६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

कोरोना

बालकथा

अरुणबहादुर खत्री नदी

विश्वभरि नै फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ को माहामारीले देशमा लकडाउन भएपछि सरकारी विद्यालयमा ५ कक्षामा पढ्दै गरेका सुयोगलाई घरबाट बाहिर कतै निस्कन नपाउँदा साह्रै नै दिक्क लागेर आयो ।

उसले आफ्नो आमासँग सोध्यो, ‘आमा, हामी घरबाहिर किन निस्कन नपाएका हौ ?’

सुयोगकी आमाले भन्नुभयो, ‘अहिले विश्वभरि नै कोरोना भाइरस रोग आएको छ । त्यसैले यो रोगबाट जोगिन घरबाट बाहिर निस्कन नपाएका हौ ।’ 

सुयोगले भन्यो, ‘स्कुलमा जान पनि  पाइएन ।  अब मैले पढ्न नपाएपछि मेरो भविष्य राम्रो हुने भएन नि आमा।’ 

आमाले भन्नुभयो, ‘स्कुलमा जान नपाइन्जेल घरमै बसेर पढ्ने नि छोरा ।’

उसले भन्यो, ‘मैले नजानेको कुरा कोसँग सोध्ने नि आमा ?’  

आमाले भन्नुभयो, ‘तिमीले नजानेको कुरा मसँग सोधे भैहाल्छ नि म । तिमीलाई नजानेको कुरा सिकाइदिन्छु नि ।’

संयोगले भन्यो, ‘आमा, हजुरले मैले नजानेको कुरा सबै सिकाइदिन कहाँ सक्नुहुन्छ र ? हजुरले धेरै पढ्नुु भएको नै छैन ।’

आमाले भन्नुभयो, ‘मैले सिकाउन सकिन भने पल्लो घरको मेनुकासँग सिक्न जाने नि ? मेनुकाले धेरै पढेकी छे । तिमीलाई नजानेको कुरा सबै सिकाइदिन सक्छिन् नि ।’  

सुयोगले भन्यो, ‘आमा, हामी बाहिर निस्कनु हुँदैन भनेर समाचारमा आएको छ । हाम्रो कसरी मेनुका दिदीको घरमा जाने नि  ?’  

सुयोगले फेरि भन्यो, ‘यो विश्वभरि फैलिएको कोरना भाइरस रोग कहिलेसम्म लाग्छ नि आमा ?’

आमाले भन्नुभयो, ‘यो रोग  भीडभाड र बाहिर कतै नकिस्केपछि हामीलाई लाग्दैन नि । अत्यावश्यक काम परेर घरबाट बाहिर निस्कनु परे हातमा सेनिटाइजर र मार्कस् लगाएर नाकमुख थुुनी बाहिर निस्कने गर्नुपर्छ नि ।’

सुयोगले भन्यो, ‘हामीले कम्तीमा बिस सेकेण्डसम्म साबुनपानीले बेलाबेलामा हात धुनुपर्छ नि आमा ।’  

विद्यालयमा पढाइ नहुन्जेलसम्म सुयोगले घरमै बसेर पढ्न थाल्यो । नजानेको कुरा उसले आमासँग र पल्लो घरको मेनुकासँग मार्कस् र हातमा सेनिटाइजर लगाएर सिक्न पुग्दथ्यो । पल्लो घरको मेनुकाले उसलाई नजानेको कुरा राम्ररी सिकाइदिने गर्थिन् । आफूसँगै स्कुलमा पढेका साथीहरूसंग भेट्न नपाउँदा पनि उसलाई नरमाइलो लाग्दथ्यो । भेट्न नपाए पनि उसले फोन नम्बर भएका साथीहरुलाई आफ्नो घरबाट बेलाबेलामा फोन गर्ने गर्दथ्यो । सफासुग्घर भएर बस्दथ्यो । आफूले लगाएका लुगा मैलो भएपछि आमालाई धुन पनि दिने गर्दथ्यो । लकडाउनमा उसले आमालाई खाना पकाउन  र  तरकारी  सघाउने गर्दथ्यो । सुयोगले कोरोनाबारे कविता पनि लेख्न मन लागेर लेख्यो र कविता लेखेपछि उसले आमालाई देखायो । आमालाई उसले लेखेको कविता साह्रै मन परयो ।

पल्लो घरको मेनुकासँग नजानेको कुरा सिक्न जाँदा मेनुकालाई पनि उसले कोरोनाको बारेमा लेखेको कविता देखायो मेनुकाले सुयोगको तारिफ गर्दै भनिन्, ‘तिमीले लेखेको कविता मलाई निकै राम्रो लाग्यो ।’

सुयोगलाई निकै खुशी लागेर आयो । उसले मेनुकालाई भन्यो, ‘दिदी, अबदेखि फुर्सदमा कविता पनि लेख्न थाल्छु ।’

मेनुकाले भनिन्, ‘सुयोग, तिमीले कविता लेख्दै गयौ भने भविष्यमा तिमी ठूलो साहित्यकार बन्न सक्छौ । अरूहरूले लेखेको कथा र कविता पनि पढ्ने गर ।’ 

सुयोगले भन्यो, ‘हुन्छ दिदी, म अरूहरूको कथाकविता पनि खोजेर पढ्ने गर्छु ।’

बन्दाबन्दी खुकुलो भएपछि सुयोगसँगै पढ्ने साथी राजाराम उसलाई भेट्न उसको घरमा आयो र उनीहरू एकमिटरको फरक दूरीमा बसेर कुराकानी गर्न थाले । सुयोगले लेखेको कविताहरू राजारामलाई पढेर सुनायो । राजाराम सुयोगको कविता सुनेर मेरो साथीले पनि कविता लेख्न थालेछ भनेर निकै खुशी भयो । राजारामले तिम्रो कविता सुनेपछि मलाई पनि कविता लेख्न मन लाग्यो भनेर उसलाई भेटेर आफ्नो घर पुगेपछि बेलुका खाना खाएपछि कविता लेखेर सुत्यो । उसले लेखेको पहिलो कविता भोलिपल्ट बिहान उठेपछि आफ्ना बुबाआमालाई देखायो । उसका आमाबुबा उसले कविता लेखेको देखेर छक्क पर्नुभयो ।

राजारामले पनि स्कुलमा पढ्न जान नपाउँदा घरमै बसेर पढ्ने र लेख्ने गर्दथ्यो । नजानेको कुरा उसले आफ्नो दिदी रमितासँग सोध्दथ्यो । कोरोना भाइरस रोग छिटो हामीदेखि टाढा भाग्यो भने हामी स्कुलमा पढ्न जान पाउने थियौ भनेर मनमनै भन्दथ्यो । कहिलेकाही भगवानलाई सम्झेर यो कोरोना भाइरस महामारी रोग हामीकहाँ कहिल्यै पनि नआउने गरेर छिटै भाग्न सकोस् भन्दथ्यो ।

प्रकाशित: ६ श्रावण २०७७ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App