९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

फोक्सुन्डो ताललाई फर्केर हेर्दा...

नियात्रा

डोल्पाको फोक्सुन्डो खोला । तस्बिर: डा. बद्री चापागाईं

डा. बद्री चापागाईं  

तिहार आउनु एक हप्ता बाँकी छँदा काकी हजुरआमा स्वर्गे हुनुभो । टिका नहुने भयो । सर्सती क्यालेन्डर हेर्दा बिदा देखेर मन लोभियो । अझ बुधबार पनि बिदा थपिने कुराले खुदो पर्नु स्वभाविक थियो । फोक्सुन्डो ताल हेर्न जाने रहर बाँधेर बसेको २ वर्ष हुन थालिसकेको थियो । २ पटक अन्तिम चरणको तयारी गरेर पनि क्यान्सिल भएको थियो । तत्काल पहिलेदेखि नै जान इच्छुक साथीलाई फोन गरें । एक जनाले धेरैपछि भाइटिका हुन लागेकाले मिल्दैन भन्यो । अर्कोले पनि आमा बिरामी भएको जानकारी गरायो ।  

एक मनले एक्लै भए पनि चल्दिउँ जस्तो लागेको थियो तर अर्को मनले अलिक एकलासे यात्रामा एक जना बोल्ने साथी नलिई त के जानु पनि भन्दै थियो । अन्त्यमा सँगै काम गर्ने एनेस्थेसियाका डा पारस पाण्डे र डेन्टिस्ट डा. देवराज न्यौपाने जाने पक्कापक्की भयो ।  

डा. बद्री चापागाईं  

कर्णाली उक्लने भन्नेबित्तिकै सबैभन्दा गाह्रो भनेकै प्लेन टिकट हुने गर्छ । तारा एअरका साथीलाई फोन घुमाएँ । कसैका लागि ‘होल्ड गरेका’ टिकट ‘इस्यु गरेरै’  भए पनि सहयोग गरिदिनुभो । एक मनले गाडीमा गएर नयाँ अनुभव पनि लिउँ जस्तो नलागेको होइन, तर अनुभवी साथीले बेकारमा नदुखेको टाउको डोरी लगाएर किन दुखाउने भनेकाले हच्किएँ ।    

त्यो दिन पनि आयो । आइतबार बिहानै उजेलो नहुँदै एयरपोर्ट पुगियो । टिकटमा ६ बजे एयरपोर्ट टाइम लेखे पनि पौने ६ बजे पुग्दा समेत हामी अन्तिम यात्री थियौं चेक इन गर्ने ।  

उसो त नेपालको दुर्गम भेगमा प्लेन चढेर पुग्नु आफैमा एउटा ‘लाइफ टाइम एक्सपेरियन्स’ हो । आफू जत्तिकै पुराना ट्विनअटर विमानमा चढेर हावामा कावा खाँदै र हुल्ली खेल्दै बारीका पाटा जस्ता एअरस्ट्रिपमा ल्याण्ड गर्दा ज्यान रोमान्चको पसिनाले निथ्रुक्क हुन्छ । उसो त यो मेरा लागि नयाँ थिएन तर पारस र देवराजको अनुहारमा भय मिश्रित रोमान्च प्रष्ट देखिन्थ्यो ।  

गुडमर्निङ जुफाल  

सात नबज्दै हामी डोल्पाको जुफाल एयरपोर्टमा पुग्यौं । सुलिगाडसम्म गाडीमा जाने अफर आए पनि ट्रेकिङ आको मान्छे ओरालो मुख पनि के गाडी चढ्नु भनेर हिँड्ने निर्णय ग¥यौं । यत्तिकैमा तारा एअरका एक जना स्टाफले हिँडेर जाने भए अर्का एक जना साथी पनि हुनुहुन्छ सँगै जानुहोस् भनेर सुझाए । मान्छेको व्यक्तित्व हेर्दा युवक नै रचन् । परिचय भयो । उनी रहेछन् एसओएस भैरहवामा काम गर्ने निशान महर्जन । अहो, यी ज्याद्रा मान्छे त एक्लै पो निस्केका रचन फोक्सुन्डो यात्रामा ।  

अब भने हाम्रो ४ जनाको ग्रुप भयो । ओरालो मुख भए पनि गफ लडाउँदै, फोटा खिच्दै र शहरतिरका साथीलाई आफू त्यहाँ पुगेको बोधार्थ दिँदै हिँड्दा सुलिगाड पुग्नै पनि एक घन्टा जति लाग्यो ।  

फोक्सुन्डो खोला

सुलिगाडको भीमपुलपारि गएपछि निकुञ्ज कार्यालय र केही होटल रहेछन । यहाँभन्दा माथि गएपछि खाना खाने होटल छैनन् भन्ने थाहा पाएपछि केही खाएर उकालो लाग्ने सल्लाह भयो । ‘भोकालाई खिर’ भने जस्तै लक्ष्मीपूजाको दिन सेल रोटी पो पाक्दै रछ । देवराज शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको टिकट काट्न लाग्यो भने हामी ३ भाइ सेल र फिनी अडर गर्न ।  

भान्टाको तरकारी त्यति मिठो कहिल्यै खाइएको थिइएन होला ! ४ भाइले मस्त नास्ता गरेको पैसा जम्मा २०० रुप्पें पनि परेन । खाजा खाएर हामी फोक्सुन्डो खोलाको किनारैकिनार उक्लिन थाल्यौं । शुरूको बाटो नाङ्गा डाँडैडाँडा हुँदै शुरू भयो । मध्यदिनको गर्मीले चिटचिट पसिना निकाल्न थालेको थियो । तर डेढ घन्टा जतिमा हामी कागेनी भन्ने ठाउँमा पुग्यौं ।  

