८ वैशाख २०८१ शनिबार
अन्य

लकडाउन र अनलाइन कक्षा

सजिना श्रेष्ठ

कक्षाः १०

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ

“लकडाउन त समय अवधि मात्रै हो यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने हाम्रै हातमा छ ।”

अहिले महामारीको रूपमा फैलिएको  कोभिड १९ ले विश्वमा तहल्का मच्चाइरहेको छ्र । यो अवस्थामा विश्वभरका मानिस नै आफ्ना नित्यकर्मबाट वञ्चित भएर बसेका छन् । कोरोना महामारीले जीवनको हरेक पक्षलाई बाधा पुरयाउन हिचकिचाएको छैन । घातक कोरोना भाइरसले देशव्यापी रूपमा बन्दाबन्दी, उडानहरू बन्द, शैक्षिक संस्थाहररू बन्द गर्ने र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको अवस्था छ।

नेपालमा पनि कोरोना संक्रमित भेटिएसँगै दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ र यो नेपालका लागि अझ जोखिमपूर्ण बन्दै गएको हामी आफैँ महसुस गर्न सक्छौं । बढ्दो कोरोना संक्रमित फेला परेसँगै लकडाउन अझै लम्बिँदै गएको छ । लकडाउनको अवधि बढ्दै जाँदा जनताका माग र प्रश्नहरू पनि बढ्दै गएका छन् ।

लकडाउनले जीवनमा थुप्रै चुनौतीहरू ल्याएको छ । यो अझै बढ्दै जाने हो भने देशको आर्थिक, शैक्षिक र विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुग्न सक्छ भन्ने सबैको भनाइ छ । तर, यस्तो बेलामा हामीले धैर्य राख्न सिक्नुपर्छ । हामीसँग अरू कुनै पनि विकल्पहरू छैनन् । हामी सबै जना एकजुट भएर नेपालको सभ्य नागरिक बनी लकडाउनको राम्रोसँग पालन गर्यौँ भने संक्रमितको संख्या घट्दै जान्छ भन्ने मलाई लाग्छ ।

कोरोना महामारीले विश्वव्यापी रूपमा प्रभाव पारेको छ र धेरैजसो क्षेत्रहरू प्रभावित भएका छन् । ती क्षेत्रहरूमध्ये शिक्षा क्षेत्र पनि एक हो । विश्वभरका विद्यार्थीहरू महामारीको डरको बीचमा लागू गरिएको लकडाउनको क्रममा आफ्नो शिक्षामा मूल्यवान् समय गुमाइरहेका छन् । परिस्थितिले विद्यालय बन्द गर्न बाध्य पारेको छ र विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् ।

हरेक वर्ष वैशाख महिनामा विद्यार्थी भर्ना प्रक्रिया सम्पन्न हुन्थ्यो भने अहिले जेठको अन्तिमतिर आइपुगेका छौं तर अझै लकडाउन सिद्धिने निश्चित भएको छैन । यसकारण न त भर्ना प्रक्रिया सुरु नै भएको छ न त बालबालिकाहरू विद्यालय जान पाएका नै छन् । अहिले विद्यालय सुरु गरेको दुई महिना सम्पन्न हुने बेलासम्म पनि विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । यति मात्र नभएर कतिपय विद्यालयहरूको विद्यालय तहका परीक्षा पनि सम्पन्न हुनसकेको छैन । 

यो लकडाउनको बेला धेरै अभिभावकहरू आफ्ना बालबालिकाको शिक्षाका लागि चिन्तित देखिन्छन् । उनीहरू आफ्ना बालबालिकाको शिक्षा आर्जन भने नरोकियोस् र  लकडाउनले उनीहरूको भविष्यमा कुनै पनि खालको नकरात्मक असर नपरोस भन्ने चाहन्छन् ।

