काठमाडौं - सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीभित्र पकड जमाउन अन्य नेताहरुलाई आ–आफ्नो पक्षमा फकाउन थालेका छन्। ओलीले माधवकुमार नेपाललाई पटकपटक बालुवाटार बोलाएर घण्टौं कुराकानी गर्न थालेका छन्। दाहालले पनि तीन दिनको बीचमा दुई पटक रामबहादुर थापा र उनी पक्षका नेतालाई खुमलटारस्थित निवासमा बोलाएर बैठक गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मात्र भेटिरहेका छन्। उनले नेपाल पक्षका अन्य नेतालाई भने भेटेका छैनन्।
राजनीतिक दलसम्बन्धी कानुन संशोधन अध्यादेशमा गृहमन्त्रीसमेत रहेका थापाले ओलीलाई साथ दिएपछि दाहाल झस्केका छन्। त्यसैले दाहाल थापालाई फकाउन लागिपरेका हुन्। खुमलटार निकट स्रोतका अनुसार दाहालले थापा र उनको समूहका नेताहरु देव गुरुङ, पम्फा भुसाल, सूर्य सुवेदीलगायतलाई भेटेर आफ्नो धारणा राखेका छन्।
दाहाले मंगलबार बेलुका थापासहित गुरुङ र भुसाललाई बोलाएर भेटेका थिए। उनले बिहीबार भने थापासहित गुरुङ भुसाल र सुवेदीलाई बोलाएर छफफल गरे। छलफलमा दाहालले अबदेखि पार्टी फुटाएर मोहन वैद्य पक्षमा गएको भन्ने दोषारोपण गरी थापा समूहसँग विभेद गरिने छैन भन्दै आत्मालोचना गरेका थिए।
ओलीले केही समयदेखि नेपालको साथ खोज्दै आएका छन्। पार्टीमा दाहालले पेल्न थालेको महसुस गरेपछि ओलीले नेपाललाई फकाउन थालेका हुन्।
‘उहाँहरूलाई खुमलटार बोलाइएको थियो। नेताहरूले खुलेर कुराकानी गर्नुभयो। समस्या आए मिलेर समाधान गर्ने कुरा भयो। दुवै पक्षबाट गल्ती भएका भए माफी गरौंैंसम्मका कुराकानी आए। अबदेखि पार्टीमा कसैलाई पनि मबाट विभेद गरिने छैन भनेर अध्यक्ष दाहालले भन्नुभयो’, स्रोतले दाहाललाई उद्धृत गर्दै भन्यो। थापाले पनि दाहालसँग खुलेरै कुरा राखेका थिए। ‘तपाईं पटकपटक मलाई गृहमन्त्रीबाट हटाउने खेलमा लाग्नुहुन्छ तर भेट्दा केही भन्नुहुन्न।
मबाट गल्ती भएको भए मलाई नै भन्नुस्। मन्त्रीबाट फिर्ता बोलाउनुस् तर हटाउने भन्दै किन हिँड्नुहुन्छ। यसबाट न तपार्इंको हित हुन्छ न मेरो’, थापालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारले राम्रो काम गरेको छैन भने सबैलाई हटाउने प्रस्ताव पार्टी बैठकमा लैजानुस् तर सरकारले गरेका कामको विषयमा पार्टीभित्रै छलफल नगरी बाहिर विरोध मात्रै गर्ने तरिका ठिक भएन।’
थापाले आफूविरुद्ध नियोजित प्रचारबाजी भएको भन्दै दाहाललाई केही नेताको घेराबन्दीबाट मुक्त हुन आग्रह गरेका थिए। ‘तपाईं सीमित नेताहरुको कुरा सुनेर हामीलाई विभेद गरिरहनुभएको छ। यो राम्रो पक्ष होइन। साथीहरुको मर्म र भावना तपाईंले पनि बुझ्नुपर्छ’, थापाले भनेका थिए। जबाफमा दाहालले अबदेखि आफूबाट कमजोरी नहुने बताएका थिए।
