९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

आफैँलाई चिन्ने बेला हो लकडाउन

केही दिन अगाडिसम्म मज्जाले चलिरहेको दैनिकी अहिले एकाएक परिवर्तन भएको छ । अधिकांश समय बाहिर बिताउने म, अहिले दिनभरि घरमै बसिरहेकी छु । एउटा भाइरसले यो संसारलाई ठप्प पारेको छ  । हिजो अस्तिसम्म सबैलाई हतार मात्र थियो आफ्नो गन्तव्यमा पुग्न । भागदौड गरिरहेका थियौ एकले अर्कोलाई उछिन्न । मात्र काम ! काम ! काम । कति घमण्ड थियो विज्ञानले गरेका प्रगति र सफलताहरुमा । आधुनिक जीवनको सुखभोग गर्ने लालसाले हामी धन आर्जन गर्न तछाडमछाड गरिरहेका थियौँ । तर आज काम नगरे नि हुने भयो । साथीभाइ भेटघाट नगरे नि हुने भयो । गाउँ घर आफन्तकहाँ नजादा पनि हुने भयो । रमाइलो नगरे पनि हुने भयो ।  

जसरी पनि चल्दो रहेछ आखिर मान्छेको जीवन । डिसेम्बरतिर चीनको वुहान शहरबाट फैलिएको  कोरोना भाइरस (कोभिड–१९) ले सारा विश्वलाई आक्रान्त बनाइरहेको थियो । त्यसबेला हामी चीनका जनताका लागि प्रार्थना गरिरहेका थियौँ । करिब तीन महिनापछि नेपाल पनि यसबाट अछुतो हुन सकेन । महामारी नेपालका लागि नयाँ चाहिँ होइन रहेछ । सुनिन्थ्यो पहिले पहिले बुढापाकाबाट हैजा र विफरले गाउँ नै सखाप भएका घटना । कवि भुवनहरि सिग्देलको “आमोई” जीवन इतिवृत्त पढ्दा पनि विफरको त्रासद वर्णनले डुबेका थिए परेलिहरु ।   

साच्चै यो बेला हामीले बिर्सेका हाम्रा संस्कारसंस्कृतिलाई जीवन पद्धतिमा उतार्ने बेला रहेछ । विगतमा गरेका कमजोरीलाई सपार्दै आफू सच्चिने बेला रहेछ । मन शान्त गरेर ध्यानमा बसेर आफैँलाई चिन्नु रहेछ । बोलीलाई नियन्त्रणमा राखेर आत्मसंयममा बस्नु रहेछ । भनिन्छ नि ! सनातन संस्कृति एउटा धर्म होइन जीवन जिउने कला हो । साँच्चै हाम्रा पुर्खाहरुले जीवन जिउने कला जानेका रहेछन् । पछि पो धर्मका पाखण्डीहरुले संस्कृतिलाई कुरीतिमा बदलेका रहेछन् । र हामीले आधुनिकताको नाममा बिर्सेका रहेछौँ ।

इटाली, स्पेन, अमेरिकाले सुरुमै सतर्कता नअपनाउँदा दिनहुँ मान्छे मरिरहेका छन् । अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई पनि आँखाले देख्न नसकिने यो भाइरसले आछुआछु पारिरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोभिड–१९ संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । यसले धनी गरिब केही भन्दो रहेनछ । अहिले आएर नेपालमा पनि फैलिन सक्ने सम्भावना रहेकाले राज्यले लक डाउन गरेको छ । हाम्रोजस्तो स्रोत साधन नभएको देशले यो फैलिन नदिन गर्ने भनेको नै लक डाउन रहेछ । तर श्रमजीवी र विपन्न वर्गका लागि राज्यले राहत ल्याओस् अनि मात्र लक डाउन सार्थक हुन्छ । पटक–पटक बन्द, हड्ताल र कफ्र्यु सहेका हामी नेपाली लक डाउनसँग अपरिचित थियौँ । यो आदेश नभई अनुरोध रहेछ । यसो बुझ्दा सामाजिक दूरी राख्दै अनुशासनमा बस्ने समय रहेछ लक डाउन ।  

सामाजिक सञ्जाल हेरेर मन साह्रै आत्तिएको थियो । सुरुका दिनहरुमा । आफ्नै हात माथि शंका लाग्न थालेको थियो । साबुन पानीले धुँदा धुँदा हात नै चाउरी परेर आगोले जस्तै भतभत पोल्न थालेको थियो । पछि थाहा भयो लोसन लाउन हुँदो रहेछ । धेरै राहत भयो । मन शंकाको नजरले हेर्न थालेको थियो हरेक बस्तुलाई । बाहिर निस्कनु त परै जाओस् घरै अगाडि ल्याएको तरकारी पनि नछानी किन्यो । परैबाट ढकीमा थाप्यो ।  अनि दुई तीन दिनसम्म त्यसै राख्यो । पानीले धोएर नुन पानीमा डुबायो । फेरि हात साबुन पानीले धुनु त छँदैछ । दूध लिन जान डर लाग्न थालेको थियो । नखान पनि मन मान्दैन । हातमा सेनिटाइजर लगाएर गयो । सामाजिक दूरी राखेर किन्यो । प्रायः फिर्ता नआउने गरी ठिक्क पैसा लिएर गयो । कहिलेकाहीँ पैसा फिर्ता आइहाले डराएर बाहिरै राख्यौ सिँढीमा ।

