८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

खेताला

कथा

भरत जमिनदार थियो । आफूसँग जे धेरै छ, मान्छे त्यही चीजमा कन्जुस हुन्छ भनिन्छ । हो, भरत आफूसँग प्रशस्त जमिन भएर पनि जमिनकै लोभ गरिरहन्थ्यो । ऊ आफ्ना सँधियारको जग्गामा आँखा गाडिरहन्थ्यो । जमिनदारको नाताले सधैँसधैँ खेतीपाती गर्न प्रशस्त खेताला लगाउँथ्यो । खेतका आली–कान्ला खन्ने खेताला विशेष प्रकारले तयार गथ्र्यो ऊ । उसले ती खेतालाहरूको ज्याला अन्यको भन्दा बढी तोकेको थियो । हरेक वर्ष रोपाइँ सकिएपछि खेतालाका लागि विशेष उत्सव आयोजना गरिन्थ्यो । त्यस उत्सवमा वर्षका उत्कृष्ट पाँच खेतालालाई पुरस्कृत गरिन्थ्यो ।  

खेताला पुरस्कृत गर्ने प्रक्रियामा अनौठो संयोग देखिन्थ्यो । उबाट पुरस्कृत खेतालाहरू दुईतीन वर्षदेखि उसका सँधियारकहाँ काम गरिसकेका हुन्थे । उसले आफ्ना सँधियारकहाँ गोप्य रूपमा खेताला पठाउँथ्योे । त्यसरी खटाएका खेतालालाई उसले केही थप रकम दिंदै थियो । बजारमा चलेको ज्याला पनि पाइने र थप बक्सिस पनि मिल्ने भएकाले भरतले लगाएको काममा जान ज्यालादारी मजदुरको तँछाडमछाड नै हुन्थ्यो । 

थप रकमले घरव्यवहार धान्न सहज हुने भएकाले हरेक खेताला यसरी खटिनु अवसर ठान्थे । यो अवसरको प्रतीक्षा हरेक मजदुरलाई हुन्थ्यो । केही वर्ष सँधियारकहाँ खटेर कुशलता प्रदर्शन गरेपछि पुरस्कार प्राप्त गर्ने योग्यता पुग्थ्यो खेतालाहरूको । सँधियारकहाँ खटिँदा खेतालाहरूले प्रदर्शन गरेको इमानदारी र चलख्याइँ पुरस्कार छनोटका आधार बनाएको थियो भरतले । त्यसैले खेतालाहरू सकेसम्म बठ्याइँ प्रयोग गर्थे । 

कहिलेकाहीँ आफ्नो बठ्याइँले खेतालाहरू निकै संकटमा पर्दै आएका थिए । अरूको बुद्धि र इशारामा चल्ने मान्छे बाठो भयो भने त्यसले काम बिगार्छ । काम बिगारेको निहुँमा थुप्रै खेतालाहरूले दण्ड पाएका थिए । गल्तीको स्वरूप र गहिराइ हेरेर खेतालामाथि निष्कासन, जरिवाना, भौतिक कारबाही, अन्तिम चेतावनी र माफी लगायतका कारबाही गरिन्थ्यो । कति ज्याला र बक्सिस दुवैबाट वञ्चित गराइन्थे । कारबाहीको प्रकृति भरतको मुडमा भर पथ्र्यो ।  

भरत ज्यालामा खटाइएका विश्वासिला खेतालासँग पनि लामो समय विश्वस्त भइरहन सक्तैनथ्यो । त्यसैले ऊ खेताला फेरिरहन्थ्यो । सँधियारकहाँ खटाएका खेतालाका गतिविधि निरीक्षण गर्न उसले गोप्य संयन्त्र बनाएको थियो । उक्त संयन्त्र निकै प्रभावकारी थियो । खेतालाका ससाना कमजोरी पत्ता लगाइहाल्थ्यो । मनोवैज्ञानिक अध्ययनमा यो संयन्त्रका सदस्यहरू निकै अब्बल थिए । भरतलाई पनि संयन्त्रमाथि पूर्ण भरोसा थियो । संयन्त्रकै सहयोगले खेताला तहमा ल्याउन र आफू अनुकूल काममा लगाउन भरत सक्षम हुँदै थियो ।