त्यहाँको सुनिता होेटलमा खाना खाने निर्णय भयो । माथिबाट घुमेर आएको एउटा टोली पनि त्यहीं सुस्ताइरहेको थियो । डढेको छाला, कलेटी परेका ओठ र उठ्दा बस्दाको सकस हेर्दा अनुमान गर्न सकिन्थ्यो फोक्सुन्डो यात्रा सहज छैन भनेर । अर्का एक जना गाइडसँग पनि भेट भयो, जसले एक जना ८२ बर्षिय बृद्ध र अर्का ५४ बर्षका व्यक्तिलाई लिएर हिँडेका थिए । विदेशीमा नेपालका डाँडाकाँडा घुम्न केले त्यति ऊर्जा दिँदो हो ? हामीले एकछिन बुद्धि विलास ग¥यौं ।  

काउलीको तरकारी, रायोको साग, मुला÷गाजरको सलाद, भाँगोको छोप र अम्लेटसँग भात दबाएर फेरि हाम्रो यात्रा शुरू भयो । करीब १ घन्टामा हामी राह गाउँ पुग्यौं । गाउँ पनि के भन्नु । छाडेका घरका भग्नावशेष मात्र । तर त्यसको पारीपट्टि कुनै स्थायी गाउँ रहेको बुझ्न सकिन्थ्यो बिजुलीको लाइन तानेको देख्दा । पछि पो थाहा पायौं हामीले गाँजाका बोटभित्र डुबेको त्यो बस्तिमा जाडो याममा फोक्सुन्डो ताल वरपरका मानिस बसाइ सर्दा रचन ।  

यहाँबाट केही पर हिँडेपछि भने पहिलो पटक काठे पुल तरेर पारी गइयो । उसो त यो ट्रेकमा फोक्सुन्डो खोलालाई दर्जनौं पटक तरिन्छ । यदि बाटो भएको किनारमा भिर परेर बाटो अगाडि बढाउन नसकिने भयो भने पुल राखेर पारि लगिने रच । फोक्सुन्डो खोलाको निलो कन्चन पानीको गड्गडाहटले हामी आफैमा बोल्दा पनि चिच्याउन पर्ने भैसकेको थियो । शुरूको नाङ्गो डाँडा र त्यसपछिका पोथ्रापोथ्री छाडेर हामी सल्लो, ओखर र ठूल्ठूला दारको जंगलमा छिरिसकेका थियौं ।  

रुखका सबै प्रजाति चिनिएन । रंगिबिरंगी पातले अमेरिकातिर बहुचर्चित ‘फल्स कलर’लाई पनि माथ खुवाउने खालको थियो । कागेनीबाट हिँडेको २ घन्टामा हामी स्याङ्ता भन्ने ठाउँमा पुग्यौं । यहाँ एउटा मात्र होटल रहेछ, पहराको कप्चेरोलाई ‘मोडिफाई’ गरेर  बनाइएको होटल ।  

बृद्धलाई लिएर आएका गाइडले उनीहरू यहीँ बास बस्ने जनाए । हामी भने अझै बाटो काटे भोलिलाई सजिलो हुने ठानेर अघि बढ्ने निर्णय ग¥यौं । यहीँबाट शे–फोक्सुन्डो गाउँपालिका शुरू हुने रच । यहाँ एउटा पावर हाउस पनि रच । ठाडो खोलाबाट १०० किलोवाट बिजुली निकालेको । यहीँबाट माथिका छेप्कासम्म र तल कागेनीसम्म अनि रह गाउँसम्म बिजुली तानिएको रच ।  

हुन पनि कर्णाली र यसका सहायक नदीमा जति नै पानी बगे पनि न ती बिजुली निकालेर प्रयोगमा ल्याउन सकिएको छ, न खानेपानीका लागि न सिंचाइकै लागि ! उपयोगमा आउने यस्तै ठाडा खोला मात्र हुन् । खासै बस्ती नभएको तर पानीको ‘करेन्ट’ तेज भएका यस्ता खोंचमा ठूल्ठूला बाँध बनाएर बिजुली निकाल्न सके समृद्धिको शूत्र यही हुन सक्थ्यो भन्ने सतही इन्जिनियरिङको चर्चा गर्दै हामी अघि बढ्यौं ।  

उसो त त्यो गाइडले यहाँबाट छेप्का नजिकै हो, उकालो पनि पर्दैन भनेर भनेको थियो । तर खोलालाई पछ्याउँदै माथि लाग्दा उकालो त किन पर्दैनथ्यो र !  हामीलाई छेप्का पुग्नै सवा घन्टा जति लाग्यो । छेप्काको झरना होटलमा बास बस्ने भनेर साथीहरले निर्णय गरिसकेका रचन ।  

छेप्काको बास  

फोक्सुन्डो पदमार्ग 

नोर्बु लामाको त्यो होटलको आतिथ्यता साँच्चिकै शहरका ठूला होटलको कृत्रिम स्वागतलाई सहजै माथ खुवाउने खालको थियो । हिमालको चिसो पानीमा भुक्लुक्क उमालेको चाउचाउ पनि कति मिठो !  

आँगनमा झक्कले भाले यताउता गर्दै थियो । पारसले मन थाम्न सकेन । त्यसलाई पनि आहार बनाउने कुरो चल्यो । रेट चैं कति त भन्दा पाँच हजार रुपैयाँ रे ! इच्छालाई भाउले छेकेन ।  

छेप्कामा नोर्बु लामाको आतिथ्यले मन छोयो । उनको होटलको आँगनमा झक्कले भाले यताउता गर्दै थियो । पारसले मन थाम्न सकेन । त्यसलाई पनि आहार बनाउने कुरो चल्यो । रेट चैं कति त भन्दा पाँच हजार रुपैयाँ रे ! 