अहिले यस्तो संकटको सामना गर्दागर्दै पनि विभिन्न विद्यालयहरूले अनलाइन कक्षा सुरु गर्न थालेका छन् । विद्यालयले विद्यार्थीहरूको शिक्षाका लागि अति नै उचित अवसर प्रदान गरेका छन् । अनलाइन कक्षाहरू स्काइप, जुम, म्यासेन्जर, भाइबर आदि  माध्यमबाट सञ्चालन गरिरहेका छन् । विद्यार्थीहरूले पहिला इन्टरनेटको प्रयोग समाजीकरण र लकडाउनमा मनोरञ्जन गर्न प्रयोग गरिरहेका थिए भने अहिले उनीहरू आफ्नै शिक्षाका लागि प्रयोग गरिरहेका छन् । यो पनि एउटा राम्रो पक्ष हो ।

अध्ययन मात्र होइन, व्यायाम, संगीत, प्रेरणादायी बन्ने, लेखकसँग कुराकानी र अन्य सबै सम्भावित गतिविधिहरू लगायतका धेरै अतिरिक्त पाठ्यक्रमका गतिविधिहरू अब भर्चुलाइज गरिएको छ । यो एक अर्काबाट टाढा भए पनि संसारलाई सक्षम बनाउँदै सबैका लागि कुराकानीका लागि यो महत्वपूर्ण अवसर हो। अनलाइन कक्षाबाट यस्ता गतिविधिहरू मात्र नभएर प्रतियोगिता पनि सञ्चालन गर्न सकिन्छ ।

तपाईंहरू सबै जना यो कसरी सम्भव छ भनेर सोचिरहनुभएको होला । सुरुमा त मलाई पनि यस्तै  लागेको थियो । अनलाइन प्रतियोगिता कसरी सञ्चालन गरिने रहेछ भन्ने कुरामा खुलदुली भइरहेको थियो तर विश्व धूमपानरहित दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित “सुर्तीजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवर्द्धनबाट युवाहरूलाई बचाऔं र उनीहरूलाई धूमपान तथा निकोटिनबाट हुने असरहरू रोकथाम गरौं” विषयक देशव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकलामा म विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको प्रतिनिधित्व  गर्दै  सहभागी भएकी थिएँ र मैले यस प्रतियोगितामा द्वितीय स्थान समेत हासिल गर्न सफल भएँ । 

साँच्चै नै यो अनुभव मेरा लागि अविस्मरणीय थियो । यस प्रतियोगितामा सहभागी भएर मात्रै मैले अनलाइन कक्षाद्वारा पनि प्रतियोगिताहरू सञ्चालन गर्न सकिने रहेछ है भन्ने कुरा थाहा पाएँ । वक्तृत्वकला मात्र नभई अरू नृत्य, संगीत, वादविवाद आदि प्रतियोगिताहरू पनि सञ्चालन गर्न सकिने रहेछ भन्ने कुरा मैले राम्रोसँग थाहा पाएँ । अनलाइन कक्षाले मलाई राम्रो अनुभव प्रदान गरेको छ ।

अन्त्यमा, यो लकडाउन घरभित्र मात्रै बस्नका लागि नभई सिर्जनात्मक कार्यहरूको निम्ति समय दिने उचित मौका हो जस्तो मलाई लाग्छ । यदि सबैले लकडाउनको सदुपयोग गर्न सिक्यौं भने लकडाउन सबैका लागि सुनौलो अवसर बन्न सक्छ । विद्यार्थी जीवन धेरै महत्वपूर्ण हुन्छ र यो लकडाउनले हामीलाई हाम्रो सिर्जनामा रमाउनका लागि सुनौलो मौका दिएको छ । यसलाई राम्रोसँग उपयोग गर्नु हाम्रो कर्तव्य पनि हो । नेपालको एक सभ्य नागरिक बनी लकडाउनको पालना गरौं, घरभित्र बसौँ र कोरोनालाई ननिम्त्याऔं  ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App