‘मबाट पनि कमजोरी भए होलान्। अब सुधार हुनेछन्’, दाहालले सबैलाई समान दृष्टिले हेर्ने प्रतिबद्धता व्यक्त गर्दै भनेका थिए। स्रोतका अनुसार दुवै नेताबीच अब एकले अर्कोलाई सहयोग गर्ने सहमति बनेको छ। थापा निकट केन्द्रीय सदस्य महेश्वर दाहालले नेताहरूबीच भेटघाट हुनु सामान्य भएको बताए। ‘उहाँहरुबीच भेटघाट हुनु नौलो कुरो होइन। यो समान्य नै हो’, दाहालले भने। थापा सधै पार्टी एकता पक्षमा रहेको र सरकार–पार्टी समन्वय आवश्यक रहेको भन्ने पक्षमा रहेको उनले बताए।
‘पार्टी एकतलाई मजबु्त बनाएर लैजानुपर्छ र सरकारले ल्याएका हरेक कामको विरोधका लागि विरोध गर्ने होइन, सरकारलाई रचनात्मक सहयोग पनि गर्नुपर्छ भन्ने उहाँ (थापा) को धारणा हो’, केन्द्रीय सदस्य दाहालले भने।
त्यस्तै ओलीले नेपाललाई फकाएर आफ्नो पक्षमा उभ्याउने कोसिस गरिरहेका छन्। ओलीले अध्यादेश ल्याउनुअघि नेपाललाई बालुवाटारमा बोलाएर चार घण्टा छलफल गरेका थिए। त्यसअतिरिक्त पनि ओलीले नेपाललाई पटकपटक बोलाएर परामर्श गरेका छन्। अध्यादेश जारी हुनुअघि र जारी भएपछि पनि ओली–नेपाल भेटघाट बाक्लै भएको छ। सोमबार अध्यादेश जारी भएपछि त्यसको सर्वत्र विरोध भयो। नेकपा सचिवालय बैठकमा पनि अध्यादेशको आलोचना भयो।
स्थायी समिति सदस्यले पनि सो समितिको बैठक बोलाउन माग गरे। दबाब थेग्न नसकेपछि ओलीले नेपाललाई बालुवाटार बोलाएर छलफल गरे। नेपालले अध्यादेश फिर्ता लिन सुझाएको उनी निकट स्रोतले बतायो। ओलीले केही समयदेखि नेपालको साथ खोज्दै आएका छन्। पार्टीमा दाहालले पेल्न थालेको महसुस गरेपछि ओलीले नेपाललाई फकाउन थालेका हुन्। ओलीले नेपाललाई फकाउन आफू निकट नेतालाई पटकपटक नेपाल निवास कोटेश्वर पनि पठाउने गरेका छन्। प्रधानमन्त्रीले आफ्ना प्रमुख सल्लाहकार विष्णु रिमाल, खगराज अधिकारी, महेश बस्नेतलगायतलाई नेपालसँग भेट्न पठाएका थिए।
स्थायी कमिटी बैठक माग यथावत
सरकारले विवादास्पद दुई अध्यादेश शुक्रबार फिर्ता लिए पनि स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग भने यथावत छ।
सरकारले सोमबार अध्यादेश ल्याएपछि स्थायी कमिटीका २० सदस्यले तत्काल स्थायी कमिटी बैठक डाक्न माग गर्दै दुवै अध्यक्षलाई पत्र बुझाएका थिए। बिहीबार साँझ कार्यकारी अध्यक्ष दाहालसहित सचिवाला सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेलको भैंसेपाटीमा बसेको बैठकले तत्काल अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो। प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठकमा अध्यादेश आवश्यक भएरै ल्याएको तर पार्टीभित्र र बाहिरबाट विरोध भएका कारण फिर्ता लिनुपर्ने अवस्था आएको बताएका थिए , सोही बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
अध्यादेश खारेज भए पनि स्थायी कमिटी बैठक माग गर्ने पक्ष आफ्नो मागमा अडिग छ। प्रधानमन्त्री ओली भने मौन छन्। अध्यादेश फिर्तापछि सचिवालय सदस्य झलनाथ खनालले भने, ‘सरकारले अध्यादेश फिर्ता लिएर राम्रो काम भयो तर पार्टीभित्र विविध विषय उठेका छन्। त्यसबारे बैठक बोलाएर जवाफ दिनुपर्छ।’
प्रकाशित: १३ वैशाख २०७७ ०२:५८ शनिबार