलाई मनपरेको थियो।’

कसरी बनाइन्छ लिट्टीचोखा ?

पंकजका अनुसार, परम्परागत पोलेको लिट्टीमा मुख्य रूपमा चनाको सातु र गहुँको पिठो आवश्यक पर्छ। लिट्टी बनाउन सबैभन्दा पहिले गहुँको पिठोलाई एउटा भाँडोमा राखेर तीन चम्चा शुद्ध घिउ र थोरै नुन हालेर मिलाउनुपर्छ। त्यसपछि अलिअलि पानी हालेर मुछ्ने, पिठो मुछ्दा अलि कडा नै हुनुपर्छ। किनभने नरम पिठोमा लिट्टी राम्रोसँग पोल्न सकिँदैन। तीन कप पिठोका लागि डेढ कप चनाको सातुलाई एउटा भाँडामा राख्ने अनि एउटा ठूलो साइजको प्याज मसिनो गरी काटेर सातुमा मिलाउने। त्यसपछि सोही सातुमा मसिनो गरी काटिएको लसुन, अदुवा, स्वाद अनुसार हरियो खुर्सानी र धनियाँको पात हाल्ने। 

त्यसपछि सातुमा आधा चम्चा मंगरइलो, आधा चम्चा ज्वानो, स्वाद अनुसार कागतीको झोल, आँपको अचार, बिरेनुन, सेतो नुन स्वाद अनुसार, तोरीको तेल २ चम्चा हालेर सातुमा सबै मसला राम्ररी मिक्स गर्नुपर्छ। अन्तमा थोरै पानी हालेर सातुलाई सफा हातले मुछेर तयार पारिन्छ। ‘सातुमा तोरीको तेल र आँपको अचारको मसलाले निकै स्वाद बढाउँछ,’ पंकज भन्छन्, ‘त्यसपछि मुछिएको पिठोबाट पुरीको साइजको भाग लिएर दुवै हत्केलाको बीचमा डल्लो बनाउने अनि कचौरा जस्तो गहिरो आकार दिने। त्यसपछि तयार पारिएको सातु भरेर डल्लो बनाउनुपर्छ,’ उनी भन्छन्, ‘पथर कोइराको आगोमा बिस्तारै उल्टाउँदै पल्टाउँदै पोल्नुपर्छ। यसरी पोलेको लिट्टीलाई शुद्ध घिउमा डुबाएर चोखासँग खानुपर्छ। निकै स्वादिलो हुन्छ।’

चोखा बनाउने तरिका  

एउटा भान्टा, दुईवटा टमाटर र दुईवटा आलुलाई ठिक्क पाक्ने गरी आगोमा पोल्ने। पाकेपछि बोक्रा निकालेर सबैलाई एकै भाँडोमा राखेर मुछ्ने। त्यसपछि हरियो खुर्सानी, लसुन र अदुवालाई मसिनो गरी काटेर चोखामा मिलाउने। त्यसमा स्वाद अनुसार नुन हाली अन्तमा एउटा प्यानमा तोरीको तेल तताएर रायो फुराएर तरका लाउनुपर्छ। 

प्रकाशित: ७ चैत्र २०७७ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App