८ वैशाख २०८१ शनिबार
अन्य

टोड्के

रोमान्स विथ धौलागिरि

म्याग्दी जिल्लाको पहाडी थुम्को टोड्केबाट देखिएको धौलागिरि हिमसृङ्खला। तस्बिर: अमृत भादगाउँले

म्याग्दीको एउटा सुन्दर पहाडी थुम्को (२,४०० मिटर)। प्रकृति र अध्यात्मको दोभान। शान्त वातावरण, दूधे हिमाल र शीतल हावा। मोहितै तुल्याउने सौन्दर्य। डाँडाबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्। बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुन्छ। बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीले अति राम्रा देखिन्छन् हिमालहरू।  

टोड्केको रोमान्टिक वातावरणमा तन र मन रिचार्ज हुन्छ। ऊर्जा बढ्छ। हिमाली  मुस्कान, चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ। बर्सात्मा भुइँकुहिरोले लुकामारी खेल्छ। जमिन भुइँफूलले रंगीन बन्छ। पुस–माघमा सेताम्मे हिउँ पर्छ। फागुन–चैतमा लालीगुराँसको बैंस चढ्छ। त्यतिबेला मन उज्यालो बन्छ।    

टोड्केलाई योग र ध्यान केन्द्रका रूपमा विकास गर्न सकिन्छ। आध्यात्मिक हिसाबले टोड्के क्षेत्रको ठूलो महत्व छ। पुराणहरूमा कालाञ्जर पर्वतको वर्णन पाइन्छ। टोड्के पनि कालाञ्जर क्षेत्रमै पर्छ। स्वर्गद्वारी महाप्रभु लगायत धेरैले यहाँ तपस्या गरेका थिए। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ। 

म्याग्दी सदरमुकाम बेनी बजार मास्तिरको सुन्दर पहाडी थुम्को ‘टोड्के’ प्रकृति र अध्यात्मको दोभान हो। डाँडामा बसेर धौलागिरि हिमालसँग आँखा जुधाउँदा तन र मनमा ऊर्जा भरिन्छ। त्यसैले मनसुन सकिएपछि टोड्के यात्रा गर्ने कि ! 

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगममा पर्छ टोड्के। टोड्के डाँडाको काखमा सुन्दर गाउँहरू छन्। पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिणपश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन्। मगर बाहुल्य गाउँमा होमस्टे सुविधा पाइन्छ।  

पहिलापहिला टोड्केमा झीँ र पूर्णगाउँको गाईगोठ राखिन्थ्यो। आलु र मुला खेती गरिन्थ्यो। डाँडाको नाम टोड्के रहनुमा एउटा कथा छ। टोड्केको अर्थ प्वाल हो। जंगलमा ५० मिटर लामो सुरुङ छ। त्यो प्वालमा गाईवस्तु अड्किन्थे। तिनलाई बाघभालुले खाइदिन्थे। गाउँलेले टोड्को भएको ठाउँ भन्दाभन्दै ठाउँकै नाम टोड्के रहन गयो।  

डाँडामा दुई रात बसेर रमाउन सकिन्छ। मधुमास मनाउन टोड्के उत्तम गन्तव्य बन्न सक्छ। त्यसैले डाँडालाई ‘हनिमुन डेस्टिनेशन’का रूपमा ब्राण्डिङ गर्ने कि? टोड्के आफैंमा रोमाञ्चक गन्तव्य हो। आज यहाँ एउटा रिसोर्ट खुलेको छ। भोलि अरू पनि खुल्नेछन्। टोड्केको पर्यटन विकाससँगै वरपरका गाउँको पनि कायाकल्प हुनेछ। त्यसैले बेनीदेखि टोड्के जोड्ने सडक कालोपत्रे गरिहाल्नुपर्ने देखिन्छ।  

शिवालय  

टोड्केको थाप्लोमा तपोवन शिवालय संन्यास आश्रम छ। आश्रममा मन्दिर, गाईगोठ र सन्त निवास छन्। यहाँ नित्य शिव पाञ्चायनको पूजा गरिन्छ। शिवलिंग, त्रिशूल, खराउ लगायतलाई पूजिन्छ। शिवालयमा साउन महिनामा गाउँलेले रुद्री पूजा लगाउँछन्। राम नवमीमा हवन गरिन्छ।  

शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो। यहाँको खराउ स्वर्गद्वारी महाप्रभुको भएको मानिन्छ। विसं १९१६ मा रोल्पाको रुम्टीमा जन्मेका महाप्रभु २० वर्षको उमेरमा जन्मस्थलबाट हराए। विभिन्न ठाउँमा ध्यान र तपस्यामा बसेर उनी ३५ वर्षको उमेरमा गाउँ फर्के। त्यो बीचमा टोड्केमा बसेर उनले साधना गरेका थिए।  

विसं १९६० को दशकदेखि टोड्केमा महाप्रभुका शिष्यले योग तथा ध्यान गर्दै आएका छन्। यहाँ विसं १९७० को दशकबाट महात्माहरू स्थायी रूपमा बस्न थालेका हुन्। महाप्रभुका शिष्य थन्थापे महाराज (महेश्वरानन्द गिरि) र त्रिशूली महाराज (परमानन्द गिरि)को तपस्थल पनि टोड्के हो। तिनै थन्थापेले विसं १९७० को दशकमा कुटी र शिवालय स्थापना गरेका। शिवालयका नाउँमा १५ रोपनी जमिन छ।  

स्वर्गद्वारी आश्रमका आध्यात्मिक चिन्तक ध्रुुवश्रीका अनुसार टोड्केमा मन्दिर बनाउने योजना छ। अनि त्यहाँ महाप्रभु र उनका दुई शिष्यहरू पूजारी महाराज र रखाल महाराजका मूर्ति पनि राखिनेछ। दुवै शिष्य स्वर्गद्वारी महाप्रभु समान सिद्ध थिए। उनलाई थन्थापे र त्रिशूली महाराजले पनि गुरुतुल्य मान्थे। हाल आश्रममा एक बाबा र उनका सहयोगी बस्छन्। गाई पनि पालिएको छ।  

जीवनशैली  

टोड्के क्षेत्रमा ग्रामीण सौन्दर्यको सुवास पाइन्छ। गाउँहरूमा मगर, क्षेत्री, बाहुन र दलित समुदायको संस्कृति पाइन्छ। गाउँको जीवनशैली कृषिकर्म र पशुपालनमा केन्द्रित छ। ढुंगा, माटो र काठबाट बनेका परम्परागत शैलीका घर छन्। कतैकतै घुमाउने घर पनि देखिन्छ।  

गाउँहरूमा जौ, उवा, कोदो, मकै, आलु र सागसब्जी उत्पादन गरिन्छ। गाउँमा गाइभैंसी दुहेको, ठेकीमा मोही पारेको, खेतीपाती गरेको, ढिकीजाँतो चलाएको, डोको, स्याखु, भकारी र नाम्ला बुनेको, भेडाबाख्रा पालन गरेको, ठेकी बुनेको, मौरीपालन गरेको, भांग्रा र झोला बुनेको दृश्य सामान्य हुन्।  

गाउँलेहरू आत्मीय छन्। पाहुनाको सत्कार गर्छन्। धूमधामसँग चाडपर्व मनाउँछन्। उनीहरूले परम्परागत नाचगान संरक्षण गरेका छन्।  

पुख्र्यौली

टोड्के क्षेत्रका मगरको आफ्नै संस्कृति छ। उनीहरूको पुख्र्यौली (सोरठी) नाचले जीवनशैली, संस्कार र संस्कृति झल्काउँछ। यस लोकनाचमा मादल र झ्याली बाजा बजाइन्छ। पुरुष नै महिलाको भेषमा हुन्छन्। महिलाको भेषमा नाच्नेलाई ‘मारुनी’ भनिन्छ भने मादल बजाउनेलाई ‘मादले’।

रमाइलो गर्न पुख्र्यौली नाचिन्छ। खासमा पुख्र्यौली नाचमा गाइने गीतले मगर सभ्यताको अलिखित इतिहास बोकेको हुन्छ। यसमा राजारानी, करबाकेली बाबा, पुर्खाहरू, जीवनशैली, प्राचीन गाउँ, वनजंगल, खोलानाला, पशुपन्छी, वन्यजन्तु आदिको वर्णन गरिन्छ।  

विवाह, व्रतबन्ध, भोजभतेर, भूमे पूजा आदिमा पुख्र्यौली नाच्ने चलन छ। अचेल पाहुनाको माग अनुसार टोड्केका काखमा रहेका गाउँ र टोड्के हिल रिसोर्टमा पुख्र्यौली नाच देखाइन्छ।  