हामीले सोचेका थियौँ आणविक अस्त्र र हातहतियारले मात्र मान्छे डराउँछ होला ? तर आज हेर्छु आँखाले देख्न नसकिले एउटा जीवाणुले मान्छे मान्छेसँग डराउनु पर्ने भयो । आफ्नाहरुसँग पनि । तिहारमा बाहेक अरुबेला नपुछेको घरका चुकुल, हेन्डिल र देखिने हरेक वस्तुलाई दिनदिनै इथानोलले सेनिटाइज गर्नु पर्ने । सुरुका दिनमा त अरुबेलाभन्दा बढी घर र व्यक्तिगत सरसफाइले थाकेर शरीरका नसा चुडिएलाजस्तो भयो । पढ्न लेख्न त परै जाओस् । अति अत्याउने समाचार आएकाले सामाजिक सञ्जाल डरले हेर्न छाडे । आफ्ना वरिपरि रहेका हरेक बस्तुहरु बिराना लाग्न थाले । जे छोए पनि त्यसमा कोरोना आएजस्तो लाग्न थाल्यो । राति निद्रा पर्न गाह्रो भयो । आइहाले पनि सपनामा पनि कोरोनाकै झल्याकझुलुक पो देखिने । सपना भनेकै हाम्रै मनको प्रतिछाया त रहेछ नि । साच्चै हाम्रो शरीर स्वस्थ हुन मन पनि स्वस्थ हुनु प¥यो नि ।

आखिर मान्छे न हो । बिस्तारै जस्तोसुकै दुःख, पीडा, शोक, हर्ष सबैमा बाँच्न सिक्छ । कतिञ्जेल डराएर बस्छ र ? लक डाउनको पहिलो हप्ताको अन्त्यतिर मन केही शान्त हुँदै गएको थियो । गएको एक हप्ता त हामी घरका सदस्यहरु पनि सामाजिक दूरीको नाममा एक अर्कामा बोल्न छोडिसकेका रहेछौँ । डर सन्त्रासले चुपचाप खाना खायौँ, चुपचाप बस्यौँ । हामी मान्छे नभएर केवल यन्त्र पो भएछौँ । घरमै रहेका वाद्यवादनहरु बजाउन बिर्सेर आफैँलाई पीडा पो दिँदै रहेछौँ ।

प्रायः नियमित प्राणायाम र ध्यान गर्ने म गएको एक हप्ता त सातो हराएको केटाकेटी भएँछु । पत्तै पाइनछु आफैँसँग भएका तनाव मुक्तिका साधन । जब दोस्रो हप्तातिर सामाजिक सञ्जालमा कोरोना सम्बन्धी सकारात्मक कुराहरु आउन थाले । तब भने मनले केही राहत पायो ।  सकारात्मक सोच भएका जीवन विज्ञान, शिवानी, सद्गुरु आदिका स्पीच सुनेपछि केही पोजेटिभ भाइवहरु आयो । छोराहरु पनि सँगसँगै सुन्न थाले । बिहान पुराना, नयाँ सबै खाले नेपाली, हिन्दी गीत आनन्द मानेर सुन्न थालियो । मन शान्त हुँदै गयो । बिस्तारै प्रेमचन्दकी कहाँनिया र योगीको आत्म कथा पढ्न थालेँ ।

अफिस जानु नपरे पनि दैनिकी अलि सहज रुपमा फर्केको थियो । कोरोनाको सन्त्रासले बन्द भएछन् मनसँगै आँखा र कान  । सुन्न छोडेको रहेछुँ आफ्नै घरमा गुड लाएको भंगेराको चिरबिर । आज एक हप्तापछि सुनेँ । सधैँ झै उस्तै थिए । मैले मात्र डरले बाटो बिराएकी रहिछु । केलाउँदा केलाउँदैको चामल अलिकति छरिदिएँ । भुर्र उडेर आए चारो टिप्न । ओहो ! यिनीहरु त कहाँ डराएका रहेछन् र । झट्ट सम्झेँ एक हप्तादेखि छतमा भाँडोमा पानी र चारो त छरेकै छैन । अगाडि बरण्डामा एक जोडी ढुकुर सधैँ कुर्‍थ्यो । कोरोनाको डरले भुलेछुँ सबै आनन्दहरु । कुद्दै हेर्न गएँ । उस्तै गरी ढुकुर कुरिरहेको थियो । नजर गयो, गेटै छेउको गुलाफको बोटमा । मगमगाउँदै रहेछ राताम्मे भएर । उफ्रिरहेको रहेछ तारे फूलको बोटमा फिस्टे फुत्रुक !! फुत्रुक । उता परबाट कोइली निर्धक्क गाइरहेको थियो । सिटी फुक्ने चरा जोड जोडले सिटी फुक्दै पल्ला घरतिर लाग्यो । ओहो !! हर्षले गद्गद् भयो मन । आनन्दले पुलकित भएँ ।