नोर्बुकी आमा बियर तान्दै थिइन् । यति टाढा पनि सहजै बियर पाएको देख्नु हामीलाई अचम्म लाग्ने नै खालको थियो । भौगोलिक दूरी, नवलपरासीमा बनेको त्यो बियर गाडीमा नेपालगंज, जाजरकोट हुँदै दुनै पुगेर खच्चडमा छेप्का पुग्दा पनि रेट ६ सय रुप्पे मात्र । शहर बजारका अलि गतिला भनिने रेष्टुरेन्टमा यसै पनि बियरको उच्च मूल्य अनि त्यसमा जोडिने भ्याट र सर्भिस चार्जले त्यसको हाराहारी मूल्य यसै पनि पुग्न जान्थ्यो ।  

नोर्बुसँगै कुरा गर्दै जाँदा थाहा भयो काठमाडौंको गोल्डेन गेट कलेजबाट प्लसटु सकाएर त्रिचन्द्रमा इन्भायरोमेन्टल साइन्स पढिरहेका उनी बुवाको क्यान्सरबाट मृत्यु भएपछि पारिवारिक व्यापार सम्हाल्न थातथलो पुगेका रहेछन् । अहो यति दुर्गमका मान्छे पनि यति शिक्षित ? यो भेगका युवायुवतीको पढाइलेखाइमा तालको फेदी साइजलमा रहेको तापरिचा स्कुलको ठूलो योगदान रहेछ !  

जिम्बुले झानेको सिमीको दाल र कचिलो कचिलो बन्दासँग भात खाएपछि थाकेर ज्यान बेडमा ढल्किनेबित्तिकै कतिबेला निदायो यादै भएन ।  

बिहान सवा सात बजेतिर दोस्रो दिनको यात्रा शुरू भयो । पाल टाँगेको ठाउँमा चिया खान पाइन्छ भनेर नोर्बुले नै सिकाएका थिए । त्यहाँ पुग्दा नै हामीलाई डेढ घन्टा लागि गो ।

बाटो हामीलाई फकाईफकाई उकाल्थ्यो । फेरि खोलाकै किनारमा झाथ्र्यो पनि । किनारैकिनार बाटो किन नबनाएका होलान् भनेर गम्दै हामी उक्लिंदै गयौं । करीब ११ बजे हामी ¥याँची पुगेका थियौं । भोक अझै बढेपछि खाना थप मिठो होला भनेर हामी थप अगाडि बढ्यौं ।  

बाटोमा कागमारा पास जाने बाटो पनि देखियो । त्यहाँबाट मौरेको लेक, चोत्र हुँदै जुम्ला पुगिँदो रहेछ ।  

करीब साढे बाह्र बजे हामी सम्झना होटलमा पुग्यौं । खानाको अर्डर गरेर हामी सुस्ताउन थाल्यौं । आर्मी पोस्टका मान्छे भर्खर च्याङ्ग्रो ढालेर तिहार मनाउँदै थिए । मैले कहिल्यै नखाने बरेलाको तरकारी पनि मिठो मानेर खाएँ । हुन त बाटोमा भेटिने भरिया र गाइड सुनाउँथे – जति माथी लाग्यो त्यति नै खाना रुच्छ । तलको जस्तो सम्झेर अड्कलेर खायो भने न त पेट नै अघाउँछ न त हिँड्नै सकिन्छ ।  

तापिरिचा मावि

पौने २ बजे त्यहाँबाट हिँडेका हामी १५ मिनेटमै तापरिचा स्कुल क्षेत्रमा पुग्यौं । यति अनकन्टारमा पनि स्कुलको संरचना लोभलाग्दो थियो । तर हामी भित्र नछिरी माथि लाग्यौं ।  

पालम भन्ने ठाउँमा केहीबेर सुस्ताएर हामी अन्तिम उकालो उक्लिन थाल्यौं । यो उकालो भने ढाड फुस्काउने किसिमको नै रच । नाके उकालो उक्लेर अब त सकियो होला भनेर सुस्ताउन खोज्दा त्योभन्दा लामो र ठाडो उकालो गजधम्म परेर अगाडि तेर्सिन्थ्यो । तर पनि सुस्ताउँदै, बिसाउँदै, देवराजलाई जिस्काउँदै हामी आकासिइरह्यौं ।  

मान्छेले बनाएका बाटो, मान्छे हिँडिरहेने बाटो, मा हामी हिँड्न नसक्ने भन्ने पनि त भएन । करीब सवा घन्टामा हामीले त्यो उकालो पनि नाप्यौं । अहो, अनि देखियो झरना ।  

फोक्सुन्डो खोलाको पानी झरेर बनेको त्यो झरना साँच्चिकै मनमोहक छ ।  पानीको मात्रा र उचाइले गर्दा यो साँच्चिकै अद्भूत लाग्यो । अपसोच ‘झरना पनि माथि बाटोबाटै अनुभूत गर्न पर्ने भयो । कारण छहरासम्म पुग्ने पहुँच छैन ।  

फोक्सुन्डो झरना

यहाँबाट अलिअलि फोन पनि टिप्दो रच । उसो त अघिल्लो दिन दिउँसो सुलिगाडबाट परिवारसँग सम्पर्क भएपछि हामी सबैको संचार टुटेको थियो । तर फोनको निम्ति सबैभन्दा देवराज तड्पिरहेको थियो ।  

