८ वैशाख २०८१ शनिबार
अन्य

बन्दाबन्दीमा मेरो दिनचर्या

दर्शना रिजाल

दर्शना रिजाल

कक्षा  –८, कृष्णसार विद्या निकेतन मावि, बढैयाताल –६, बर्दिया ।

२०७६ साल चैत्र ६ गते हाम्रो वार्षिक परीक्षा सकिन्थ्यो तर प्रिन्सिपलले परीक्षा नलिई हामीलाई घर पठाइदिनुभयो । दाजुदिदीहरूको एसइई परीक्षा पनि भएन । मैले बाबालाई परीक्षा किन रोकियो भनेर सोधें । बाबाले देशविदेश जताततै रोग फैलिएको बताउनुभयो । यो कुराले म निकै डराएँ । बुबाले काठमाडौंमा १२ कक्षामा पढ्ने दादालाई पनि बोलाउनुभयो । यो डरलाग्दो रोगबारे उहाँले मलाई बेलुका बताउनुभयो । यो डरलाग्दो रोगको नाम रहेछ  कोरोना भाइरस कोभिड –१९ ।

चैत्र ६ गते हुने एसइई परीक्षा अनि हाम्रो स्कुलको ७ र ९ कक्षाको परीक्षा मात्रै कहाँ रोकिएको रहेछ र ? क्याम्पस पढ्ने दाजुदिदीहरूको पनि परीक्षा रोकिएको रहेछ  । परीक्षा रोकिएपछि केही दिन कक्षा ८ मा जान नपाउने पीरले सतायो । मेरो ढिपीले बुबाले ८ कक्षामा पढ्ने दिदीका किताब ल्याइदिनुभयो ।

विसं २०७६ चैत्र ११ गतेदेखि आजसम्म हामी लकडाउन(बन्दाबन्दी)मा छौं । सुरुसुरुमा त कति बिरामी भए भनेर हामी दिनदिनै टिभी हेथ्र्यौैं । पहिले त बिहानै उठेर गृहकार्य गर्ने, कपाल कोर्ने, स्कुल जाने र फर्केर गृहकार्य  गरेर सुत्नेबाहेक मैले अरू केही  सिकेको थिइनँ  ।               आजभोलि आमाले आफैसँग बिहानै उठाएर योगा सिकाउनुहुन्छ । खानेकुरा पकाउन सिकाउनुहुन्छ । मैले हजुरआमासँग चामल, गहुँ र मकैको खीर पकाउन सिकें । बाबासँग नाच्न सिक्दै छु ।

पहिलापहिला वक्तृत्वकलामा भाग लिन   डराउँथें । दादाले आजभोलि दिनदिनै मलाई फरकफरक विषयमा बोल्न लगाएर भिडियो खिच्नुहुन्छ र फेसबुकमा राख्नुहुन्छ ।  मन पराएर धेरै साथीहरूले मलाई बधाई दिनुभएको छ । म अझै  हौसिएको  छु । मलाई पहिलो जस्तो डर पनि लाग्दैन ।

दिन बित्दै गए  । लकडाउन झन्झन् थपिदै गयो ।  सिक्ने  रहरले नेटमा खोजीखोजी मैले आफ्नो कोठामा सजाउने सामानहरू बनाएको छु । युट्युब  हेरेर पुराना सामानहरूबाट नयाँ सामान  बनाउन  सिकेको छु । मैले सिमेन्टबाट गमला, चुरामा धागो बेरेर स्टयान्ड, मैनबत्तीलाई पगालेर फुल, कार्टुन काटेर सामान राख्ने स्टयान्ड, भित्तामा पेन्ट गरेर चित्र र प्लास्टिकको बोतल काटेर कलम राख्ने डिब्बा  बनाएको छु ।यसअघि मैले किताब मात्रै पढेको थिएँ ।  किताबी ज्ञानले मात्रै नहुने रहेछ । हामीले  धेरै कुरा सिक्नुपर्ने रहेछ । व्यावहारिक ज्ञान पनि लिनुपर्ने रहेछ ।

कैयौं मान्छे सम्पत्तिका लागि मरिरहेका हुन्थे । सम्पत्ति मात्र ठूलो कुरा रहेनछ । यसले आफ्नो स्वास्थ्य र शरीर नै सबैभन्दा ठूलो रहेछ भन्ने कुरा सिकाएको छ । अहिले काठमाडौं हराभरा भएको छ रे । सफा र स्वच्छ भएको छ रे । धुँवाधुलो हटेको छ रे ।  कलकारखाना र यातायात नचलेर होला ओजन तह बढिरहेको छ रे ।  

यो लकडाउनको कारण मैले गाउँघरमै बसेर धेरै कुरा सिके । यो लकडाउनले मलाई खेतीपातीबारे बुझ्ने  मौका दिएको छ । धेरैलाई कृषि क्षेत्रमा लाग्न हौसला दिएको छ । यो एकदुई महिनामा मैले धानको बीउ राख्न, मकै छर्न र तरकारी उब्जाउन सिकें । जताततै धानको बीउ हरियो भएर उम्रिएको छ । मकै पनि बारीभरि फलेका छ्न् । आँप र लिची पनि बोटैभरि लटरम्मै फलेका छन् । करेसाबारीमा सागसब्जी, फर्सी, बोडी र भिन्डी फलेका छन् ।  यसरी हामीले स्कुलमा सामाजिक र पेसा व्यवसाय तालिममा सिकेभन्दा फिल्डमा सजिलै सिकिँदो रहेछ ।

विश्वभर फैलिएको कोरोनाको संक्रमण  दिन प्रतिदिन बढ्दै छ । यो लेख लेख्दै गर्दा नेपालमा पनि ३ हजार २ सय ३५ पुगेका छन् भने १३ जनाले ज्यान गुमाएका छन् । हामी घरभित्रै बस्नुपर्छ । कोरोनाले धेरै युवाहरूको मृत्यु भइरहेको छ । धेरै देशहरूलाई घाटा भएको छ । धेरै विद्यार्थीहरूको पढाइ र परीक्षा रोकिएको छ । भोकमरीले सताउन सक्ने सम्भावना बढ्दै छ ।  यसले सबैलाई पिरोलेको छ । कसैलाई काखा र पाखा पनि गरेको छैन । धनी र गरीब पनि भनेको छैन ।  यतिबेला बाहिर आए कोरोनाको डर, घरै बसे भोकमरीको डर भएको  छ । मान्छे देखेर मान्छे भाग्नुपर्ने अवस्था आएको छ ।

आशा छ, पक्कै यो भाइरसको अन्त्य  होला  ! अन्त्यमा मैले यो लकडाउनलाई सिक्ने र सिकाउने, बुझ्ने र बुझाउने अवसरको रूपमा लिएको छु ।  म सबै साथीहरूलाई नयाँ सीप र शैली सिक्दै सुरक्षित र स्वस्थ रहनुस् भन्ने कामना गर्दछु ।

प्रकाशित: ५ असार २०७७ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App