गेटबाट लम्केर बाहिर हेरे‌ । सधै‌ मैले खान दिने पाङ्ग्रे त पुच्छर हल्लाउँदै उभिरहेको रहेछ । मनमा ग्लानी भयो । यसलाई पनि एक हप्तादेखि केही दिएकी रैन छु । लक डाउनले वातावरण अझ खुलेको थियो । वसन्तको आगमनलाई स्वागत गर्दै प्रकृति झन् हराभरा भएकी थिइन् । प्रकृति स्वतन्त्र थिइन् । जनावरहरु स्वतन्त्र थिए । हामी पो कैदी भएछौँ । साच्चै जनावरलाई चिडियाखानामा थुनेर राख्दा कस्तो हुन्छ होला ? अनुभव गर्दै थिएँ , निरीह र लाचार भएर पशुजस्तै  । एक हप्ता आफ्नै मनसँगको घम्साघम्सीले भावानात्मक रुपमा दरो हुँदै थिएँ ।

यसले हामीलाई फेरि गल्तीहरु सच्याएर नयाँ तरिकाले बाँच्ने सीप सिकाएको छ ।  साँच्चै लकडाउन भन्दा अगाडि म यन्त्रवत जीवन बाँचिरहेकी रहेछुँ । घरका आफैँले सञ्चय गरेका कतिपय बस्तुहरु बिर्सिसकेकी रहेँछु । अरु त के भनौ आफ्नै घर अगाडि उभिएर अघाउञ्जेल नहेरेको थुप्रै समय भइसकेको रहेछ । रोपेर स्याहार नपाएका बोटहरुले यसबेला न्यानो महसुस गर्दै छन् । हो नि मुस्कुराएर उज्यालोको संकेत गरिरहेका छन् । फुलेका छन् फुलहरु अझ हाँसेर । आकाश खुलेर सफा भएको छ । उसैगरी उदाएको छ सूर्य । चन्द्रमा शीतल छर्दै अर्धाकार हुँदै पूर्ण हुँदैछ ।  

हाम्रो पूर्वीय परम्पराले यस्तो असहज परिस्थितिसँग लड्न प्रशस्त मानसिक शक्ति प्रदान गर्दो रहेछ । बिहान बेलुका पूजा गर्दा हामी थाहा नै नपाई ध्यान गरिरहेका हुँदा रहेछौँ । चराचुरुङ्गी, जीवजन्तु र बोटबिरुवालाई माया गर्दा थाहा नपाई मानसिक सन्तुष्टि हुँदो रहेछ । यति बेला म हजुरआमालाई सम्झिरहेछु । जो दैनिक जपध्यान गर्नु हुन्थ्यो । नुहाइँधुवाइँ नगरिकन भान्सामा खाना पकाउन दिनु हुन्नथ्यो । किन रहेछ अहिले बुझ्दैछु । विभिन्न जडिबुटीको पोको हरदम साथ हुन्थ्यो । अहिलेका जस्ता बजारिया खानपान कहाँ थिए र ? शुद्ध घरका खानेकुराहरु हुन्थे । जुन वर्ष दिन भण्डारण गरेर राखिन्थ्यो ।

हाम्रो परम्परागत खानेकुराहरु रोगप्रतिरोधात्मक क्षमता बढाउने र पौष्टिक बर्धक हुन्थे । हाम्रा नियमहरु पनि त कति वैज्ञानिक रहेछन्, अहिले सोच्दैछु । कोही पाहुना आयो भने हात खुट्टा धुन दिएर पिँढीमै बस्न दिइन्थ्यो । टाढाबाट घरकै सदस्य आउँदा पनि आगो र पानी छोएर मात्र प्रवेश दिइन्थ्यो । मलामी गएर घर फर्किँदा त लगाएर गएका लुगा बाहिरै खोल्नु पर्‍थ्यो । नुहाइधुवाइ गरेर आगो छोएर, खोर्सानी चबाएर मात्र घरमा प्रवेश दिइन्थ्यो । इष्टमित्र साथीभाइ र मान्यजनलाई नमस्ते गर्ने चलन त हाम्रो पूर्वीय परम्परा हो नि ।    