सबैले फटाफट फोटा खिच्यौं । मानिसले जति मेगापिक्सेलको क्यामेरा बनाए पनि प्रत्यक्ष रूपमा कुनै चीज देख्दा जति राम्रो देखिन्छ, मजा आउँछ त्यो भाव क्यामेरामा कैद गर्न गाह्रो हुँदो रहेछ ! फोक्सुन्डो झरनालाई खिच्दा त्यस्तै अनुभूति भयो ।  

पहरा खोपेर बनाएको बाटो हुँदै हामी अघि बढ्यौं । उकालो सकिए पनि क्षीण  भैसकेको हाम्रो सामथ्र्यलाई त्यही तेर्सो बाटोले पनि हुर्मत काढ्दै थियो । अब आउला, अब आउला ! अहँ । करीब १ घन्टा थप लतारिइसकेपछि भने बल्ल  एउटा छुल्ठिम् देखियो । यो भने गाउँ शुरू भएको संकेत थियो । र यही गाउँ नै रिग्म गाउँ थियो ।  

फोक्सुन्डो ताल  

फोक्सुन्डो किनारमा रिग्म गाउँ रहेछ । धेरैले रिग्मो भनेर नाम बिगारिदिएका रहेछन् । खासमा नाम ‘रिग्म’ रहेछ । सूचना पाटीमा लेखिएअनुसार यस गाउँका बिशेषता निम्न थिए । कुनै पनि क्रस भेरिफाई गर्नेुपर्ने खालका देखिएनन् ।  

रामसार सूचीकृत नेपालको गहिरो मध्येको ताल

नेपालको सबैभन्दा अग्लो ‘फोक्सुन्डो झरना’

बोन्पो बौद्धमार्गीको बसोबास र संस्कृति

ऐतिहासिक बोन गुम्बाहरू  

भीमसेन गुफा  

स्थानीय संस्कृति, कला र जीवनशैली  

स्थानीय खानाका परिकार  

जंगली चराचुरुंगी अवलोकन  

जैविक विविधताको भण्डार  

नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज

बहुचर्चित चलचित्र क्यारभान छायाङ्कन गरिएको ठाउँ  

हिमाली याक आदि जनावर पाइने ठाउँ ।  

एकाध घर भएको रारा र कुनै संरचना नै नभएको तिलिचो तालको तुलनामा छेउमा वस्ती भएको फोक्सुन्डो ताल नयाँ अनुभव थियो । यति दुःख गरेर आइसकेपछि तालकै छेउमा बास बसेर बिहान उठ्नेबित्तिकैदेखि उज्यालो छउन्जेल ताल देख्न खोज्नु अनुचित पक्कै ठहरिन्थेन !  

मित्रहरूले अरू नै ठाउँ सिफारिस गरे पनि अरुलाई चान्स नदिएसम्म नयाँ खुलेका कसरी फस्टाउलान् भनेर हामीले रोज्यौं कान्जिरोवा गेस्टहाउस । जुत्ता फुकालेर बसेपछि कोठा हेर्न जानसम्म जाँगर चलेन । चार वटा बेड भएको कोठा प्रति बेड तीन सय रुपैयाँमा पाइने भयो ।  

साहूजी पेम्बा दाइ रमाइलो मिजासका रहेछन् । कुरैकुरामा भाउजूलाई ‘थोराङ्ला कटाएर मनाङबाट भगाएर ल्याएको हुँ’ भन्न समेत भ्याए । ति ठाउँमा म पुगेको हुनाले उनी सजिलै चोरपक्रा भैहाले । खासमा उनको घर उपल्लो डोल्पा रछ । र यो घर चैं उनको ससुराली थलो रैछ । गफाडी पेम्बा दाइको यही कुराको पनि स्वतन्त्र पुष्टि हुन बाँकी नै छ । 

ताल किनारको होटलमा राति खाना खाँदा भाउजूले भनिन्, ‘ब्यारेकका भाइहरू देउसी खेल्न आउने भनेका छन् । हजुरहरू नसुत्नुहोला है !’ नभन्दै ८ बजेतिर नेपाली सेनाका केही साथीहरू आइपुगे, ‘भन भन भाइ हो !’  

यहाँ भने अलिअलि फोन लाग्दो रहेछ । नेट भने देखाउने तर ‘इ‘चलाउलास् इन्टरनेट’ भन्दै लोप्पा खुवाउने शैलीमा केही पनि नचल्ने । म र पारस यही बेखबरी इन्जोय गरिरहेका थियौं भने देवराजको भने ‘कुटुमा कुटु’ शैलीमा कलेजी खाइरहेको थियो ।  

सोमबारका दिन हामी तालमा पुगेका थियौं । विचराको जन्मदिन रच बिहीबार ।  ऊ बेलाबेलामा फोनमा आफु जसरी पनि बुधबारसम्म जुफाल पुगेर बिहीबार  नेपालगञ्ज आइपुग्ने बताइरहेको थियो । यसरी हुन नसक्ने कुरा गरेको सुनेर मैले उसलाई सपाट शब्दमा भनिदिएँ, ‘हेर भाइ यसरी पु¥याउन नसक्ने आश देखाउनु हुन्न । बल्ल यहाँ आइपुगिएको छ । बुधबार जुफाल पुग्न त भोलि बिहानै फर्किनुपर्छ । उसै पनि पुगेकै भोलिपल्ट उडिन्छ भन्न सकिँदैन । त्यसैले यसरी नेताले जस्तो झूटो आश्वासन दिन छाडिदे ।’  

भोलि अलि चाँडै गरेर आधा बाटो फर्केर पर्सि नै जुफाल पुग्नुपर्छ भनेर देवराज कुँइकुँइ गर्दै थियो । थाकेको ज्यान कतिबेला निदाएछ पत्तो पाइएन ।  

राति नाक, मुख, ओठ सुकेर प्याकप्याक भएर एकपछि अर्को गर्दै उठियो । एक त उच्च भूभागमा हावाको आद्रता कम त्यसमाथि पनि तल भान्सा अनि त्यसमाथिको कोठा भएर पो हो कि !  