टोड्के ट्रेल

बेनीबाट हिँडेर टोड्के पुग्ने पदमार्गलाई ‘टोड्के टे«ल’ भनिन्छ। बेनीको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के पुगिन्छ। स्थानीय पथप्रदर्शकको सहयोगमा पदयात्रा गर्नु बुद्धिमानी हुनेछ। बेनी–टोड्के १४ किमि पदयात्रा गर्न करीब ८ घन्टा लाग्छ।  

पदमार्ग क्षेत्रको पुलाश्रममा शिवालय छन्। पुलाश्रम लंकापति रावणको जन्मथलो मानिन्छ। रामायणअनुसार पुलस्त्य ऋषिका नाति हुन्, रावण। पुलस्त्यले यहाँ तपस्या गरेका थिए। उनले रावणसहित नाति–नातिना विभीषण, कुम्भकर्ण र शुपर्णखालाई यहीँको आश्रममा हुर्काए। उनीहरू आश्रम क्षेत्रमै जन्मेको विश्वास गरिन्छ।  

पुलाश्रम मास्तिर घतान छ। घतानमाथि ढोलथान। ढोलथान चौबिसे राज्य पर्वत राज्यको बर्से राजधानी थियो। हाल यहाँ दरबारका भग्नावशेष छन्। ढोलथानमा ठकुरी बस्ती पनि छ। ढोलथानबाट हिमालको दृश्य पनि देखिन्छ।  

ढोलथान मास्तिर केभहिल छ। केभहिल हिमाली सौन्दर्यका लागि प्रख्यात छ। यहाँ भ्यूटावर बनाइएको छ। केभहिलको काखमा शिखर शैलीको आकर्षक जगन्नाथ मन्दिर छ।  

केभहिलभन्दा माथि ४ घन्टाको बाटोमा वस्ती छैन। त्यसैले आवश्यक खाना बोकेर हिँड्नुपर्छ। चराको चिर्बिर र जंगली जनावरको आवाज सुन्दै गुराँसे जंगल छिचोल्दै टोड्के पुग्दा आनन्द मिल्छ।  

मालिकाधुरी  

मालिकाधुरी (३,३५० मिटर)मा एउटै थुम्कोमा त्रिदेवीको बास छ–मालिका, कालिका र जालिकाको। त्रिदेवीको दर्शनले मनोकांक्षा पूरा हुन्छ। गणेशको पूजापछि क्रमशः कालिका, मालिका र जालिका(जाल्पादेवी)को पूजा गरिन्छ। मालिकालाई सम्झेर जे भाकल ग¥यो त्यो पूरा हुन्छ। कोही वैदेशिक रोजगारीमा जान पाइयोस् भनेर भाक्छन्। धेरैजसो सन्तान प्राप्ति, समृद्धि र निरोगीताको कामना गर्छन्। उनीहरू भाकल पूरा भएपछि मन्दिरमा पुग्छन्।  

मालिकामा वर्षका तीन पटक वैशाखे पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकामा मेला लाग्छ। हजारौं भक्तजन मेला भर्छन् । तीर्थालुहरू कालिकालाई बोका, परेवा, पाठी र नरिवल चढाउँछन्। मालिका र जालिकालाई ध्वजा, अक्षता र धूपबत्ती चढाउँछन्।

मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ। कथा अनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो। कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ। एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।  

मालिका गाउँपालिका–७, म्याग्दीमा पर्छ मालिकाधुरी। यस क्षेत्रको विकासमा मालिका क्षेत्र विकास समिति क्रियाशील छ। यस पावन भूमिबाट हिमालको सुन्दर दृश्य पनि देखिन्छ। चुरेन, धौलागिरि, अन्नपूर्णदेखि कुमारी माछापुच्छ्रे हिमालसम्मको लर्कन देख्दा मनमा ऊर्जा बढ्छ।    

टोड्केबाट मालिकाधुरीको पदयात्रा रोचक बन्छ। पदयात्रा दूरी ९ किमि मात्र हो, उकालो भएकाले मालिका पुग्न ६ घन्टा लाग्छ। टोड्के मास्तिर मालिकासम्म कुनै वस्ती छैन। त्यसैले आवश्यक पानी र खानेकुरा बोकेर पदयात्रा गर्नुपर्छ। मालिका पुगेर टोड्के फर्कन ५ घन्टा लाग्छ। मालिकाबाट अर्कोतिर विम गाउँसम्म पनि पदयात्रा गर्न सकिन्छ, त्यहाँ पुग्न पनि ५ घन्टा नै लाग्छ।  

