४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

विकासप्रेमी नेता

रुविआ पराजुली
कक्षा: ६, बूढानीलकण्ठ स्कुल, काठमाडौं।

मुलुकका सबै नागरिकलाई खुसी बनाउन असल नेता चाहिन्छ। हामीलाई निस्वार्थ समाजसेवा गर्ने नेताको खाँचो छ। हाम्रो मुलुकमा त अहिले संघ, प्रदेश र स्थानीय तहमा थुप्रै नेता छन्।

हाम्रो विद्यालयको कक्षा कोठालाई ‘कन्ट्रोल’ गर्न आलोपालो टिम लिडर बनाइएको हुन्छ। उसले राम्रोसँग नेतृत्व ग¥यो भने कक्षा व्यवस्थित हुन्छ तर ऊ आफैं कमजोर भयो भने अव्यवस्थित बन्छ। यसरी नै मुलुकलाई राम्रो बनाउन असल नेता चाहिन्छ। सबैलाई मिलाएर राख्न सक्ने, अर्जुन दृष्टि भएको र सबैका समस्या बुझ्ने नेता हुनुपर्छ।  

मामाघरमा गएका बेला डोकोले थुनेर पालेका कुखुरा र त्यसका ९ वटा चल्लाका गतिविधि हेरेको थिएँ। कुखुरालाई डोकोबाट निकालेर चारो खान दिँदा उसले पहिला चल्लालाई खुवाउँथ्यो। चल्लालाई वरीपरी राखेर मात्र खुवाउथ्यो। कतै केही भेट्टायो भने तिनैलाई खान बोलाउँथ्यो। कदाचित कागले चल्लालाई झम्टिन आएमा कुखुराले पँखेटा फिँजाएर छोप्थ्यो।  

हामीलाई बोलेका कुरा पुरा गर्ने, भ्रष्टाचार नगर्ने, गरिबको समस्या बुझ्ने र  राष्ट्रिय भावना भएका नेता चाहिएको छ।  

असल नेता त कुखुरा जस्तो पो हुनुपर्ने रहेछ। अरुको संरक्षण गर्न सक्ने, सबैलाई वरीपरी राख्न सक्ने। विवेकशील र निस्वार्थी भावनाको।  

खासमा असल नेता त अझ मौरीजस्तो हुनुपर्छ। हामीलाई केही दिन अघि अनलाइन कक्षामा शिक्षकले पढाए अनुसार मौरी ३ किसीमका हुन्छन्, रानी, कर्मी र भाले मौरी। रानीले सबैलाई मिलाएर राखेको हुन्छ। कर्मी र भाले मौरीको काम बाँडफाँड गरिएको हुँदो रहेछ। कर्मीले मह उत्पादन गर्छन्।  

मौरीले जसरी नै सबै नागरिकलाई मिलाएर राख्न सके मुलुकलाई समृद्ध बनाउन सकिन्छ। नेताले आफ्ना नागरिकको अस्तित्वको सम्मान गर्नुपर्छ। उनीहरूबीच राम्रो मेलमिलाप हुनुपर्छ।  

हामीले लकडाउनमा परिवार मिलेर रामायण र महाभारत हे¥यौं। यी धार्मिक विषयवस्तुले असल नेतामा हुनुपर्ने उदाहरण पस्केका छन्। असल नेता त राम जस्तो आदर्शवान, सीताजस्तो पतिव्रत, अर्जुनको जस्तो दृष्टि, भिष्मको जस्तो प्रतिज्ञा, युधिष्ठिर जस्तो सत्यवान, भीमको जस्तो विश्वास, विदुरको जस्तो विद्वता हुनुपर्ने हुन्छ।  

हजुरआमाले सुनाएको रामायण र आफैंले टिभीमा हेरेको रामायण निकै फरक लाग्यो। जब सीता गर्भवती थिइन् त्यतिबेलै अयोध्याका नागरिकले सीतासँग जोडेर रामको कुरा काट्न थाले, यसले राम खिन्न भए। त्यो कुरा थाहा पाएपछि पछि भेट हुनेछ सत्य अवस्य प्रमाणित हुनेछ भन्दै सीता रामलाई छाडेर वाल्मिकि आश्रममा गएर बसिन्।  

यसबाट नेता राम्रो बनाउन परिवारको पनि भूमिका हुन्छ भन्ने बुझिन्छ। पारिवारिक मेलमिलाप भएमा पनि नेताले राम्रोसँग काम गर्न सक्छन्। रामका ४ दाजुभाइ अनि पाण्डवका ५ भाइको मेलमिलाप राम्रो भएकाले उनीहरू युद्ध जित्न सफल भए। असल नेता बन्न पारिवारीक, सामाजिक सम्बन्ध राम्रो बनाउनु पर्छ। सम्बन्ध राम्रो बनाउन सक्ने नेताले मुलुक राम्रो बनाउन सक्छन्।  

हाम्रो समाजमा चुनावका बेलामा भोट जित्न ‘यो गर्छु, त्यो गर्छु’ भनेर थुप्रै नेताले भाषण ठोक्छन्। चुनाव जितेपछि नागरिकलाई दिएका आश्वासन पुरा गर्ने नेता हुने हो भने मुलुक चाँडै समृद्ध बन्न सक्छ।  

मुलुक बनाउन राष्ट्र निर्माता पृथ्वीनारायण शाह, सबैले खाएपछि खाने राजा महिन्द्र मल्ल, न्याय दिने राजा राम शाह जस्ता नेताको खाँचो छ। महात्मा गान्धी र अब्राम लिंकन जस्ता नेता पनि असल नेताका उदाहरण हुन्।  

हामीलाई बोलेका कुरा पुरा गर्ने, भ्रष्टाचार नगर्ने, गरिबको समस्या बुझ्ने र  राष्ट्रिय भावना भएका नेता चाहिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App