चार जना एउटै कोठामा सुतेका थियौं । बिहान एक जना उठ्दाको छिस्रिक्कले पनि अरूको निद्रा खल्बलिनु स्वभाविक थियो । उजेलो हुँदा सबै जागिसकेका थियौं । हामी अरूलाई तालमा उज्यालो भएदेखिका कुनै पनि दृश्य मिस गर्नु थिएन भने देवराजलाई चाँडै फर्किनु थियो ।  

म र निशान भ्यूपोइन्टसम्म गएर ताललाई चिलले जसरी नियाल्न दृढ थियौं । तर कैंडा लागेको खुट्टाले गर्दा पारस र देवराज उति उत्सुक थिएनन् । एकछिन गोडा तन्काएपछि दुखाइ कम हुन्छ भनेर भनेपछि पारस माथि जान तयार भयो । शुरूमा देवराजले लत्तो छाडे पनि सबै जना हिँडेपछि ऊ मात्र यहाँ बसेर केही काम नहुने भएपछि पछिपछि लतारिन तयार भयो ।  

एकएक कचौरा चाउचाउको झोल खाएपछि भाइटिकाको त्यो दिन हामी माथि उक्लिन तयार भयौं । सुरुमा ताल वरिपरि एकछिन टहलिएर खुट्टा तन्काएपछि माथी उक्लिने योजना बन्यो ।  

ताल (३,६११ मिटर) लमतन्न परेर सुतेको थियो । कन्चन पानी । तालको एक छेउबाट देखिएको दृश्य भन्दा निकै परिष्कृत र बृहत्तर दृश्यपान गर्ने लालसाले राति  एक पाइला पनि उक्लिन सकिन्न होला भनेर आश मारेको ज्यानमा बिस्तारै शक्तिको सञ्चार हुँदै थियो । र हामी चार भाइ तालको किनारैकिनार भ्यूपोइन्टतिरको यात्रामा निस्कियौं ।  

पहाड खोपेर बनाइएको ट्रयाकलाई घोेरेटोमा चक्ल्याउन परम्परागत रूपमा चिनिएको बाटोले आधुनिक इन्जिनियरिङलाई माथ खुवाउने खालको थियो । पहरामा तलबाट जग चिनेर अनि बीचमा काठका फल्याक राखेर सपोर्ट दिइएको त्यो पद्धति क्याराभान फिलिममा थिन्लेले चिनेर चौंरी कटाएकै शैलीको थियो । तर फिलिममा जस्तो ढुंगो खस्ने र ज्यानै जोखिममा पर्ने किसिमको भने कहीं पनि थिएन । सूर्योदयसँगै तालको पानी मोतीझैं चम्किन थालिसकेको थियो । अझ आकाशमा एक कण पनि बादल नहुँदा प्रकाशको परावर्तनले नीरको भाँडो घोप्ट्याए जस्तो  नीलो रंगको गहिराइमा हामी सबै डुबेका थियौं ।  

करीब एक घन्टा तालको छेउछेउ हिँडेपछि जंगल पुगियो । यहाँबाट पनि उक्लिनुपर्छ भनेर पेम्बा दाइले सिकाएका थिए । तल्लो बाटो हिँडे तालको छेउछेउ पदयात्रा गर्न भनेर खोलिएको ट्रयाकमा पुगिन्छ जुन पूरा भैसकेको थिएन । त्यसैले हिउँ पग्लेर तालमा मिसिने हिम नदीको बगरैबगर माथि लाग्ने बाटो खोज्दै हामीले उपल्लो बाटो समात्यौं । र सुरु भयो भ्यू पोइन्ट उक्लिने उकालो ।  

हुन त जीवनमा धेरै उकालो उक्लियो होला तर आफूले एसएलसी दिँदा  महेन्द्रमालामा पढ्नुपर्ने ताना शर्माको नियात्रा ‘घनघस्याको उकालो काट्दा’को उकालो जीवनकै सबैभन्दा कठिन उकालोको मानक थियो मेरो मानसपटलमा । यो उकालोले घनघस्याको उकालोलाई माथ गर्ने छनक दिँदै थियो ।  

बुङबुङ धुलो उड्ने ठाडो उकालोमा ज्यानलाई लतार्नु सहज थिएन । दश पाइला हिँडेपछि हामी सुस्केरा काढ्दै बिराम लिन्थ्यौं । यसो फर्केर ताल हेर्दा थकान भुलिन्थ्यो । अनि फेरि सिरानमा पुगेपछि हेर्दा पाइने दृश्य सम्झिँदै ज्यानलाई उत्प्रेरणा दिँदै गोडा चाल्थ्यौं । एउटा नाके उकालो उक्लिसकेपछि देवराजले अब जति माथि गए पनि यस्तै त हो नि, अब फर्कौं होला समेत भन्न भ्यायो । तर बीचमै यात्रा टुंग्याउने पक्षमा हामी थिएनौं ।  

अब त सकियो कि भनेर एउटा डाँडाको पाखो नापिसक्दा त्यो भन्दा अगाडि  उक्लिसकेको उकालो भन्दा थप अजंगको उकालो अगाडि देखिन्थ्यो । तलबाट हेर्दा  लमतन्न सुतेको ताल हामी जति आकासिन्थ्यौं त्यति नै खुल्न थालेको थियो । छेकिएका कुइनेटा र त्यसभित्रको दृश्यले ताल कैले ‘स्टार फिस’ जस्तो देखिन्थ्यो भने अझ उक्लिसकेपछि कैले रहु माछा जस्तो !  

