आशुतोष ढुंगाना, कक्षा : ७
गन्डकी आवासिय बिद्यालय,पोखरा।
स्कुलको अन्तिम दिन, लामो बिदा हुने भयो भनेर हामी खुशी भयौं । साथीहरूका जस्तै मेरा पनि योजना थिए । फिल्म हेर्न जाउँला, क्रिकेट खेलौंला र घुम्न जाउँला भनेर योजना बनाएको थिएँ । तर, सरकारले लकडाउन घोषणा गरेपछि निराश बनें ।
घरमै थुनियर बसेका बेला झ्यालबाट हेर्दा बाहिर जाउँजाउँ जस्तो हुन्थ्यो । चन्चले स्वभावको म दिनभर घरमा बस्दा २–४ दिन त जेलमा बसेझैं भयो । दिनभर पब्जी खेल्ने, सुत्ने र मोबाइल चलाउने गरेकाले म भित्र सामाजिक नैतिकता कम हुँदै थियो भने म एकोहोरिँदै थिएँ । एकछिन बिजुली जाँदा पनि मलाई के गरुँ के गरुँ जस्तो हुन्थ्यो । केही काम नपाएर सुत्थें तर मेरो अगाडि कति धेरै अबसर छन् भन्ने मैले थाहा पाउन सकेको थिइन् ।
हुन त मोबाइल फोन प्रयोग गर्नुलाई हामी सामान्य ठान्छौं । यसको अधिक प्रयोगले नकारात्मक असर गर्छ । एक दिन मलाई आमाले पढ्पढ् भन्नु भएकाले थन्किएका किताब पल्टाउन थालें । त्यहाँ हाम्रै बिद्यालयका पूर्व विद्यार्थी प्राबिधिक केट केसीद्वारा लेखिएका ‘आर्तनाद’ भन्ने किताब पढन थालें । केही पाना पढेपछि अझै पढन मन लाग्यो किनकि किताब रोचक तरिकाले लेखिएको छ । किताब पढ्दा टाउको दुख्ने मैले त्यो किताब तीन दिनमै पढेर सिध्याएँ ।
त्यसपछि मैले घरमा भएको इन्साक्लोपेडिया पढें । यसरी ममा पढ्ने बानी बिकास हुँदै गयो । किताब पढेर बिभिन्न कुरा सिक्न पाउँदा मैले म कति मोबाइलमा अल्झिँदो रहेछु भन्ने थाहा पाएँ ।
समय बित्दै गयो र मैले कार्यचक्र जीवन जीउन थाले । प्रत्यक बिहान आमाले उठाउनु पथ्र्यो । अचेल म आमा भन्दा पहिला उठन थालेको छु । त्यस पछि शारिरीक सफाइ र व्यायाम गरेर खाना खान्छु । खाना पछि पढ्छु । चित्र कोर्छु र साँझ समाचार सुन्छु । विभिन्न शिर्षकमा निबन्ध लेख्न सुरु गरेको छु । परिवारका सदस्यसँग कुराकानी पनि गर्छु ।
परिवारसँग समय विताउने अबसर बनेको छ लकडाउन । यतिवेला हामीले अनुभव र विचार बाँड्न पाएका छौं । आमा र बुवा अफिसमा, दिदी काठमाडौं र म विद्यालयमा हुने भएकाले राम्ररी कुराकानी पनि हुँदैनथ्यो । अहिले सबैसँग समय विताउन पाउँदा खुसी लागेको छ ।
त्यसैगरी हिजोआज आमालाई खाना पकाउन पनि सघाउँछु । मैले अम्लेट, सुख्खारोटी, चिया र दाल बनाउन सिकें । आफुले बनाएको भने पछि अम्लेटमा नुन धेरै, सुख्खा रोटी टाटेपाटे हुँदा र चियामा चिनी कम हुँदा पनि मिठो लाग्दो रहेछ । आमाले कति मेहेनत गरेर खाजा बनाउनु हुँदो रहेछ भन्ने थाहा पाएँ ।
आमा बिहानै उठेर हामीलाई खाना बनाउनु हुन्थ्यो तर म नमिठो भनेर वचन लाउँथे । त्यस्तो गर्दा आमालाई कस्तो लाग्थ्यो होला ? यस बीचमा आमालाई बारीमा बोडी, सिमी र चिप्ले भिन्डी रोप्न सघाएँ । फूल पनि रोपें । दिनदिनै फूलमा पानी हाल्ने गरेको छु । मैले सिँचाई गरेको फूल हुर्किरहेको देख्दा मन प्रफुल्ल हुन्छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको त्रास संसारभर छ । त्यही कारण लकडाउन गरिएको हो । यस्तो चुनौतीपूण समयमा हामी जिम्मेवार नागरिक भएर घरभित्रै बस्नु पर्छ । हामी विद्यार्थीले दिनभर मोबाइल फोनमा खेल्नु भन्दा किताव पढ्ने गरौं । सकारात्मक सोच लिऔं ।
तपाईंलाई पनि मलाई झैं झ्यालबाट बाहिर हेर्दा बाहिर जाउँजाउँ लाग्छ होला, तर लकडाउन हाम्रै लागि हो त्यसैले घरभित्रै बस्नुस् है ।
प्रकाशित: ९ वैशाख २०७७ ०६:३७ मंगलबार