बहादुर सिंह नाम गरेको नयाँ खेतालाले मुखियाको स्वार्थका लागि अरूको जमिन हडप्नु अन्याय हुने र त्यसो गर्न नसकिने विचार राख्यो । केही नाम चलेका खेतालाले मौन समर्थन जनाए ।

 सँधियारकहाँ खटाइएका खेताला शुरूशुरूमा इमानदार नै भएर काम गर्थे । बिस्तारै भरतको कामतिर उनीहरूको ढल्काइ हुन्थ्यो । उनीहरू आँठाकिला खुम्च्याउँदै जान्थे । यसले सँधियारहरूको जमिनको क्षेत्रफल खुम्चिँदै जाँदो थियो । यस कार्यमा निपुण भएकालाई मात्र आफ्नो जमिन विस्तारमा खटाउँथ्यो भरत । उनीहरूको कार्यप्रगतिको प्रतिवेदन राम्रोसँग अध्ययन गरेपछि खेतालाको पदोन्नति गराउँथ्योे । उसकहाँ काम गर्ने खेतालाहरू पाँच श्रेणीमा वर्गीकरण गरेको थियो उसले । बेलाबेलामा प्रोत्साहन भत्ताको व्यवस्था पनि गरेको थियो । प्रतिष्ठित कम्पनीकै स्तरमा उसले आफ्नो जमिनदारीलाई विकास गरेको थियो ।  

निकै गोपनीयता कायम गर्नुपर्ने हुँदा भरतले सँधियारकहाँ गोप्य रूपमा पठाउने आज्ञाकारी खेतालाहरू प्रायः दोहोरिरहन्थे । उमेर पाकेका खेतालाको पाकोपनमाथि सँधियारले विश्वास गर्ने भएकाले पाका खेताला दोहे¥याईतेहे¥याई खटाउने गरेको थियो भरतले । एकपटक बाबु नाम गरेको बाउसेलाई उत्तरतिरको सँधियार(लाहुरे)कहाँ खेताला खटाइयो । केही दिनमै उसले निर्देशनअनुसार काम गर्न नसकेको सूचना भरतसम्म आइपुग्यो । भरतले बाबुलाई बोलाएर झाँको झा¥यो । त्यसपछि बाबुलाई मजदुरीका लागि आजीवन अयोग्य घोषणा गरियो ।  

मालिक र मजदुरको सम्बन्ध सधैं राम्रो हुँदैन । यी दुई ध्रुव हुन् । एकैतिर फर्कन र एउटै उद्देश्यमा लाग्न सधैं सम्भव देखिँदैन । खेतालाहरू गोप्य रूपमा भेला भए । बहादुर सिंह नाम गरेको नयाँ खेतालाले मुखियाको स्वार्थका लागि अरूको जमिन हडप्नु अन्याय हुने र त्यसो गर्न नसकिने विचार राख्यो । केही नाम चलेका खेतालाले मौन समर्थन जनाए । केहीले भने निधारमा गाँठो पार्दै उसलाई त्यहीँ सिध्याउने खेल खेल्न थालिहाले । बहादुरको कुरा भरतछेउ भोलिपल्टै बिन्ती गरिहाले । बहादुर सिंहको दुस्साहसले ऊ केही दिन गोर्खेलौरीको शिकार भयो । साथै उसलाई भविष्यमा खेताला बन्न अयोग्य हुने गरी निकालियो । चल्तीका खेतालाहरू नयाँ खेतालालाई सकेसम्म पदोन्नति हुन नदिन षड्यन्त्र गरिरहन्थे । यसो गर्दा उनीहरूले छिट्टै अवकाश लिनु पर्दैनथ्यो । भरतले खेतालाखेतालाका बीचमा फुटाऊ र राज गर को नीति लिएको थियो ।  