करीब ३ घन्टामा हामी उकालोको टुप्पोमा पुग्न सफल भयौं । हुन त त्यहाँबाट केही परसम्म सिधा बाटो हुँदै तालको पल्लो छेउसम्मको दृश्य हेर्न सकिन्थ्यो होला तर यहाँबाट पर जाँदा तालको वल्लो किनारको दृश्य छेकिने हुँदा हामीले एकछिन त्यहीँ बिसाइ मार्ने निर्णय ग¥यौं ।  

सबैले आआफ्नो क्यामेराले नअघाउन्जेल ताललाई कैद ग¥यौं । प्यानोरोमा मोडमा तालको सकेसम्म बृहत दृश्य क्याप्चर गर्ने प्रयास गरियो । प्रविधिले जति नै मेगा पिक्सेलको क्यामेरा निर्माण गरे पनि मानव आँखा जति हाइफाइ क्यामेरा भने बन्न सकेको छैन । खिच्न सकेका जति दृश्य क्यामेराको मेमोरीमा अनि त्योभन्दा बढी मानसपटलमा कैद ग¥यौं ।  

यहीँ बाटो रच उपल्लो डोल्पा जाने पनि । शे गुम्बा, साल्दाङ, भिजेर लगायत लगायत उपल्लो डोल्पाका अन्य गन्तव्य पुगिने रच । तर अझ ३ दिन लाग्ने अनुमानले नै हाम्रो नौनाडी गलायो ।  

भन्नलाई भ्यूपोइन्ट भनिए पनि न त्यहाँ एकछिन सुस्ताउन न कुनै चौपारी बनाइएको थियो न हावाको सिरेटोबाट जोगाउन कुनै संरचना नै । तैपनि पहराको छेकल पारेर हामी चार भाइ केहीबेर त्यहीँ बस्यौं । थकाइ मा¥यौं र झोलामा बोकेर लगेका खानेकुरा खाएर सफलता ‘सेलिब्रेट’ ग¥यौं ।  

ओर्लिनु त्यत्ति गाह्रो थिएन तर ठाडो ओरालोमा ज्यानलाई धान्नु आफैंमा चुनौति थियो । स्याँस्याँ त हुँदैन थियो तर कुनै ठाउँमा जुत्ता डुब्ने धुलो त कुनै ठाउँमा खुट्टा अड्याउनै गाह्रो हुने गेग्राने बाटो हुँदै हामी गएकै बाटो तल जंगलसम्म झ¥यौं ।  

तालको छेउमा निकै मनमोहक ‘बीच’ बनेको रच । त्यहाँ पनि थप एक घन्टा सुस्ताएर होटल फर्कंदा दिउँसोको ३ बजिसकेको थियो ।  

अब भने देवराजले पनि फर्किने लत्तो छाड्यो । खाना खाएपछि कोही पनि एक डेग चल्न नसक्ने गरी थाकेका थियौं । हामीले पेम्बा दाइसँग गफ गर्दै थकाइ मा¥यौं ।  

राति खाना खाने बेलामा भाउजूले भनिन्, ‘आज ब्यारेकका भाइहरू देउसी खेल्न आउने भनेका छन् । हजुरहरू नसुत्नुहोला है !’ नभन्दै ८ बजेतिर नेपाली सेनाका केही साथी ‘भन भन भाइ हो’ भन्दै देउसी खेल्न आइपुगे ।  

त्यो अनकन्टार ठाउँमा भाइटिकाको रात देउसी सुन्न अनि सरिक हुन पाउनु हामी सबैका निम्ति ठूलो अवसर थियो । हामी सबै खुट्टामा नील परुन्जेल झ्याउरेमा नाच्यौं ।  

साङ्मोको कथा  

बिहान उठ्दा ओठ फुटेर हाँस्न समेत नमिल्ने भैसकेको रहेछ । कोल्ड क्रिम जति पोत्दा पनि ओठ चह¥याउन छाडेन । पेम्बा दाइको परिवारसँग एउटा सामूहिक तस्वीर खिचेर हाम्रो फिर्ति सवारी शुरू भयो ।  

ओरालो मुखको यात्रा जाँदाको उकालो भन्दा सहज पक्कै थियो । ओरालो ओर्लिसकेर पालम भन्ने ठाउँमा हामी चिया खान एउटा पालमा रोकियौं । साहूनी साङ्मो रोकायासँग हामीले थप कुरा बुझ्न खोज्यौं । काठमाडौंको कुनै कलेजबाट बिबिएस पास गरेकी साहुनी चैत लागेपछि डोल्पा उक्लिंदि रैछिन अनि यसै पालमा होटल थापेर बेपार गर्दिरचिन् ।  

अरू बेलामा उपल्लो डोल्पा जाने यात्री र यार्चागुम्बा टिप्न जाने यात्रीले गर्दा बेपार मेन्टेन हुँदो रहेछ । यो त टुरिस्ट जाने सिजन नै भैहाल्यो । पुस लागेपछि हिंउँ पर्न थालेपछि भने पाल खोलखाल पारेर ताल छेउको रिग्म गाउँमा लगेर थन्क्याएपछि भने उनी काठमाडौं झर्दिरैचन् ।  

