coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

अब कृषि क्रान्ति

विभूषी तिमिल्सिना  
कक्षा: १०, मदरल्याण्ड मावि, पोखरा।

मलाई लाग्छ नेपाललाई नयाँपन दिन नेपालको कृषि क्षेत्रमा बृहत् कृषि क्रान्तिको आवश्यकता छ। देशका बहुसंख्यक जनता कृषिमा संलग्न भएको कुरा मैले सानो छँदादेखि नै सुन्दै आएकी हुँ। अहिले आएर बल्ल बुझ्दै छु कि कृषि प्रधान देश भए पनि हाम्रो देश कृषिमा आत्मनिर्भर हुन सकेको रहेनछ !  

कोरोनाका कारण नेपाल भित्रने र बाहिरिने सबै नाका बन्द छन्। कतिपयले अब भोकमरीको अवस्था सिर्जना हुने दाबी गरिरहेका छन्। त्यसैले अब त हामी सबै जहाँ छौ त्यहीँ सुरक्षित रुपमा कृषि उत्पादन बढाउन पो लाग्ने कि ?

सर्बप्रथम हामीले आफुसँग भएका आधुनिक प्रबिधि प्रयोग गर्नुपर्छ। यसतर्फ अहिले नेपाली जनता लागेका छन्। परम्परागत रुपमा गरिँदै आएको खेतिमा पनि आधुनिकीकरण भइरहेको छ। मुलुकमा कृषि प्रविधिको प्रयोग बढ्दो छ। तराई क्षेत्रमा अचेल सम्भव भएसम्म गोरु जोत्नुको साटो ट्रयाक्टर प्रयोग हुन थालेको छ।  

कोरोनाका कारण गाउँ फर्केका युवा कृषिप्रति आकर्षित भई काम गर्न सुरु गरिरहेका छन्। सहरतिर लागेका जोशिला र जाँगरिला युवा फर्केकाले गाउँका बाँझा जमिनमा फेरि खेती हुन थालेको छ। खेति गरेर मात्र अब पुग्दैन, आधुनिक खेती गरेर कृषि उत्पादन बढाउनु पर्छ। जेनेरेटर प्रयोग गरी खोलाको पानी तान्ने, टनेल मार्फत उब्जनी बढाउने, माटो परीक्षण गरी सुहाउँदो बाली लगाउने, मकै छोडाउन मेसिन प्रयोग गर्ने, थ्रेसरको प्रयोग गर्ने काममा सबै नेपाली सक्रिय हुनुपर्छ।  

उत्पादन बढाउन कृषिमा आधुनिकिकरण गरिनुपर्छ। कोरोनाको त्रासका कारण गाउँ फर्केका युवाले बाँझा जमिन खनजोत गर्न थालेपछि आशा पलाएको छ।

कोरोनाले नेपालीलाई आफ्नै गाउँको माटोमा कर्म गर्नुपर्दो रहेछ भन्ने पाठ अवश्य सिकाएको छ। साथै सरकारले वास्तविक रूपमा कृषिमा लागेकाहरूलाई सहुलियतमा कर्जा सुविधा दिने र उत्पादित उपजको सही मूल्यको निधो गर्नुपर्छ। अहिले त बिचौलियाले फाइदा उठाइरहेका छन्।

आफ्नै ढंगले कृषिमा राम्रो काम गरिरहेकालाई सहयोग उपलब्ध गराउने हो भने पनि यसले उत्पादन बढाउन मद्दत पुग्नेछ। अनि कृषकलाई थप ऊर्जा मिल्नेछ। निजी र सरकारी क्षेत्रको आपसी सहकार्यमा आधुनिक खेतीमा ध्यान दिँदै वातावरणमैत्री कृषि प्रणली विकासमा सरकारले ठोस कदम चालेर उत्पादन बढाउनु पर्छ।  

अन्त्यमा, कोरोनाबाट देश पिल्सि रहेका बेलामा एकैचोटी कृषिमा ठूलो क्रान्ति  गर्न नसकिए पनि उत्पादित अन्न बजारमा पुग्ने र नेपालीले आफ्नै देशमा उब्जिएका अन्न खान पाउने व्यवस्था सरकारले मिलाउनुपर्छ। अब सारा नेपाली आफ्नो स्तरबाट कृषि गर्नतर्फ लाग्नु पर्छ।  

देशभर लकडाउन भैरहेका बेलामा अरु सबै आम्दानीको श्रोत बन्द भए पनि घर छेउको खेतमा त हामी सामाजिक दूरी कायम गरी खेती गर्न सक्छौ र उत्पादन बढाई देशलाई यस्तो महामारीको समयमा भोकमरीबाट जोगाउन सक्छौं। तब मात्र जुम्लाका स्याउले काश्मिरी स्याउलाई बिस्थापित गर्ने छ। गुल्मीको कफी अनि इलामको चिया, अदुवा र अलैंचीको स्वाद हरेक नेपालीले चाख्न पाउने छन्। साथै पहाडको तरकारी अनि तराईको अन्नले सारा नेपालीको पेट भरिनेछ। 

प्रकाशित: २० जेष्ठ २०७७ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App