१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

लकडाउन अनुभव नातिनीको भाकामा

लक्ष्मी उप्रेती

प्यारा नानीबाबुहरू आज म कोरोनाकाल र लकडाउन बारेमा नातिनीका जिज्ञासा अनुभव र उसका केही  रमाइला प्रसंगहरू उसैको भाकामा दिदीदाजुलाई लेखेको पत्रमार्फत लेखेकी छु है। यो कस्तो लाग्छ भन्नु ल। मन परेमा अरूअरू  कुनै रमाइला कुरा फेरि पनि लेख्छु ल।

मेरी प्यारा कोमल दिदी र कुशल दाजु,

नमस्कार,

आज मलाई कोरोना र लकडाउनको मेरो अनुभव हजुरहरूलाई भन्न मन लाग्यो । हजुरहरूको अनुभव पनि सुनाउनु ल। सविना फुपू फुपाजु र हजुरहरूलाई कस्तो छ। यहाँ हामीलाई ठीकै छ।

हजुरहरूले हजुरआमालाई हजुरी भनेकाले म पनि हजुरी भन्छु।  हजुरहरू त विराटनगरमा आफ्नो घरमा हुनुहुन्छ। घर वरिपरि खुला वातावरण छ। हाम्रो घर काठमाडौंमा छ तर हामी भारतको तामिल्नाडु राज्यको चेन्नेईमा बाबाको जागिर भएकाले यतै बस्छौं ।  हजुरी कहिलेकाहीँ काठमाडौंबाट केही समय हामीसँग बस्न आउनुहुन्छ। यसबेला पनि यतै हुनुहुन्छ। हजुरी हुँदा मलाई कस्तो रमाइलो लाग्छ। पल्लाबरम भन्ने ठाउँमा भएको अपाट्मेनभित्रको एउटा फ्लाटमा हामी  थुनिएर बस्नु पर्दा चै अलि बोर लाग्छ।

हजुरहरू त  कलेज पढ्ने। म त भर्खर आठ वर्ष लागे। म अश्लेषा यहाँको चैतन्य नामको स्कुलमा भर्खर दुई कक्षामा पढ्ने भएकी छु । स्कुल लाग्दा बिहान आठ बज्न अघि नै तयार भएर टिफन लन्च बोक्दै हतारमा जान्थे।  त्यसबेला हजुरीसँग धेरैबेर खेल्न नै भ्याउँदिनथे। त्यो समयमा सानादेखि ठूलो मान्छेलाई हतार हुन्थ्यो । मान्छेहरू हतारमा हुँदा नै रमाउने रहेछन्। यसबेला मलाई स्कुल जान कति रहर लाग्छ। मेरो स्कुल मैले मिस गरिरहेको छु भनेर रून्छु पनि कहिलेकाहीँ त। स्कुल जानुपर्ने कुराको हेक्का यो लकडाउनले मलाई त राम्ररी गराएको छ । त्यहाँ पनि स्कुल कलेज सबै बन्द नै भएको समाचारमा हामीले सुनिरहेका छौं।  हजुरहरूको परिक्षा हुनेबेलामा बन्द भयो हैन त।

यसबेला मेरो कहिलेकाहीँ एक  डेढ घण्टाको अनलाइन कक्षा हुन्छ। त्यसबेला म निकै उत्साहित हुन्छु। यो बेला अघिपछि  चै मलाई किन किन पढनै उति मन लाग्दैन। बाबा कहिलेकाहीँ अफिस जानुहुन्छ। बाबा आउन ढिलो भयो भने मलाई नरमाइलो लाग्छ र आमा हजुरीलाई सोध्छु अनि फोन गरेर सोध्नु भएपछि अलिक ढुक्क लाग्छ ।

बाबाले हामी सबैको कियर गर्नुहुन्छ। घरमा चाहिने सर समान लिन बाबा आफै जानुहुन्छ। कहिले त आमा पनि जानुहुन्छ। हजुरी र म त जादैनौं।

 यो कोरोना नामको भाइरस आएर कोठाभित्र थुनिएर बस्नु परेकाले गाह्रो भएको छ सबैलाई । तैपनि जीवन रक्षाका लागि यो लकडाउन सहनुपर्ने रैछ ।  जीवन छ र त जगत छ। यदि जीवन नै रहेन भने केही हुन्न भन्नुहुन्छ बाबाले । त्यसैले यो लकडाउनको अवधिमा बाहिर जानु हुन्न भनेर बाबाआमा र हजुरीले बुझाउनुभएको छ। 

घरमा मैले सक्ने थाहै नपाएका सक्ने  कामहरू बाबुआमा र हजुरीले सिकाउनुहुन्छ। पढ्नुलेख्नु, पेन्टिङ गर्नु , रमाइला कथाका पुस्तक पढ्नु, नाच्नु र गाउनु। आफ्ना बुबाआमा हजुरीसँग  मिलेर खेल्दा खाँँदा रमाइलो गर्दा मज्जा आउँछ । मसँग यसबेला बाबाआमा हजुरी पनि नाच्नुहुन्छ बुझ्नु भो।

यहाँ यस्तो गर्मीमा ढोकाभित्र थुनिएर बसेको पनि तीन महिना पुग्न लाग्यो । दस वर्षमुनिका बालक र पैसाठी छेउछाउका मान्छेलाई त्यो दुष्ट भाइरस छिटो सर्छ भनेर सरकारले घोषणा गरेको छ रे। अनि हजुरी र मलाई बाहिर नजानु है भनेर  बाबाले बुझाउनुभएको छ। हामी आज्ञापालन गर्न ढोकाबाट बाहिर गएका छैनौं। बाहिर नगएकाले वल्लो फ्लाट पल्लो फ्लाटका मान्छेसँग भेट भएको छैन।

