९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

पैदलयात्री मजदुरलाई स्थानीय सरकारको साथ

मजदुरलाई ट्र्याक्टरमा राखेर अर्को पालिका पुर्‍याइँदै। तस्बिरः अर्जुन ओली

आफ्नो घर कैलाली जानका लागि परिना चौधरीका दम्पती डेढ वर्षे छोरो बोकेर बुटवलदेखि हिँडे। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले लक–डाउन गरेपछि उनीहरूलाई बस्न–खान समस्या भयो। आफ्नो घर पुगे बाँचिएला भनेर परिनाका श्रीमान् जीवन र अन्य केही साथीले पैदल हिँड्ने निर्णय गरेका थिए। चारदिनको कष्टपूर्ण हिँडाइपछि उनीहरू बाँके र दाङको सिमाना शिवखोलासम्म आइपुगे। उनीहरू बेसरी थाकेका थिए,उनीहरूका लागि देउता साबित भयो– स्थानीय सरकार। 

बाँके र दाङको सीमासम्म आइपुगेका पैदलयात्रीलाई गन्तव्यमा पुर्‍याउन बाँकेको राप्तीसोनारी गाउँपालिकाले निःशुल्क यातायातको व्यवस्था गरेको छ।गाउँपालिकाले विगत तीन दिनदेखि ट्र्याक्टर र ट्रकमार्फत कोहलपुरसम्म पुर्‍याउने व्यवस्था मिलाइरहेको छ। पूर्वमा शिवखोलादेखि पश्चिममा कोहलपुर नगरपालिकाको सिमाना ७१ किलोमिटर क्षेत्र राप्तीसोनारी गाउँपालिकामा पर्छ। आफूहरूले दाङको सीमाबाट करिब ७५ किलोमिटर पश्चिममा पर्ने कोहलपुर बजारसम्म पैदलयात्रीलाई पुर्‍याउने काम गरिरहेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। थारु भन्छन्, ‘संघीय सरकारले लक–डाउन गरेपनि चर्को गर्मीमा पैदल हिँड्ने सर्वसाधारण समस्यामा परेका छन्। मानवीय नाताले पनि हामीले मानिसलाई सहयोग गर्नुपर्छ।’ 

राजमार्गमा अलपत्र परेका नागरिकलाई आफ्नो घरसम्म जानका लागि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सहयोग गर्ने हो भने धेरैको उद्धार हुन सक्ने थारुको सुझाव छ। लक–डाउन अवधि लम्बिएसँगै कोरोना भाइरस संक्रमणको त्रास पनि बढेको छ। त्रास र अनेक समस्यासँगै विभिन्न क्षेत्रमा काम गर्ने मजदुर आफ्नो घर जानका लागि हिँडिरहेका छन्। महेन्द्र र हुलाकी सडकखण्डमा काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, बुटवल सहरमा ज्यालादारी काम गर्न गएका मानिस आफ्नो घर फर्कनका लागि पैदलयात्रा गरिरहेका भेटिन्छन्। यस्ता पैदलयात्रीलाई प्रदेश नम्बर ५ को बाँके, बर्दिया, दाङ, रुपन्देही, अर्घाखाँचीका स्थानीय तहले सहयोग गरेका छन्।

भोकै हिँडेकालाई खाना 
बाँके र बर्दियाको सिमानासँग जोडिएको गाउँपालिका हो, खजुरा। गाउँपालिकाभित्र पर्ने सडकहुँदै बर्दिया र ७ नम्बर प्रदेश जाने पैदलयात्री हिँडिरहेका देखिन्छन्। बाटोमा अलपत्र र भोका यात्रीलाई मध्यनजर गर्दै खजुरा गाउँपालिकाले निःशुल्क खाना खुवाउने व्यवस्था गरेको छ। खजुराको बर्दिया नजिकै पर्ने सिन्दुरेगाउँमा गाउँपालिकाले मेस नै सञ्चानल गरेको छ। सामाजिक दूरीलाई कायम राख्दै आपतमा परेका मानिसलाई खाना खुवाउन खजुराको वडा नम्बर ६ ले व्यवस्था मिलाएको बताउँछन्, वडा अध्यक्ष अतिउल्ला खाँ। खजुरा गाउँपालिका मात्र होइन, बाँकेका अन्य स्थानीय तहले यस्तै उदाहरणीय सहयोग गरेका छन्।आइतबार पाणिनी गाउँपालिका वडा नम्बर–८ मा एउटा फरक दृश्य देखियो। बाग्लुङ र गुल्मीबाट भोकभोकै आएका मजदुरका अवस्था देखेर गाउँलेहरू भावुक भए। ठूलो झोला बोकेका र पहाडियाहरू भन्दा फरक देखिने मान्छेको लाम देखेर सुुरुमा कतिपय गाउँले झस्किएका थिए। सोधपुछ गर्दै जाँदा उनीहरू मजदुर भएको र भोकभोकै हिँडिरहेको थाहा पाए। गाउँलेले यसबारे जनप्रतिनिधिहरूलाई खबर गरे।