साच्चै यो बेला हामीले बिर्सेका हाम्रा संस्कारसंस्कृतिलाई जीवन पद्धतिमा उतार्ने बेला रहेछ । विगतमा गरेका कमजोरीलाई सपार्दै आफू सच्चिने बेला रहेछ । मन शान्त गरेर ध्यानमा बसेर आफैँलाई चिन्नु रहेछ । बोलीलाई नियन्त्रणमा राखेर आत्मसंयममा बस्नु रहेछ । भनिन्छ नि ! सनातन संस्कृति एउटा धर्म होइन जीवन जिउने कला हो । साँच्चै हाम्रा पुर्खाहरुले जीवन जिउने कला जानेका रहेछन् । पछि पो धर्मका पाखण्डीहरुले संस्कृतिलाई कुरीतिमा बदलेका रहेछन् । र हामीले आधुनिकताको नाममा बिर्सेका रहेछौँ । यस महामारीको संकटकालबाट हामी बाँचेऊ भने पछिका पुस्ताले सोध्नेछन् । हामीले भन्नेछौ यसका अनुभव ?  

अहिले लाग्छ हाम्रा पुरातन सामग्रीहरु कति उपयोगी रहेछन् । यतिखेर कोरोना भाइरस स्टिल र प्लास्टिकमा कम्तीमा दस घण्टादेखि बढीमा दश दिनसम्म सक्रिय हुन्छ । काठ, कपडा या अन्य वस्तुमा दुई घण्टामा निस्क्रिय हुन्छ भनेर पढिरहँदा हाम्रै पुराना भान्साका सामग्री सम्झिरहेँछु । गगरी, चौँठो, डोको, डालो, ढकी, नाङ्लो, हर्पे, थुन्से, घ्याम्पो, ठेकी, बेल्ना, चक्ला आदि त सबै संक्रमणको जोखिम कम भएका सामग्री रहेछन् । अचेल त यी सबै सामान विस्थापित भइसके । यिनीहरुको ठाउँ प्लास्टिक र स्टिलका सामानले लिइसक्यो । मैले प्लास्टिकको नाङ्लो किन्ने सोच बनाएकी थिएँ । परिवर्तन गरेँ सोच । अहिले सब्जी आदि सामान राख्न घरभरिका डाला, नाङ्ला खोजेर निकाले । यसले पनि मानसिक शान्ति प्राप्त हुँदो रहेछ ।

जसरी घरिघरि साबुन पानीले हात धुनाले कोरोनाको चेनलाई हटाउँछ भन्छन् विज्ञहरु । त्यसैगरी यस्ता बिपत्ति, महामारीले मान्छेलाई मानवताको नजिक लग्दो रहेछ । जीवनको अर्थ बोध हो रहेछ । मै हुँ भन्नेहरुको पनि सेखी झर्दो रहेछ । अहमता नस्ट गर्दो रहेछ । यसबेला भजन शिरोमणि भक्तराज आचार्यको एउटा भजन सम्झिरहेकी छु । “न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ, अहम् त्यागे त्यागी हुन्छ” । वास्तवमा शक्ति सामथ्र्य र बल हुञ्जेल हामीमा दम्भ हुँदोरहेछ । अहम् हुँदोरहेछ । मानव भएर बाँच्न त अहमता त्याग्नै पर्ने रहेछ । जिस्काइरहेका थिए संचय गरेका सामग्रीले । आफैसँग भएका सम्पत्तिले । खुसी त आफैँ भित्र रहेछ । व्यर्थ दौडेका रहेछाै‌ सुनको मृगको पछि पछि । सिकाएको छ पाठ । मज्जाले बाँच्न जान्नुपर्ने रहेछ सीमित बस्तुहरुसँग । प्रेम र आत्मिक आनन्द बाहेक अरु ऐश्वर्य त भ्रम रहेछ ।

हामी विश्वकै इतिहासको अति संवेदनशील घडीमा छौँ । यसबेला भ्रामक खबरहरु नहेरी संयमित भएर घरमा बस्नु नै कोरोनासँग बच्नु रहेछ ।  विज्ञहरु भन्छन् अप्रिल कोरोना भाइरसको पिक पिरियड हो । यसपछि यो कमजोर हुँदै जान्छ । यो भनाइ सत्य होस् । हामी जो जो जहाँ छौँ त्यहीँ बसौँ । यसबेला घर बस्नु नै बुद्धिमानी हुन्छ । बाहिर निस्केर डुल्दैमा केही जितिदैन । समय परिवर्तनशील छ । कोरोना र मानवबीचको लडाइँमा हामीले अवश्य जित्नेछौँ । फेरि हाम्रो स्वतन्त्र हुने दिन निश्चय नै आउँछ ।

 

 

प्रकाशित: २८ वैशाख २०७७ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App