 तल हामी खोल्ने पार्क वरपरको हरियाली सडकको माहोल कस्तो भएको होला हेर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ। कहिले बाहिर उफ्रिन मन लाग्छ र मलाई कस्तो बोर भयो भनेर चिडचिडाउँदै रुन्छु कराउँछु । त्यसबेला कहिले बाबा कहिले आमा कहिले हजुरी र कहिले सबै भएर मसँग घरभित्र खेल्ने खेल खेल्नुहुन्छ। विशेषत मलाई बाबासँग खेल्न रमाइलो लाग्छ । बाबा घरमा भएको बेला मलाई खुसी पार्न धेरैबेरसम्म  खेल्नुहुन्छ। तर, आमा र हजुरीसँग पनि खेल्दा मजा आउँछ । यसबेला बाबाले सिकाएर  म  क्यारामबोड खोल्न जान्ने भएकी छु। चित्र बनाउन पेन्टिङ गर्न पनि निकै रहर लाग्छ र गरिरहन्छु। मैले बनाएको चित्र र पेन्टिङ हेरेर बाबाआमा र हजुरी दङ्ग परेर मलाई स्याबास। राम्रो बनाई कति जान्ने हौ यो त भनेर मलाई झन्  उत्साह थप्नुहुन्छ। 

हामी कहिले गीत र स्पिलिङ भन्ने शब्दको अन्ताक्षरी खेल्छौ। यसले मेरो शब्द भण्डार बढ्दै गएको छ। कहिले चोरपुलिस कहिले कुद्ने कहिले वल्कहरू जोड्ने कहिले गुडिया खेल खेलेर समय बिताउछौं । यसरी खेल्दा कति कुरा जानिने रहेछ। एकछिन खोल्न नपाउँदा मलाई बोर लाग्छ र गनगनाउँदै टिभीमा कार्टुन हेर्न झुण्डिन्छु ।  अब टिभी बन्द गर अथवा एकछिन हामी हेर्छौ भन्दा मसँग खेल्ने कोही छैनन् भनेर घुर्क्याउँछु र सबैलाई कार्टुन हेराइछाड्छु ।  हजुरीले मलाई मोवाइलमा दस मिनेटका लागि गेम खेल्न दिने सर्त गर्नुभएकाले दिनुहुन्छ। मलाई मोवाइलका कति प्रोग्रामहरू आउँछन्। कहिले हजुरी र आमालाई पनि  सिकाउँछु।

कहिलेकहीँ लाइन जान्छ र कस्तो गर्मी भयो भनेर हजुरी छटपटिएर दिक्क मानेका बेला लाइन गएर राम्रो नै भयो नि हजुरी भन्दै म फकाउन खोज्छु। किन राम्रो भनेर सोध्नुहुन्छ। मैले कार्टुन हेर्न पाउँदिन नि भनेर हसाउँछु । कहिलेकहीँ उहाँहरूलाई खुशी पार्ने मेरो लीला हो भन्ने बुझ्दै हाँस्नुहुन्छ । त्यस्तै कहिलेकहीँ आमा हजुरीले यो कोरोनाले बरबाद गरो। सारै गारो भयो भनेर दिक्क मान्नु हुदाँ हजुरी कोरोना आएर राम्रो भएको छ नि। यसले गर्दा नै हजुरसँग म यसरी दिनभर बस्न पाएकी छु । नत्र त स्कुल घर होमवक कार्टुन यति गर्दा नै समय सकिन्थ्यो भनेर खुसी पार्छु।मैले कर गरेर उहाँहरूलाई नचाउँछु, खेलाउँछु , काटुन हेराउँछु  । यसो गर्दा मलाईसँगै उहाँहरूलाई रमाइलो लाग्छ ।

 आमाबुबाले एउटै अपाटमेन्टमा बस्ने साथीसँग पनि यसबेला भेट्नु हुँदैन भनेर सम्झाएकाले  कहिलेकहीँ फोनमा चै कुरा गर्छु र उसलाई पनि कोरोनाबारे जाने जति भन्दिन्छु। कोरोना लकडाउ र बच्ने उपायका भनेका कुरा पालना गर्छु। यसबेला घरबाट बाहिर नहिँड्ने साबुनपानीले हात धुने सेनिटाइजर उपयोग गर्ने हाँँच्छयुँ गर्दा मुख छोपेर गर्ने नाकमुखमा नकोट्याउने सरसफाइमा ध्यान दिने मेरो आदत निकै राम्रो भएको छ।

कृष्ण भगवान् मलाई एकदम मन पर्छ। कृष्ण  भगवानबारे म अनेक जिज्ञासा राख्छु। मेरो जिज्ञासा जसले भए पनि जसरी पनि शान्त पारिदिनुहुन्छ। नआएका प्रसंग मोवाइलको सहायता लिएर भए पनि भन्नुहुन्छ ।

मलाई कृष्णको भजन कृष्णको कथा सुन्दा आनन्द आउँछ। अनि कहिले बाबाले कहिले आमाले कहिले हजुरले सुत्नेबेलामा भजन या कथा सुनाउनुहुन्छ। म त सुन्दा सुन्दै भुसुक्क निदाउँछु।

दादादिदीहरू पनि आफ्नो कियर गर्नु होला । फुपूफुपाजुको पनि कियर गर्नु ल। आजलाई यति नै लेख्छु है मेरा प्यारा दिदीदादा । हजुरहरूलाई कस्तो लाग्छ भन्नु ल।

दिदीदाजुलाई माया गर्ने बैनी

अश्लेषा उप्रेती ,

कक्षा –  दुई,

स्कुल   श्री चैतन्य टेक्नो, पल्लाबरम चेन्नेई, भारत   ।  

प्रकाशित: २५ जेष्ठ २०७७ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App