तातोपानी कुण्ड  

बेनी बजारबाट ९ किमि पश्चिम म्याग्दी खोलाको किनारमा सिंगा तातोपानी कुण्ड छ। प्राकृतिक कुण्डमा पानीको तापक्रम ४५ देखि ४८ डिग्रीसम्म हुन्छ। पानीको मूलमा चाहिँ ५४ देखि ५७ डिग्री सेल्सियससम्म हुन्छ।  

तातोपानीमा हुने गन्धक एन्टिबायोटिक मानिन्छ। यस्तो कुण्डमा डुबुल्की मार्दा  श्वासप्रश्वास, रक्तसञ्चार र नसाको चाल सजिलो हुन्छ। विशेषतः ग्यास्टिक, ढाडको दुखाइ, बाथ, नसा च्यापिएको र चोटपटकको दुखाइमा आराम मिल्छ।   

मंसिरदेखि चैतसम्म तातोपानी कुण्डमा मेला लाग्छ। त्यहाँ दुइटा कुण्ड छन्। ठूलोमा ३०० जना अटाउँछन् भने सानोमा २० जना। तातोपानीमा घाँटीसम्म मात्र डुबाउनुपर्छ। टाउको डुबाउनु हुन्न। अर्को कुरा, क्षयरोगी, जन्डिस, ब्लड प्रेसर हाइ र महिनावारी भएकाले डुब्नु हुँदैन।

खाना र बासका लागि तातोपानी क्षेत्रमा होटल र होमस्टे सुविधा छ ।  

गलेश्वरधाम  

कालीगण्डकी किनारको गलेश्वरधाम श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ। कथाअनुसार श्रीमहादेवले मृत सतीदेवीलाई बोकेर कालीगण्डकी किनारैकिनार हिमालय पर्वततिर जाँदा उनको गला पतन भएको ठाउँमा ज्योर्तिलिंगेश्वर महादेव उत्पन्न भए। सतीदेवीको गला पतन भएर महादेव उत्पन्न भएकाले गलेश्वर भनिएको। कालीगण्डकी नदीमा नुहाएर गलेश्वरको दर्शन गरेमा मोक्ष प्राप्त हुने हिन्दू समुदायको विश्वास छ।  

अचम्मको कुरा, नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै गोलाकार चक्रशिलामा गलेश्वर मन्दिर छ। प्यागोडा शैलीको शिवालयमा दुइटा छाना छन्। मन्दिरभित्र प्राकृतिक शिवलिंग, त्रिशूल, घण्ट आदि छन्। बाहिर चक्रशिलामाथि लक्ष्मी–नारायण, पाञ्चायन, १०८ शिवलिंग, यज्ञमण्डप, बुढानिलकण्ठ, हवनकुण्ड, राधाकृष्ण, जडभरतका मूर्ति लगायत मठमन्दिर छन्।  

शिवालय क्षेत्र ६० रोपनीमा फैलिएको छ। यहाँ वृद्धाश्रम, धर्मशाला, पाहुनाघर, संस्कृत विद्यालय, गौशाला, पुस्तकालय, बगैंचा लगायत सम्पदा छन्। गलेश्वरधामको व्यवस्थापन गलेश्वर शिवालय क्षेत्र विकास कोषले गर्दै आएको छ।  

यहाँ वर्षैभरि रुद्राभिषेक, पाठपूजा, भाकलअनुसारका यज्ञ गरिन्छ। विशेषत ः साउने सोमबार, बालाचर्तुदशी र महाशिवरात्रिमा भव्य मेला लाग्छ। गलेश्वर दर्शन गरेर मुक्तिनाथ जाने चलन छ। बेनी बजारबाट ३ किमि उत्तर मुक्तिनाथ जाने सडकसँगै गलेश्वरधाम छ।  

बेनी बजार

बेनी बजार म्याग्दी जिल्लाको सदरमुकाम हो। कालीगण्डकी नदी र म्याग्दी खोलाको किनारमा उत्तरपश्चिम फैलिएको छ बेनी बजार। मिश्रित जातिको साझा फूलबारी बेनीमा क्षेत्री, मगर, नेवार, छन्त्याल, बाहुन, विक, थकाली लगायत जातजातिको बसोबास छ।  