ताल छेउको बस्ति भने पुस लागेपछि पूरा खाली नै हुन्छ । केही व्यक्ति यही पालम भन्ने ठाउँमा झर्दा रहेछन्, कोही छेक्पा, कोही कागेनी, कोही राह गाउँ, कोही दुनै त कोही काठमाडौं गएर जाडो छल्छन् । साङ्मोहरूले चैं काठमाडौंमा डेरा लिएका रहेछन् जहाँ उनीहरू पुसदेखि चैतसम्म बस्छन् । अनि वर्ष दिनको भाडा एकैपटक बुझाएर अर्को हिउँदमा फर्कने गरी कोठामा ताला लगाएर बेपारकै निम्ति डोल्पा उकालिँदा रहेछन् ।  

जुम्लाबाट डाँफेको लेक उक्लिंदै रारा जाने पदमार्गमा हरियो कालिन जस्तो पाटनको बीचबाट धुलो उडाउँदै जिप कुदेको देख्दा मन कटक्कै खाएको थियो । यता पनि फोक्सुन्डो पुग्ने बाटो बनाउने चर्चा चलेको रहेछ । तर म के मान्यता राख्छु भने पदमार्गलाई पदमार्ग नै छाडिनुपर्छ । 

गरिबी र अभावले आक्रान्त कर्णालीका अन्य गाउँ र बासिन्दाको तुलनामा मलाई लाग्यो अरू मानिस कुनै उपाय नभएर कर्णालीमा बस्न बाध्य छन् । तर यो रुटका डोल्पाली भने आफ्नो रोजाइअनुसार नै यति बिकटमा बसेका रहेछन । एक सिजनको किरा (यार्चाकुन्भु) टिपाइले उनीहरूको वर्ष दिनको खर्च टर्दो रहेछ । किराको सिजनमा त अझ सांग्मो पालै बोकेर किरा संकलकहरूका निम्ति पाटनमा होटल चलाउँदिरैचन् ।

पदयात्रामा निस्किंदा कैलेकाहिं हाम्रो बिकासको मोडल देखेर उदेक लाग्ने गर्छ मलाई । बिकास भनेकै बाटो कोतर्नु हो भनेर कयौं डाडाँपाखा क्षतबिक्षत भएको देख्दा मन अमिलो हुन्छ । जुम्लाबाट डाँफेको लेक उक्लिंदै रारा जाने पदमार्गमा हरियो कालिन जस्तो पाटनको बीचबाट धुलो उडाउँदै जिप कुदेको देख्दा मन कटक्कै खाएको थियो । यता पनि फोक्सुन्डो पुग्ने बाटो बनाउने चर्चा चलेको रहेछ । तर म के मान्यता राख्छु भने पदमार्गलाई पदमार्ग नै छाडिनुपर्छ । मानिसको आवतजावतका लागि अर्कै तिरबाट सडक खोलिनु जायज होला ! तर भर्जिन स्थानलाई त्यस्तै छाडे मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ । डर लाग्यो, यो बाटोमा पनि डोजरे बिकासले ध्वंस मचाउने त होइन ।

साग हालेको चाउचाउको झोल खाएर हामीले फेरी यात्रा शुरू ग¥यौं । तापरिचा स्कुल नै रच त्यो भेगका सबै विद्यार्थी पढ्ने ठाउँ । बाटोमा हामी त्यहाँ नछिरी अघि बढ्न मन लागेन । वार्षिक परीक्षा त्यही दिन शुरू भएको रच । ३ देखि १० कक्षासम्मका विद्यार्थी स्कुलको ग्राउन्डमा घाम ताप्दै परीक्षामा सामेल थिए । त्यहाँ कात्तिक २५ देखि चैतसम्म हिउँदे बिदा हुँदो रहेछ ।  

हामी पनि चुपचाप एउटा कुनामा बसेर सबै नियाल्दै एक जना शिक्षकसँग त्यस स्कुलका बारेमा सोधखोज गर्न थाल्यौं ।  

सरकारी स्कुल भए पनि यो स्कुलको भौतिक पूर्वाधार लोभलाग्दो थियो । स्विस र अमेरिकी सहयोग प्राप्त स्कुलले सरकारी दरबन्दीका शिक्षकलाई थप केही सुबिधा पनि दिँदो रहेछ भने आफ्नो स्रोतबाट थप केही शिक्षक पनि राखेको रच । सबै विद्यार्थी र शिक्षक आवासीय रहेछन् । त्यसैले बालबालिकाको उमेर ५ वर्ष पुगेपछि मात्र भर्ना लिइँदो रहेछ ।  

विद्यार्थीलाई खानेबस्ने सबै सुविधा स्कुलमै । त्यसका निम्ति समुदायबाटै रासन उठाइँदो रहेछ । ७० किलो चामल, दाल, मकैको पिठो, पापरको पिठो, भोटे चिया, चौंरीको घ्यू, नुन समेत अभिभावकले दिनुपर्ने रहेछ । न्यूनतम संचालन खर्च बुझाउनुपर्ने भए पनि शिक्षाको गुणस्तरसँग प्रायः सबै सन्तुष्ट रहेछन् ।  

कक्षा १० पुगेका विद्यार्थीलाई एसइई तयारीका निम्ति काठमाडौंमा तीन महिनाको तयारी कक्षा समेत स्कुलले नै गर्दो रहेछ । एसइई पास भैसकेपछि काठमाडौंमा उच्च शिक्षाको निम्ति भूपू विद्यार्र्थी समाजले छात्रबृत्ति र निवार्ह खर्च समेत उपलब्ध गराउने रहेछ । त्यसैको कारण रहेछ यो भेग यति दुर्गम भए पनि धेरै युवाले प्लसटु वा ब्याचलरसम्मको अध्ययन गरेका ।  

त्यस बिहानको खाना भने हामीले ¥याँचीमा खायौं । तिहारको माहोलमा मानिस  वियरको चुस्कीसँगै तास खेल्ने कुरा गर्दै थिए ।  

खाना खाएर हामी फेरि हुँइकियौं । देवराज जन्मदिनको दिन प्रियजनसँग मनाउन नेपालगञ्ज त नपुग्ने पक्का भैसकेको थियो । तर फोन लाग्न सक्ने ठाउँसम्म पुग्न पाए राति १२ बजेको विससम्म भ्याइन्छ कि भनेर ऊ कागेनीसम्म झर्न चाहन्थ्यो । तर बाटो कहाँ सहज थियो र !  