भरतले निकाल्दैमा आफ्नो सीपअनुसारको कर्म छोड्ने कुरै भएन । बहादुर सिंह भरतको उत्तरी सँधियार ‘लाहुरे’को मुख्य खेताला बन्यो । भरतका षड्यन्त्रकारी खेतालाहरूले धमाधम लाहुरेका आँठाकिला उत्तरतिरै सारेको देख्यो बहादुर सिंहले । निरन्तर यही दृश्य देखेपछि बहादुरले यो खबर लाहुरेसामु जस्ताको तस्तै बिन्ती ग¥यो । लाहुरेले निकै चलाखीका साथ केही दिन उनीहरूका गतिविधिमाथि आफैंले निगरानी ग¥यो । एक दिन बहादुरलाई बोलाएर कारबाहीको प्रकृतिबारे छलफल ग¥यो । कुनै कडा कारबाही गर्नुपर्छ भन्नेमा लाहुरे अडिग थियो । यस छलफलमा बहादुर सिंहको आँखाअगाडि खेतबारीको दृश्य एकाएक नाच्न थाल्यो । जहाँ धमाधम भरत मुखियाको जमिन बढ्ने गरी कोदाली चलाएको दृश्य बारम्बार दोहोरियो । आफूले गोर्खेलौरी भोगेको दृश्य सम्झियो । एकाएक बहादुर सिंहको पारो चढ्यो । अनुहार रातो बनाउँदै ठूलाठूला आँखा पारेर ठिंड्कोमा कोच्ने सल्लाह दियो । रिसले बहादुरको नाकको पोरा फुलेको प्रष्टै देखिन्थ्यो । लाहुरेले उसै ग¥यो । बहादुरलाई यसरी भरतसँग बदला लिन पाएकामा आनन्द आयोे ।

आफ्ना विश्वासिला खेतालालाई लाहुरेले ठिँड्कोमा कोचेको खबरले भरतको मुटु थर्र काँप्यो । एक छिन भुतभुतायो । यस घटनापछि भरतले आफ्नो गोप्य संयन्त्रलाई झन् बढायो । उत्तरी सँधियारको जमिनलाई जसरी पनि सिध्याइछाड्ने योजना बनाउन बौद्धिकहरूको एउटा समूह खटायो । उक्त समूहले लाहुरेको उत्तरी सँधियाँर(बिन)सँग सन्धि गर्न सुझाव दियो । यो उपाय भरतलाई मन प¥यो र तत्काल सन्धिप्रक्रिया अगाडि बढायो । सन्धिअनुसार लाहुरेको जमिन भरतले तलबाट खसाल्दै जाने र बिनले माथिबाट थिच्दै जाने योजना बन्यो । यसबापत भरतले बिनलाई केही आर्थिक सहयोग दिने कुरा पनि सम्झौतामा थियो । यो सन्धि गरेको रात भरत मस्त निदायो । सपनामा भरतले लाहुरेको जमिन सकिंदै गएको र ऊ हारगुहार गर्न लागेको देख्यो । बिहान सबेरै उक्त सपनाको प्रभावबारे बुझ्न उसले ज्योतिष शत्रुघ्नलाई निवासमा बोलायो । शत्रुघ्नले सपनाले छिट्टै भूमिवृद्धिको सङ्केत गरेको बतायो । यति भनेपछि भरतबाट राम्रै दक्षिणा गोजीमा राखेर ज्योतिषी त्यहाँबाट हिँड्यो ।  

सन्धिपश्चात् भरतलाई नयाँ कुराले सताउन थाल्योे, ‘कतै लाहुरेको जमिन आफूभन्दा छिटो मिच्दै गएर बिनले बढी फाइदा लिने त होइन ?’ सम्पत्तिका मामलामा बिनसँग भरतको प्रतिस्पर्धा चल्दै थियो । सन्धिलगत्तै बिनले काम अघि बढाएकोे खबर भरतलाई मिल्यो । भरतले सोच्यो ‘लाहुरेको जमिन चाँचाँडो मिच्नपर्छ’ । यस काममा भरतले मेसिन प्रयोग गर्ने निर्णय ग¥यो । उसले सल्लाहकार समितिमा यसबारे छलफल चलायो । सबैले सहमति जनाएपछि भरतको जमिनमा डोजर र ट्रयाक्टर चल्न थाले । त्यसपछि लाहुरेको जमिन तीव्र रूपमा साँघुरिंदै गयो । यो योजनाले नतिजा राम्रो निकालेकोमा भरत खुसी थियो ।  

