२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्य

एआई नियमन माग्दै मन्त्रालयअगाडि ३० रोबोटको प्रदर्शन

पोल्याण्डको राजधानी वार्सामा एआई नियमनको माग गर्दै करिब ३० रोबोटले प्रदर्शन गरेका छन्।

सोमबार डिजिटल मामिला मन्त्रालयअगाडि रोबोटहरूले झण्डा बोकेर प्रदर्शन गरेका हुन्। ‘एआई र रोबोटाइजेसनले श्रम बजारमा पार्ने प्रभावबारे बहस सुरु गर्ने’ उद्देश्यले डेमोक्रेटिज्मले प्रदर्शन आयोजना गरेको थियो।

प्रदर्शनमा मानवरूपी रोबोटदेखि कुकुरजस्ता चार खुट्टे रोबोटसम्म सहभागी थिए। ‘कामको रक्षा गरौँ’, ‘नियम बनाउने समय भयो’ र ‘नपर्खौँ, नियमन गरौँ’ जस्ता नारा लाउडस्पीकरमार्फत बजाइएको थियो।

एआईबाट चल्ने मानवरूपी रोबोट एजिबोट ए३ ले प्रदर्शनमा सहभागी रोबोटहरू प्रविधि अहिले नै वास्तविकतामा आइसकेको देखाउनका लागि रहेको बताएको थियो।

आयोजक ग्र्जेगोर्ज कुलिसले मानवरूपी रोबोट र एआईका कारण मानिसको रोजगारी विस्थापित हुन सक्ने विषयमा ध्यान दिनुपर्ने बताए। ‘अहिले नै प्रतिक्रिया नदिए चाँडै समस्या आउन सक्छ,’ उनले भने। उनले कामदारको सुरक्षा गर्न स्पष्ट नियम आवश्यक रहेको बताए।

रोबोटहरूको प्रदर्शनले सर्वसाधारणको ध्यान समेत तानेको थियो। कुलिसले रोबोटको प्रयोग उनीहरूमा रहेको क्षमता र विषयको गम्भीरता देखाउन गरिएको बताए। ‘यी रोबोटहरू आफैं हिँडडुल गर्न सक्छन्, उनीहरू अहिले नै ‘प्रदर्शन’ गरिरहेका छन्,’ उनले थप भने।

प्रदर्शनस्थलमा पोल्याण्डका डिजिटल मामिला मन्त्री क्रिजिस्टोफ गाव्कोव्स्की पनि पुगेका थिए। सो अवसरमा उनले रोबोटमा प्रयोग गरिने र भविष्यमा अझ विकसित हुने अनियन्त्रित एआई मोडेल ठुलो समस्या बन्न सक्ने बताए।

कुलिस रोबोटिक्स कम्पनीका प्रमुख र रोजगार एजेन्सीका प्रमुख पनि हुन्। उनले श्रम बजारसम्बन्धी परिषद्मा दुई कार्यकाल काम गरेका थिए।

जुलाईमा पोल्याण्डका राष्ट्रपति कारोल नौरोकीले युरोपेली संघको एआई ऐन कार्यान्वयन गर्नेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका थिए। उक्त कानुनले ईयूका विद्यमान एआई नियम कार्यान्वयन गर्न राष्ट्रिय निकाय गठन गरेको छ। एजेन्सी

प्रकाशित: २३ भाद्र २०८३ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App