खोलासँगै झर्ने बाटो भए पनि ठाउँठाउँमा भीर कटाउन उकालो अकाट्य थियो । झर्दा भने बाटामा हामीले एउटा ब्रिटिस आर्र्मीको टोली भेट्यौं जो उपल्लो डोल्पा भएर लो–मन्थाङ हुँदै जोमसोम झर्न हिँडेको थियो । १६ जनाको पदयात्रा टोलीका गाइड, भरिया र अन्य बन्दोबस्तीका सामान हेर्दा सानोतिनो जन्ती नै हुने रच ।  

देवराजले जति नै लतार्ने प्रयास गरे पनि त्यस दिन छेक्पाको झरना होटलमा नोर्बुको आतिथ्यता स्विकार्नुको विकल्प रहेन ।  

खाना खाने बेलामा पूर्वतिरका कोइराला थरका गाइडले आफूले लिएर आएको विदेशी पर्यटकको विचित्रको व्यवहार सुनाउँदै थिए । कहिले दुई रात केही खाना नखाई गोठमा बस्ने त कहिले ओढारमा बस्न खोज्ने जिद्धीपनाबाट आजित उनी भोलि ट्रेक सकिएसँगै ठूलो दायित्वबाट मुक्त हुने आशामा थिए ।

देवराजलाई हामीले राति १२ बजे अनि बिहानै जन्मदिनको शुभकामना दिए पनि ऊ कुनै विशेष फोनको प्रतिक्षामा थियो । त्यसैले बिहान झिममिसे नहुँदै ऊ झोलितुम्बा कसेर तयार भैसकेको थियो । अब पनि कुनै ढिलो गर्नु पाप हुने ठानेर हामी पनि त्यो दिन भने झिसमिसेमै हिँड्यौं ।  

स्याङ्तामा सेल र फिनी खाएर हिँडेपछि भने देवराजले हामीलाई खासै कुरेन । हामी कागेनी पुग्दा उसले सिडिएमए फोनबाट सम्पर्क गरेर जन्मिदनको शुभकामना आदानप्रदान गरिसकेको रहेछ ।  

भर्खर ११ मात्र बजेकाले खाना खान अझै भोक लागिसकेको थिएन । त्यसैले सुलिगाड ओर्लेरै खाना खान निर्णय भयो । सुलिगाडमा एउटा होटलवालाले आफूलाई पकाएको खाना हामीलाई खुवाए ।  

मध्यान्हको दुनै बजार  

दुनै बजार

उसो त हामी सुलिगाडबाट भीम पुल तरेर सिधै जुफाल उक्लिन सक्थ्यौं । तर यहाँसम्म आइसकेपछि दुनै पनि देखौं न त भनेर ठूलीभेरीको वल्लो छालैछाल दुनैसम्म हिँड्यौं । स्थानीयले २५ मिनेट भने पनि हामीलाई भने मध्यदिनको टन्टलापुर घाममा दुनै पुग्न खर्लप्प एक घन्टा नै लाग्यो ।  

दुनैको बसाइ खासै मन रमाउने खालको होला जस्तो लागेन । टिकट पाउनु मुश्किल हुने हल्ला दुनैमा पनि व्याप्त थियो । मैले तारा एअरका स्टेसन म्यानेजर लक्ष्मी शाही जो म मुगु बस्दा ताल्चामा ताराका इन्चार्ज थिए उनैलाई दुनै आइपुगेको जानकारी दिंदै भनें, ‘भोलिका लागि ४ वटा टिकट मिलाई दिनुस् है ।’

उनले एसएमएसमा यात्रीको नाम माग्दै भोलि बिहान ६ बजे जुफाल विमानस्थलमा भेट्ने कुटनैतिक जवाफ दिए । त्यसैले हामीले दुनैमा समय गुजार्नुभन्दा जुफाल उक्लिन श्रेयस्कर ठान्यौं ।  

दुनै जुफाल जीप बिहानमा अलि सजिलै पाइए पनि दिउँसोमा भने यात्रु पर्याप्त भए मात्र जाने रहेछन् । बजारको वल्लो र पल्लो छेउ कुद्दाकुद्दा बल्ल ३ बजे मात्र जुफालका निम्ति जिप गुड्यो ।  

दुनै जुफाल बाटो बनेको वर्षौं भैसक्यो । तर पनि बाटोको अवस्था टिठलाग्दो छ ।  धुलोले चिन्नै नसकिने गरी धैंसिंदै हामी साँझपख माउन्ट पुथा होटलमा बास बस्न पुग्यौं ।

बिहान एयरपोर्ट पुग्दा लक्ष्मीजीको रेस्पोन्सले उड्न पाइहालिन्छ कि भनेर आशावादी बनायो । पहिलो चार्टर फ्लाइट काठमाडौं पढ्ने बिद्यार्थी लिएर चिलगाडी उड्यो भने दोस्रोमा पर्यटकको टोलीसँगै हामी ४ जना पनि नेपालगन्ज झर्न सफल भयौं ।  

प्रकाशित: १० जेष्ठ २०७७ ०५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App