पाहुनालाई जस्तै स्याहार गरी राखेकामा पैदलयात्री मजदुरहरूले सबैलाई धन्यवाद दिए। अन्य स्थानमा पानी पिउन समेत नपाएको गुनासो गरेका उनीहरूले सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दैबिदा भए।

गाउँपालिकाको पहलमा बाग्लुङदेखि आएका १५ जना र गुल्मीदेखि आएका १० जना मजदुरलाई खाना खुवाइयो। गाउँपालिका अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम, वडा नम्बर–८ का अध्यक्ष मिनराज आत्रेय, स्थानीय जनप्रतिनिधि,स्वास्थ्यकर्मी र स्थानीयवासीको सक्रियतामा उनीहरूलाई खाना खुवाइएको हो। उनीहरूको स्वास्थ्य परीक्षण गरिएको र सबैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्यचौकी इन्चार्ज रामप्रसाद घिमिरेले जानकारी दिए। लक–डाउनपछि अलपत्र परेर बाग्लुङबाट पैदलै आएका १५ जनालाई आइतबार बिहान गाउँपालिकाको गाडीमा गोरुसिंगेसम्म पुर्‍याइएको छ। कैलाली र सुर्खेत जिल्लाका सम्बन्धित स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी गोरुसिंगेबाट उनीहरूको घरसम्म लैजाने व्यवस्था मिलाइदिएको पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए। गुल्मीबाट आएका १० जनालाई पनि त्यसैगरी गन्तव्यमा पु¥याउन गाडी पठाइएको उनले जानकारी दिए। 

उनीहरूलाई बेलुकाको खाना गाउँपालिकाले व्यवस्था गरेको थियो भने बिहान स्थानीयहरूले खुवाएका थिए। कमला माविमा रहेको क्वारेन्टाइनमा उनीहरूले रात बिताए। पाहुनालाई जस्तै स्याहार गरी राखेकामा पैदलयात्री मजदुरहरूले सबैलाई धन्यवाद दिए। अन्य स्थानमा पानी पिउन समेत नपाएको गुनासो गरेका उनीहरू गाउँपालिका र सहयोग गर्ने सबैसँग भावुक हुँदै बिदा भए। टीकापुर नगरपालिका–१ का जंगबहादुर चौधरीले सबै यस्तै मनकारी भए हाम्रो देश कस्तो हुन्थ्यो होला ? भन्दै वेदना पोखिरहेका थिए। ‘बाटोमा हामीलाई देख्दा सबै लुक्थे,’ मलिन अनुहार लगाउँदै उनले भने,‘पानी पिउन समेत कसैले दिएन।’ जनताले लक–डाउनमा समस्या भोगेजस्तै स्थानीय तहले पनि यतिबेला अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्। गरिबी र समस्यामा परेका नागरिकको यकिन तथ्यांकको अभाव, राहत वितरणमा राजनीतिक हस्तक्षेप, संकटमा काम गर्नका लागि पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति अभावले अप्ठेरो परिरहेको अनुभव सुनाउँछिन्, नेपालगन्ज उपमहानगरपालिका बोर्ड सदस्य वसन्ता जोशी।

उनले भनिन्,‘नगरपालिकाले मात्र सबै कुरा गर्न सक्ने अवस्था छैन। स्थानीय वडा र आम नागरिकले यस्तो बेला सहयोग गर्नुपर्छ। हामीले आफ्नै पहलमा राहत वितरण गरेको छौं। यसमा स्थानीयले सहयोग गरेका छन्। सरकारको राहतले मात्रै समस्या समाधान गर्न सकिन्नँ।’

प्रकाशित: ११ वैशाख २०७७ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App