बेनी आफैंमा पर्यटकीय गन्तव्य हो। बेनी नगरपालिका क्षेत्रमा ढोलथान, कोट भण्डार, सिंगा तातोपानी कुण्ड, ज्यामरुककोट, हिमाली सौन्दर्य, केभहिल, लभ्लीहिल, टोड्के लगायत सम्पदा छन्। धार्मिक सम्पदाहरूमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, महारानी थान, बेनी चैत्य, नवदुर्गा मन्दिर, भद्रिवम शिवालय, पुलत्स्य पुलाश्रम र लक्ष्मीनारायण मन्दिर लगायत छन्।    

बेनी बजार मुक्तिनाथ, लो–मन्थाङ, धौलागिरि पदमार्ग, ढोरपाटन, गुर्जा पदमार्ग, खोप्रा पदमार्ग र गुरिल्ला पदमार्गको प्रवेशद्वार पनि हो। बजारमा पर्यटकीय सुविधाका होटल तथा रेष्टुराँ छन्।  

कोसेली

कतै घुमेर फर्कनुअघि परिवार र इष्टमित्रका लागि कोसेली किन्नुपर्छ। मुला र आलुका लागि टोड्के प्रख्यात छ। टोड्केहिल रिसोर्ट र बेनी बजारमा अर्गानिक परिकार र हस्तकलाका सामाग्री पाइन्छ। त्यहाँ फापर, कोदो र मकैको पीठो, सिमी, मास, भटमास, बोडी, मुरली मकै लगायत गेडागुडी पाइन्छ। त्यस्तै टिम्मुर, भाँगो, मह, स्याउको जुस, ब्राण्डी, स्याउ, ओखर, स्याउको सुकुटी, गुन्द्रुक, च्याउको सुकुटी, चुक अमिलो, तोरीको तेल, जिम्बु, बेसार, सातु, बदाम पनि पाइन्छ। साथै अल्लोबाट बनेका कपडा पनि किन्न सकिन्छ।  

टोड्केहिल रिसोर्ट  

डाँडामा सामुदायिक हिसाबले एउटा ‘टोड्केहिल रिसोर्ट’ संचालित छ। रिसोर्टका तीन दर्जनभन्दा बढी शेयर होल्डर छन्। छ रोपनी जमिनमा खोलिएको रिसोर्टमा अट्याच बाथरुम सहितका १० कोठा र केही टेन्ट सुविधा छ। एकैपटक ६० जनासम्म बास बस्न सक्छन्। सेमिनार हलको पनि सुविधा छ। रिसोर्टले अर्गानिक तरकारी आफैं उत्पादन गर्छ। यहाँको रेष्टुराँमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ। रिसोर्टले २ रात ३ दिनका विभिन्न प्याकेज बनाएको छ–हनिमुन प्याकेज, फ्यामिली प्याकेज, कर्पोरेट प्याकेज र एजुकेशनल प्याकेज। प्याकेज किन्नेलाई उसले बेनी बजारबाट टोड्केसम्म निःशुल्क यातायात सुविधा दिन्छ।  

कसरी पुग्ने ?

काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट। पोखरा–बेनी ८२ किमि, बसमा ३ घन्टा। बेनीबाट टोड्केसम्म पदयात्रा गर्न ८ घन्टा लाग्छ। बेनी बजारको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के १४ किमि। केभहिलभन्दा माथि ४ घन्टा पदयात्रामा कुनै वस्ती छैन। बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन्। सडक मार्गबाट जीप तथा मोटरबाइकमा पुग्न सकिन्छ, जीपमा डेढदेखि दुई घन्टा लाग्छ।  

रुट १–बेनी, अर्थुङे, झीँ गाउँ हुँदै टोड्के १९ किमि।  

रुट २– बेनी, अर्थुङे, पात्लेखेत, वाखेत गाउँ हुँदै टोड्के १५ किमि।  

रुट ३–बेनी, अर्थुङे,, पुलाचौर, डढुवा, पूर्णगाउँ हुँदै टोड्के १४ किमि।  

रुट ४–बेनी, सिम, कुहुँ गाउँ हुँदै टोड्के २९ किमि।  

रुट ५–बेनी, गलेश्वर, पात्लेखेत, वाखेत, टोड्के १९ किमि।  

सम्पर्क  

राजेश शाक्य–९८५७६२४६०१

भिम शेरचन–९८५१०२३०३२

दिनेशनारायण श्रेष्ठ–९८४१२१२४९७

प्रकाशित: १३ श्रावण २०७७ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App