६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

दाउराको व्याटले खेल्दा...

अनुषा घिमिरे, कक्षा: ९ 
सरस्वति माध्यमिक विद्यालय, जोरपाटी, काठमाडौं।

कोरोना भाइरस संक्रमण हुने डरले हामी घरभित्रै बसेका छौं । लकडाउनमा बस्दा मान्छेमा अल्छिपना र मानसिक रोग देखिएको छ । तर हामीले घरमै योग, सिर्जनात्मक अभ्यास, परिवार मिलेर परिकार बनाउने, रमाइलो गफगाफ गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा लकडाउनको सही सदुपयोग हुन्छ । 

म लकडाउन हुनुभन्दा पहिल्यै वार्षिक परीक्षा सकेर ठूलीेममिको घर ओखलढुंगामा आएकी छु । यहाँको गाउँले वातावरण मलाई एकदमै मन प¥यो । घरमै उत्पादित दूध, दहि, घ्यू र अन्न खान पाउँदा दंग छु । बिहान र साँझ हिमाली भेगबाट आएको चिसो हावाले कोरोनाको त्रास पनि उडाएर लान्छ जस्तो लाग्छ । 

यहाँ हामी आफूले सक्ने काम गर्छौं । दिदीका छोराछोरी पनि ठूलठूलै भएकाले बेला बेलामा हामी खेल्ने गर्छौं । बिहान, हामी उठ्न साथ चिया खाजा खाएर इस्किपिङ् खेल्छौं । जिउबाट खलखल पसिना चुहाउँछौं । फुर्सदमा क्याण्डि क्रस सागा ,कल ब्रेक, वर्ड लिंक, लुँडो लगायत गेम खेल्छौं । 

पारस खड्का र सन्दिप लामिछानेले ब्याटले हानेर बल उडाएको देख्दा मलाई पनि क्रिकेट खेल्न मन लाग्थ्यो । त्यो रहर पुरा गर्न पाउँदा खुसी छु ।

हामीलाई क्रिकेट खेल्न मन लागेकाले आफैंले दाउराबाट क्रिकेट ब्याट बनायौं । टिभीमा पारस खड्का र सन्दिप लामिछानेले ब्याटले हानेर बल उडाएको देख्दा मलाई पनि क्रिकेट खेल्न मन लाग्थ्यो । त्यो रहर पुरा गर्न पाउँदा खुसी छु । एक जनाले ब्याटिङ्, अर्कोले बलिङ् अनि अर्काले फिल्डिङ् गरेर तीन जना मिलेर  क्रिकेट खेल्यौं । कहिले चौका त कहिले छक्का अनि कहिले चाँहि दौडिएर रन लिन जाँदाको मज्जा बेग्लै थियो । भाइ, बहिनीसँग खेल्दा, आफू पनि उनीहरूकै उमेरको हो कि जस्तो महसुस हुन्छ । 

मलाई चेस खेल्न आउँदैनथ्यो । घरमै भाइसँग चेस बोर्ड भएकाले अलिअलि गर्दै खेल्न सिकें । जति सिक्दै गयो, त्यति नै खेल्ने इच्छा बढ्दो रहेछ । भ-याङ चढ्दा रमाइलो अनि सर्पबाट झर्दा उदास मन बनाउँदै लुँडो पनि खेल्यौं । 

मलाई घरबाहिर खेलिने ब्याडमिन्टन र क्रिकेट असाध्यै मनपर्छ । ब्याडमिन्टन र क्रिकेट खेल्दा मनोरञ्जन हुनका साथै शरीर पनि फुर्तिलो र तन्दुरूस्त हुने भएकाले यी खेल मलाई मनपरेका हुन् । त्यसैगरी घरभित्र खेलिने खेलमा चेस, लुँडो र क्यारम खेल्न मन पर्छ । चेस खेल्दा बौद्धिक विकास हुन्छ ।

हाम्रो विद्यालयमा हप्ताको एक दिन शारीरिक तथा मानसिक विकासका लागि खेल खेलाइन्छ । साथै हरेक वर्ष विद्यालयले स्र्पोट्स विक पनि मनाउँछ । जसमा मैले पनि सहभागगिता जनाएर थुप्रै खेलमा जित्ने अबसर प्राप्त गरेकी छु । 

हरेक मानिसमा एउटा न एउटा प्रतिभा लुकेको हुन्छ र त्यसलाई चिनेर अघि  बढ्न सकेमा ऊ सफल बन्न सक्छ । खेलकुद आज व्यक्तिको सम्मान र प्रतिष्ठासँग पनि जोडिन पुगेको छ । पारस खड्का, सन्दिप लामिछाने, लियोनल मेस्सी, पेले जस्ता खेलाडिले खेलकुदबाट नाम र दाम कमाएका छन् । 

समय मिलाएर सबैले खेल खेल्नु पर्छ । एउटाले जित्ने र अर्कोले हार्ने त खेलको नियमै हो । त्यसैले हारें भन्दैमा खेल्नै छाड्नु हुन्न । मेरो विचारमा हार नै जितको प्रतीक हो । चर्चित बास्केट बल खेलाडी कारेम अब्दुलले पनि भनेका छन्, ‘जबसम्म तिमीले कसरी हार्ने भनेर सिक्दैनौ तबसम्म तिमीले जित्दैनौं ।’

जीवनमा त्यो मानिस सफल बन्छ जो हार्नबाट डराउँदैन । खेलमा एकाग्रता, अनुशासन र स्वच्छ प्रतिस्पर्धा हुनु पर्दछ । यस्तो खेलबाटै सहयोगी भावना बढ्न सक्छ । अनि आपसमा आत्मियता बढ्न जान्छ । आज कुनै न कुनै खेलमा अस्वच्छ प्रतिस्पर्धा पनि भइरहेको पाइन्छ । जसरी पनि जित्नै पर्ने मानसिकताले नराम्रो असर परेको छ । खेल हुनुभन्दा अघि नै हारजित निश्चित गर्नु, छलकपट हुनु, खेलाडीलाई धम्की दिनु र तिनलाई खरिद गर्न खोज्नु आदि जस्ता खराब आचरणका कारण खेल जगत नै बेलाबखत विवादमा फस्न पुग्छ । यस्तो हुनु दुर्भाग्यपुर्ण कुरा हो ।

प्रकाशित: १८ वैशाख २०७७ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App