११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

कोरोनाविरुद्ध सक्रिय विश्वनेता

कोरोना भाइरसको महामारीले विश्वभर झन्डै दुई लाखको ज्यान लिएको र २५ लाखभन्दा बढी संक्रमित भइसकेको अवस्थामा यसको नियन्त्रण र उपचारका लागि विश्वभरका नेताको भूमिका फरक–फरक देखिएको छ ।

चीनले कोरोना नियन्त्रण र उपचारमा  निकै महत्वपूर्ण उपलब्धि हालिस गरेको छ । कोरोनाको संक्रमण भएको वुहान लगायतका सहरलाई तत्काल लकडाउन गर्नेदेखि दु्रत गतिमा अस्पताल तथा आवश्यक औषधि र उपकरणको व्यवस्था गर्न चीनले कुनै कसर बाँकी राखेन । यसका लागि चिनियाँ राष्ट्रपति आफैं पनि निकै सक्रिय रहेको पाइयो । कोरोनाको इपिसेन्टर मानिने वुहानमा मानिसहरू जान डराइरहेका बेला राष्ट्रपति सी मार्च १० मा आफैं इपिसेन्टर वुहान पुगेका थिए । कोरोनाको रोकथाम र उपचारमा मात्र होइन, आफ्नो अनुभव तथा स्वास्थ्य सामग्रीको उत्पादन र निर्यातमा समेत चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ । हाल कोरोनाको उपचारका लागि नेपालसहित विश्वका ८० भन्दा मुलुकले चीनबाटै आवश्यक स्वास्थ्य सामग्री आयात गरिरहेका छन् । 

त्यस्तै, दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनको भूमिका पनि कोरोना नियन्त्रणका लागि निकै महŒवपूर्ण रहेको छ । मुन सरकारले कोरोना नियन्त्रणमा गरेको पहलका कारण दक्षिण कोरियामा कोरोनाको प्रकोप अनुमान गरेभन्दा सहज तरिकाले नियन्त्रण गरेको छ । कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले गरेको प्रहल र प्रविधिको सहयोग अमेरिकाले माग गरिरहेको छ । मुनले लिएको पहल कदमीका कारण हालै दक्षिण कोरियामा सम्पन्न निर्वाचनमा उनको पार्टीले बहुमत हासिल गरेको छ । 

कोरोना भाइरसको नियन्त्रण तथा संक्रमितलाई उपचारको पहलबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसन आफैं कोरोनाबाट संक्रमित भएका छन् । हाल उनी स्वास्थ्य लाभको प्रक्रियामा  छन् । आफू संक्रमित भइसकेपछि पनि उनले सामाजिक सञ्जालमार्फत कोरोनाबाट सचेत रहन नागरिकलाई आग्रह र सरकारका तर्फबाट आवश्यक पहलकदमी गर्दै आएको छ ।

विश्वका शक्तिशाली राष्ट्र र सरकार प्रमुख कोरोना भाइरसबाट नागरिकलाई जोगाउन सक्रिय रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने राजनीतिक दाउपेचमा लागेका छन् ।

कोरोनाले विश्वलाई घेराबन्दी गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लामो समय आरोप प्रत्यारोपमा लागिरहे । उनी कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिँदै चीनसँग ‘पोक्सी वार’मा उत्रिए । कोरोनाको चपेटामा सबैभन्दा बढी अमेरिका पर्दासमेत ट्रम्प भने अनौठा हर्कत गरिरहेका छन् । कोरोना नियन्त्रणका लागि प्रयासरत विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम कटौती गर्ने निर्णयदेखि आफैंले औषधि सिफारिस गर्ने लगायतका उनका  गतिविधिका कारण चिकित्सकसमेत हैरान भएका छन् । 

कोरोना नियन्त्रणभन्दा अन्य कुरामा बढी जोड दिएको भन्दै अमेरिकाभित्रै उनको चर्काे आलोचना भइरहेको छ । लाखौं नागरिक कोरोनाको चपेटामा परिसकेको र  हजारौंले ज्यान गुमाइसक्दा पनि उनी लकडाउन खुलाउने तथा आरोप प्रत्यारोप गर्ने लगायतका गतिविधिमा बढी केन्द्रित भएका छन् । 

