४ वैशाख २०८१ मंगलबार
अन्य

कोरोनासँगै बाँच्न सिकौं

कविता

रचना सिंह  

पत्रु खाना नखाएर, ताजा स्वस्थ खान सिकौं,  

कोरोनालाई हराउन, कोरोनासँगै बाँच्न सिकौं ।

केही हिडौं, अल्लि उफ्रौं, कसरतको रोपौं बीउ,

प्राणायामलाई जीवनमा, हामी थोरै समय दिऊँ ।

फूल बिरूवा, पशुपन्छी सबलाई हामी माया गरौं,

मान्छे झ्वाट्ट नजिक आए, हामी अल्लि पर सरौं ।

अँगालेर आधुनिकता, हातै मिलाउन कोही आउलान्

प्रेमपूर्वक किटाणुलाई, फुत्त हामीतिर सार्लान् ।

स्नेहसहित नमस्कारमा आफ्ना दुवै हात जोडौं,

थन्क्याइएको संस्कारलाई, अब पुनः बाहिर झिकौं ।

चीनमा खोक्दा, इटलीमा पर्न गयो प्राणघात,

एकै रैछ विश्व सारा, एउटै रैछ हाम्रो जात ।

घर, तराई, पहाड, हिमाल, स्वच्छ हामी राख्न जुटौं,

हुनेखाने सबै मिली, हुँदा खानेको मर्का बुझौं ।

किटाणुका मित्रलाई, शत्रु हामी बनाऔं आज,

उसका शत्रु, हाम्रा मित्र, यो हो जितको अर्को राज ।

नआत्तिई, नडराई, होसियार बन्न सिकौं,

बाढी आउँदा खोला तर्न, छालसँगै बग्न सिकौं ।

कोरोनालाई हराउन, कोरोनासँगै बाँच्न सिकौं,

कोरोनालाई हराउन कोरोनासँगै बाँच्न सिकौं ।

प्रकाशित: २३ जेष्ठ २०७७ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App