१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सिर्जनात्मक बन्दाबन्दी

लकडाउन डायरी

रुविआ पराजुली

रुविआ पराजुली

कक्षा: ६, बूढानीलकण्ठ स्कुल, काठमाडौं  

कोरोना भाइरस नफैलियोस भनेर सरकारले लकडाउन गरेको छ । हामीले सृजनात्मक काम गर्न सक्यौं भने लकडाउनको सदुपयोग हुँदो रहेछ । कुनै पनि काम जान्न ठूला मानिसबाट मात्र सिक्नुपर्छ भन्ने छैन । मैले बहिनीबाट चेस खेल सिकेकी छु । चेसमा प्रायः बहिनीले मलाई जित्छिन् । यस खेलले जुक्ति लगाउन राम्रो अभ्यास गराउँदो रहेछ ।  

सृजनात्मक कामबाट हामीलाई जीवनोपयोगी सिप र मिठो सफलता हात पर्दछ । माहुरीले फूलको रसबाट मेहनेत गरेर मह बनाउँछ । यो माहुरीको सिर्जना हो । हामी माहुरीबाट जीवन कसरी उपयोगी बनाउने भनेर सिक्न सक्छौं ।  

मैले बाबुआमाबाट धेरै प्रेरणा पाएकी छु । उहाँहरू समयको महत्व निकै ख्याल गर्नुहुन्छ । यो लकडाउनमा विभिन्न रचना लेखिरहनुभएको छ । यो देख्दा मलाई र बहिनीलाई पनि लेख्ने रहर जाग्यो । अनि हामी पनि जानी नजानी कविता, कथा र लेख लेख्न थाल्यौं । महाभारतमा श्रीकृष्णले अर्जुनलाई दिएको कर्म गर तर फलको आशा नगर भन्ने उपदेश मनन गर्छु ।  

रचना तयार गर्छु तर प्रकाशन होला कि नहोला भनेर चिन्ता गर्दिन । कहिल्यै पनि निराश भइन । निरन्तर लेखेर पठाएँ । फलस्वरुप लकडाउनमा मेरा ९ वटा रचना प्रकाशन भैसकेका छन् । जसमा दुईटा कविता हुन् भने बाँकी निबन्ध । यसरी प्रकाशन हुँदा अत्यन्तै खुशी लागेको छ । विद्यालयले पनि फेसबुक पेजमा हाम्रा रचना शेयर गरेर थप हौसला दिइरहेको छ ।

लकडाउनमा मेरा ९ वटा रचना प्रकाशन भैसकेका छन् । म रचना तयार गर्छु तर प्रकाशन होला कि नहोला भनेर कहिल्यै चिन्ता गर्दिनँ ।  

मलाइ गीतसंगीत मन पर्छ । मामुले हाम्रो बिदाको समयका लागि भनेर बजारबाट पेनिका किनिदिनुभएको थियो । लकडाउन थपिंदै गयो । यो समयमा हाम्रो राष्ट्रिय गान, जिङ्गल बेल, ओम भूर्वश्व, बाबा ब्लाक सीप जस्ता गीतको धुन बजाउन सिक्दैछु ।  

मैले सुख्खा रोटी बनाउन पिठो मुछेर बेल्न अनि पकाउन पनि सिकें । तरकारी काट्न, भाँडा माझ्न र सरसफाइ गर्ने काम सिकेर सघाउँदै आएकी छु ।  

मलाई अनलाइन कक्षा बारेमा केही थाहा थिएन । तर अहिले विद्यालयले नै अनलाइन कक्षा चलाइरहेको छ । यस क्रममा म अंग्रेजी र नेपाली टाइपिङ गर्न पनि सक्ने भएकी छु । दुईटा निबन्ध त मैले नै टाइप अनि इमेल गरेर पठाएँ । मैले लकडाउनमा एफएम रेडियोहरूको बालबालिकासम्बन्धी कार्यक्रममा भाग लिएर कविता पनि वाचन गरेकी छु । यसबाट मलाई बोल्न आत्मबल बढाएको अनुभूति गरेकी छु ।  

अचेल घरभित्रै योग र कसरत गर्ने अभ्यास गरिरहेका छौं । जसले हाम्रो शारिरीक र मानसिक स्वास्थ्य तन्दरुस्त राख्न सहयोग पु¥याउँछ ।  

विद्यालयमा पढ्दा खेल खेल्न ग्राउण्ड नै चाहिन्छ जस्तो लाग्थ्यो तर अहिले घरिभित्र खेलिने खेलमा बानी परेको छ । चेस, लुँडो स्नेक ल्याडर जस्ता खेल खेलेर पनि मजा लिन सकिँदो रहेछ ।  

फुर्सद हुनेवित्तिकै मलाइ चित्र बनाउन मन लाग्छ । हामी अनलाइनबाट पनि धेरै कुरा सिकन सक्छौं । अति उपयोगी सामाग्री पढ्न पनि सकिँदो रहेछ । म बेलुकीपख बारीमा गएर विरुवामा पानी हाल्छु । पहिलेपहिले हाम्रा वेड, विस्तारा बाबा मामुले मिलाइदिनुहुन्थ्यो । तर अचेल हामी आफैं सफा गर्छौं । कोठा भित्र र बाहिर सफा पनि गर्छौं ।  

मेरा सृजनात्मक काममा वुवाआमाको प्रेरणा, बहिनीको साथ र मिडियाको साथ मिलेकामा आभारी छु । अन्त्यमा, हामीले लकडाउन उपयोग गर्न सृजनात्मक कामलाई निरन्तरता दिनु पर्दछ । यसबाट हाम्रो कला बढ्छ भने अर्कोतिर क्षमता पनि बढ्छ ।  

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App