७ वैशाख २०८१ शुक्रबार
अन्य

कोरोना कहरमा अनलाइन कक्षा राम्रो विकल्प बन्न सक्छ

जानुका खनाल

रामभक्त मेमोरियल स्कुल, बनेपा, काभ्रेपलान्चोक ।

यतिखेर नोबेल कोरोना भाइरसले विश्वभर वितन्डा मच्चाइरहेको छ । अमेरिका, बेलायत, इटालीजस्ता सर्वसम्पन्न शक्तिशाली राष्ट्रहरू पनि कोरोनाबाट अछुतो हुन सकेनन् । सारा विश्वलाई नै यसले आतङ्कित बनाएको छ ।  

कोरोनाको प्रभाव विकासोन्मुख देश नेपालमा अझ बढी परेको छ । उद्योगधन्दा, होटल, रेष्टुरेन्ट सबै बन्द छन् । व्यापार – व्यावसाय सबै ठप्प छन् । कैयौंको रोजगार गुमेको छ । मानिसहरू घरको चार दिवारभित्रै सीमित भएका छन् । लकडाउनको कारण घरभित्र बस्नु भन्दा अरु कुनै  पनि विकल्प छैन । 

कोरोनाले शैक्षिक क्षेत्रमा पनि ठूलो क्षति पुयाएको छ । शैक्षिक संस्थाहरू खुलाउन सकिने अवस्था छैन । जसका कारण देशभरका विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । यो अवस्थामा कतिपय विद्यालयले भने अनलाइन मार्फत विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई निरन्तरता दिइरहेको छ ।

हाँस्दै, खेल्दै रमाउँदै कक्षाकोठाभित्र सँगै बसेर सिक्न नपाए पनि विकल्पको रूपमा प्रविधिको प्रयोगले नयाँ अनुभव बटुल्दै विद्यार्थीहरू सिकाइ  प्रक्रियालाई अगाडि बढाउँदै छन् । अनि आँखा रातो हुने गरी दिनरात मोबाइलमा गेम खेलेरै समय बिताउने विद्यार्थीहरूको पनि समयको सदुपयोग भएको छ ।

यसका लागि शिक्षकहरूले गरेको अथाह मेहनत प्रशंसनीय छ । प्रविधिको प्रयोग गर्दै नवीन ढंगले शिक्षण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । यद्यपि हालको विषम परिस्थितिमा शिक्षकविद्यार्थी बीचको सम्बन्धलाई प्रगाढ बनाउन अनलाइन कक्षाले ठूलो मद्दत पुरयाएको छ । हुन त नेपालको सन्दर्भमा हेर्दा सबै ठाउँमा इन्टरनेटको पहुँच छैन । धेरै ठाउँमा इन्टरनेट सेवा नभएका कारण यसलाई पहुँच बाहिरको शिक्षाको रूपमा पनि कतिपयले विश्लेषण गरेका छन् । 

यो हाम्रो देशको विडम्बना हो ।  समय परिस्थितिसँगै यी कुराहरू सम्भव हँदै जानेछन् । केही समय ढिलो होला तर असम्भव भने पक्कै नहोला । तर जुन क्षेत्रमा इन्टरनेट सुविधा छ त्यस क्षेत्रबाट शुरूगरिएको अनलाइन कक्षालाई निरन्तरता दिऔं । हरेक परिस्थितिले केही नयाँ कुरा अवश्य सिकाउँछ । कोरोना कहरले विकल्पको रूपमा शुरू गरिएको यो  शिक्षा भविष्यमा पनि राम्रो विकल्पको रूपमा रहन सक्छ ।  

हरेक कुरा असम्भव भन्दै केही प्रयास नगरी बस्ने हो भने केही कुरा पनि सम्भव हुँदैन । भन्नेले त विमान बनाउने राइट दाजुभाइलाई पनि बाँकी राखेका थिएनन् । तर उनीहरूले आफ्नो क्षत्रमा गरेको अथाह मेहेनत र निरन्तरताले सफलता पाएरै छोडे । अरूको आलोचनाले आफ्नो कार्यलाई बीचैमा रोकेका भए सायद आकाशमा उड्ने मानिसहरूको सपना आजसम्म पनि सपनामै सीमित हुन्थ्यो होला । 

त्यसैले आलोचनाका बाबजुद अगाडि बढौं । हामीले शुरू गरिसकेको यस कार्यलाई निरन्तरता दिने हो भने विकल्पको रुपमा अनलाइन कक्षा उपयुक्त हुन्छ भन्ने कुरामा दुई मत छैन । शिक्षालाई सहजीकरण बनाउनका लागि एनटिसि र एनसेलले पनि विभिन्न सुविधाहरू प्रदान गर्न थालेको छ ।  

समयसँग सिकाइ प्रक्रियामा पनि परिर्वत आउनु राम्रो कुरा हो । जुन चीजको उपयोग हामीले गर्न पाएनौं सोही चीज हामीभन्दा पछिका पुस्ताले सहजै पाए । चुनौतीहरू त थुप्रै छन् यसमा तर अहिलेको परिस्थितिमा यो एउटा अवसर पनि हो । मलाई लाग्छ विद्यार्थीको सुन्दर भविष्य कोर्न प्रत्येक शिक्षकले पलपलमा विभिन्न चुनौतीको सामना गरेकै छन् । जब चुनौतीलाई पार गरिन्छ तब त्यसबाट हुने सफलताको महसुस गर्न सकिन्छ । 

प्रकाशित: १४ जेष्ठ २०७७ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App