९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

प्रेरणाकी स्रोत झमक

स्नेहा गुरूङ , कक्षा : १०
रेन्बो एकेडेमिक होम्स ,पोखरा,कास्की । 

नेपाल आमाको गर्भबाट साहित्यको दीप प्रज्ज्वलन गर्ने थुप्रै सन्तान जन्मिसकेका छन् । तिनै स्रष्टा मध्ये नेपाल र नेपालीको गौरब बढाउने होनहार प्रतिभा झमक घिमिरे मलाई सबैभन्दा मन पर्ने साहित्यकार हुन् । 

उनको जन्म बिसं २०३७, असार १ गते धनकुटाको कचिँडे गाउँमा भएको थियो । पिता कृष्णबहादुर र माता आशादेवीको प्रथम सन्तानका रुपमा जन्मेकी थिइन् उनी । शारीरिक अंग सबल भएकाले हामी लेख्न, पढ्न र हिँडडुल गर्न सक्छौं । तर झमकलाई मस्तिष्क पक्षघात भएको थियो । उनलाई हजुरआमाले मायालु वातावरणमा पालनपोषण गरिन् ।  

उनले संघर्षका ठूल–ठूला पहाड चढ्नु प¥यो । बल्लतल्ल खुट्टाको बुढी औंला र चोर औलाले कलम च्यापेर उनी कापीमा अक्षर लेख्न सक्ने भइन् । उनको जीवनीपरक कृति ‘जीवन काँडा कि फूल’मा उनको जीवन संघर्ष छ । यसमा उनले जीवनका ३० वर्षसम्मका अनुभूति पस्केकि छिन् । उनले काँडैकाँडा बीचमा पनि सुन्दर फूल फक्रन सक्छ भन्ने सन्देश दिएकी छिन् । 

प्रस्तुत कृतिमा उनले नेपाली संस्कार र तिनका खराब पक्षको पर्दाफास गरेकी छिन् । समाजिक विकृति र विसंगतीमाथि कडा प्रहार गर्दै सुधारका लागि शंखघोष गरेकी छिन् । पुस्तक पढ्दा थाहा पाइन्छ, कति कारुणिक थियो उनको बाल्यकाल । उनको संघर्षको कथा पढ्दा सबैका आँखा रसाउँछन् । 

दुःख पछि पक्कै सुख आउँछ । आत्मबल र इच्छाशक्ति भएमा असंभव भन्ने केही हुँदैन भन्ने सन्देश दिएकी छिन् साहित्यकार झमक घिमिरेले ।  

उनको पहिलो प्रकाशित कृति ‘संकल्प’ हो । त्यसबाहेक ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छे भित्रका योद्धाहरू’ र ‘नौलो प्रतिबिम्ब’ उनका कविता संग्रह हुन् । उनका ‘पर्दा’ तथा ‘समय र मान्छेहरू’ नामक कथा किताब पनि छापिएका छन् । त्यसैगरी ‘बेमौसमका आस्थाहरू’, ‘सम्झनाका बछिटाहरू’,  ‘अवसानपछिको आगमन’ उनका थप कृति हुन् । 

साहित्यिक क्षेत्रमा पु¥याएको अतुलनिय योगदानको सम्मानस्वरुप उनले बेलाबेलामा पुरस्कार पाउँदै आएकी छिन् । उनले नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार’ पनि पाइसकिन् ।  

झमक पछि मलाई मन पर्ने अर्का साहित्यकार हुन् महाकवी लक्ष्मीप्रसाद देवकोटा । उनी राष्ट्रियता, मानवता र प्रकृति प्रेमका त्रिवेणी हुन् । उनको खण्डकाव्य ‘मुनामदन’ पनि मलाई मन पर्छ । मलाई उनका कृति मध्ये ‘आकाश बोल्छ’ र ‘पुतली’ कविता एकदमै मन पर्छ । 

अर्का मन पर्ने स्रष्टा हुन् भरतराज पन्त । उनी प्रतीक र बिम्बको सहाराले जीवन दर्शन र आदर्श समाज निर्माणको सन्देश दिन सिपालु छन् । उनका कृतिमध्ये ‘सन्तुष्टि’ कविता पनि एक हो जसमा सुन्दर भाषाशैली, अर्थपूर्ण शब्द चयन र जीवन दर्शन झल्काइएको छ । 

मलाई सबै भन्दा मन पर्ने स्रष्टा झमक नै हुन् । साँच्चै, जीवन सुख र दुःखको घामछायाँ हो भन्ने कुरा उनको जीवनबाट छर्लंग हुन्छ । दुःख पछि पक्कै सुख आउँछ । आत्मबल र इच्छाशक्ति भएमा जीवनमा असंभव भन्ने केही छैन भन्ने सन्देश दिएकी छिन् उनले । त्यसैले आफूलाई विश्वास गरी संघर्ष, साहस, धैर्य र साधनाका साथ हामीले जीवनको रथ अघि बढाउनु पर्छ । 
प्रेरणाकी स्रोत झमक घिमिरेलाई धेरैधेरै शुभकामना ! 

प्रकाशित: २४ वैशाख २०७७ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App