३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्य

कहिले चित्रकार, कहिले साहित्यकार

तेजस्वी पन्त,कक्षा- ६
दि एक्सेल्सियर स्कुल, स्वयम्भू, काठमाडौं ।
 

अचेल बिहान उठ्दा टिभीमा कोरोनाको मात्र समाचार सुन्दा दिक्क लाग्छ । म वरिपरि यसो हेर्छु । कोहि कोरोनाको विषयमा नै कुरा गरि रहेका हुन्छन् भने कोहि, ‘यो लकडाउनलाई त खाँदै र सुत्दै टार्ने हो’ भनेको सुन्छु । मेरा लागि त लकडाउन झ्याउ मान्नु पर्ने विषय बनेकै छैन । लकडाउन मेरा लागि अवसर बनेको छ ।

मेरी आमा मलाइ सधैं भन्नुहुन्छ, ‘प्रत्येक दिनमा एउटा नयाँ काम त गर्नु नै पर्छ ।’ त्यही भएर बिहानीको घामको किरण आँखामा परे पछि जब मेरो निद्रा खुल्छ, तब खाटमै बसेर ‘आज म एउटा सृजनात्मक काम गर्छु’ भनेर मनमनै बाचा गर्छु । यसरी सकारात्मक भइ आफ्नो दिनचर्या सुरु गर्दा म दिनभर खुसी र क्रियाशील रहेको अनुभूति गरेकी छु । 

म कहिले चित्र कोर्छु त कहिले कविता लेख्छु । मैले विभिन्न विषयका चित्र बनाउँदा अभिभावक र आफन्तले त्यसको निकै प्रशंसा गर्नु हुन्छ । त्यसरी प्रशंसा पाउँदा मभित्र हौसला बढ्छ । 

मलाई निबन्ध लेख्न पनि रुची छ । विभिन्न सन्दर्भ र विषयका निबन्ध लेख्दै आएकी छु । निबन्धमा कुनै पनि विषयमा आफुलाई लागेका कुरा पनि लेख्न पाइन्छ । 

घरमा एउटा पुरानो खेलौना थियो । मैले त्यसको कपास निकालेर एउटा सिरानी बनाएकी छु । 

मैले पुराना वस्तुबाट कोठा सजाउने राम्रा र आकर्षक वस्तु पनि बनाउने गरेकी छु । मेरो एउटा पुरानो डल थियो । मैले त्यसको कपास निकालेर एउटा सिरानी बनाएँ । मैले थोत्रा कागजबाट पेन्सिल होल्डर, क्यालेन्डर, फुलका बुट्टा पनि बनाउने गरेकी छु । कहिलेकाहिँ त यस्तो गर्दा मनमा विचार पनि आउँछ, ‘थोत्रा सामग्रीलाई सबैले यसरी पुनः प्रयोग ग¥यौं भने त हामी बस्ने ठाउँ पनि कति स्वच्छ र सुन्दर हुन्थ्यो होला ।’ 

लकडाउन नहुँदा मैले यति धेरै सृजनात्मक काम गर्ने अवसर नै पाएकी थिइनँ । अहिले यति दिन बिदा हुँदा घरमै भएकीले यस्ता काम गर्न मन लागि रहन्छ । अहिले त म आफ्नै सृजनात्मक कलासँग भुल्न थालेकी छु । यसरी सृजनात्मक काम गर्दा निकै रमाइलो लाग्न थालेको छ । कहिले म चित्रकार बन्दै चित्र कोर्छु भने कहिले साहित्यकार बन्दै निबन्ध, कविता लेख्छु ।

लकडाउन साँच्चै मेरा लागि अवसर बन्यो । आफ्नो सृजनात्मक कला चिन्ने अवसर, त्यो कला सुधार्ने अवसर र त्यही कलासँग रमाउने अवसर । बाहिर घुम्न जाँदा मात्र रमाइलो हुने रहेनछ । म त घरभित्रै बसि आफू र आफ्नो कलासँग रम्न थालेकी छु । 

अहिलेका लागि हामी सबै लकडाउन पालना गरी सुरक्षित रुपमा घरमै बसौं । यो समयलाई अवसर सम्झेर सृजनात्मक बनौं । परिवारसँग मन खोलेर कुरा गरौं । ज्ञान बढाउने पुस्तक पढौं र सिनेमा हेरौं ।

प्रकाशित: ३० चैत्र २०७६ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App