कोरोनाका नियन्त्रणका सन्दर्भमा महिलाले नेतृत्व गरेका मुलुकहरू तुलनात्मक रूपमा सक्षम देखिएका छन् । महिलाको नेतृत्व रहेका जर्मन, न्युजिल्यान्ड, आइल्यान्ड, फिनल्यान्ड, ताइवान, नर्वे, डेनमार्क लगायतका मुलकमा कोरोना नियन्त्रण तथा रोकथामका लागि भएका प्रयास सन्तोषजनक देखिएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केल, न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेर्न तथा ताइवानकी राष्ट्रपति साई इङवेन कोरोना नियन्त्रणका लागि प्रभावकारी पहल गरेका कारण पछिल्लो समय चर्चामा छन् । 

दक्षिण एसियालीमा  भुटान र नेपालले कोरोना नियन्त्रण तथा रोकथामका लागि खेलेको भूमिका सन्तोषजनक देखिन्छ । भुटानमा लोट्य छिरिङ नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेको पहल सन्तोषजनक देखिएको छ । दक्षिण एसियामा हालसम्म सबैभन्दा कम कोरोनाका बिरामी भएको मुलुक भुटान हो । भुटानका प्रधानमन्त्री आफैं पनि मेडिकल डाक्टर हुन् । भुटानले कोरोना रोकथाम तथा विदेशमा अलपत्र नागरिकको उद्धारमा उल्लेख्य काम गरिरहेको छ । 

विश्वको दोस्रो ठूलो जनसंख्या रहेको भारतमा पछिल्लो समय कोरोनाको प्रभाव दैनिक रूपमा बढिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयदेखि मुलुकलाई लकडाउन गरेका छन् । उनले बेलाबेलामा नागरिकको ध्यान मोड्न कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएकाको सम्मानमा भन्दै थाल ठटाउने तथा दीप जलाउने लगायतका गतिविधिमा नागरिकलाई सहभागी हुन आग्रह गर्दै आएका छन् । तथापि, कोरोना नियन्त्रका लागि उल्लेख्य प्रयास वा नियमित जानकारी दिने लगायतका काम भने उनीबाट भएको देखिँदैन ।

दक्षिण एसियामा भुटानपछि नेपालमा  तुलनात्मक रूपमा कोरानाका बिरामी कम देखिएका छन् । सरकारले करिब एक महिनादेखि लकडाउन र कोरोनाका बिरामीको परीक्षणका लगायतका काम  गरिरहेको छ । तथापि, मानवीय संकटका बेला औषधि आयातमा अनियमितता, स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिइएको, सीमा नजिकै आएर स्वदेश फर्किन चाहने नागरिकको चित्कार नसुनिएको भनेर सरकारको आलोचना गरिएको छ । त्यस्तै, नागरिकले घर फर्कन दुःख कष्ट सहेर लामो दुरीको यात्रा तय गर्दा पनि मूकदर्शक बनेको भनेर केपी शर्मा ओली नेतृत्वको सरकारमाथि आरोप लगाइएको छ ।

मुलुकको सम्पूर्ण शक्ति कोरोना विरुद्धको लडाइँमा केन्द्रित हुने बेला विवादास्पद अध्यादेश ल्याएर जनताभन्दा राजनीतिक दाउपेचमा जोड दिएको तथा अमेरिकी राष्ट्रपतिले आफैं कोरोनाका लागि आवश्यक औषधि सिफारिस गरेकै शैलीमा ओलीले कोरोनाबाट कसरी बाँच्न सकिन्छ भन्ने भ्रमपूर्वक जानकारी फैलाउने काममा गरेका छन् । त्यस्तै, प्रधानमन्त्री ओलीको पछिल्लो राजनीतिक दाउपेच र यसबीचमा सरकारको भूमिका हेर्दा नेपालमा कोरोनाको महामारी फैलिएको अवस्थामा त्यसको नियन्त्रणका लागि सरकारको भूमिका  प्रभावकारी नहुने हो कि भन्ने आशंका बढ्दै गएको छ ।

प्रकाशित: ११ वैशाख २०७७ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App