रातको आठ बजेतिर तमाखु तान्दै बसिरहेको थियो भरत । निकै अत्तालिंदै गोप्य संयन्त्रको एक सदस्य भरतका अगाडि आएर उभियो । उसको हाउभाउले भरतको अनुहार एकाएक सोहोरिएर आयो । एक्कासि मुटुमा चिसो पस्यो । बसिरहेको आसनबाट आँगनमा ओर्लेर दूतलाई अँगालो मार्दै भरतले सोध्यो, ‘के भयो एस्.के.? लाहुरेका खेताला आफ्ना केही थान डोजर र ट्र्याक्टरमा आगो लगाइदिएको र चालकलाई बन्धक बनाएको खबर काँपेको स्वरमा सुनायो उसले । भरत रिसले चुर हुँदै यत्ति फुसफुसायोे “...त्यो.. ना..थेको यंत्रो हिम्मत ?”  

यस घटनापछि भरतले नयाँ गुप्तचर विभाग गठन ग¥यो । यसको जानकारी नजिकैका मान्छेलाई पनि दिएन । विभागका सदस्यलाई विशेष प्रशिक्षण र निर्देशन दिएर काममा खटायो । जसरी हुन्छ लाहुरेलाई रित्तै बनाउनू भन्ने उर्दी ग¥यो । यो विभागले अति कुशलतापूर्वक लाहुरेविरुद्ध षड्यन्त्र बुन्यो । लाहुरेका भाइहरूलाई नै लाहुरेविरुद्ध उभ्याएर लाहुरेको प्रभाव कमजोर बनाउँदै लग्यो । लाहुरेका भाइहरू सानो क्षेत्रको छोटे मुखिया हुने प्रलोभनमा सहजै फसे । भरतलाई बिनले निरन्तर सहयोग गरिरहेकै थियो । बिनलाई भौगोलिक कठिनाइले लाहुरेको जमिन हडप्न सजिलो थिएन । यद्यपि बिन निरन्तर लागिरहेकै थियो । लाहुरेले भरतविरुद्ध लड्न बिनसँग सहयोग मागेको थियो । बिनले कुनै प्रतिक्रिया दिएन । यसले लाहुरेको मनोबल खस्कँदै गयो । यसले भरतलाई थप सजिलो हुँदै गयो ।  

 जमिनदारबाट सामान्य व्यक्तिका तहमा खुम्च्याउने गरी भरतले लाहुरेको जग्गा हड्प्यो । जमिन मिचिंदै गएपछि लाहुरेले अदालतमा मु्द्दा हाल्यो । तर, न्यायाधीशलाई भरतले ठूलै रकम पेस्की बुझाएर उसको मुख मीठो बनाइदिइसकेको थियो । मुद्दाको पेसी सार्दै झुलाएर लाहुरेको थुप्रै रकम खर्च गराइसकेपछि न्यायाधीशले भरतका पक्षमा फैसला गरेपछि मुद्दा टुंगियो । लाहुरेको जमिन दिनदिनै  खुम्चिएर घरबारीमा सीमित भयो । एक दिन भरत आफैं लाहुरेका घरमा पुगेर उसलाई हप्काउँदै तेस्रो तल्लाबाट घोक््रयाएर निकाल्यो । लाहुरे निरीह बनेर भरतका सिपाहीको गतिमा लुरुलुरु हिँडेको छिमेकीले आँखीझ्यालका प्वालबाट हेरिरहे ।  

लाहुरेलाई लगिएको करीब दस मिनेटपछि नजिकैको खोल्सातिर ड्याङ्ङड्याङ्ङ आवाज आयो । त्यो आवाजसँगै लाहुरेको मुखियागिरी एउटा इतिहासमा परिणत भयो । त्यसपछि भरत उत्तरमा हिमालयसम्मको जमिनको मालिक र जनताको मुखिया भयो ।  

प्रकाशित: ३ जेष्ठ २०७७ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App