१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

ज्ञान बढाउन चलचित्र

सर्वज्ञा राई,कक्षा १०
गोल्डेन पिक हाइ स्कुल,चावहिल काठमाडौं।

कोरोनाको कारण हाम्रो एसइई परीक्षा पनि स-यो । लकडाउनमा हरपल परिवारसँगै बस्न पाएकी छु । यतिवेला धेरै काम सिक्ने मौका पनि पाएँ । ममी र बाबासँग खाना बनाउन सहयोग गर्दैछु ।

समिक्षा दिदी र मेरो एक जोडी छ भने ममी र बहिनीको अर्को जोडी । उहाँहरूले  भाँडा माझे हामी लुगा धुन्छौं, उहाँहरूले लुगा धोए हामी भाँडा माझ्छौं ।  हजुरआमालाई सहारा चाहिन्छ, त्यसैले बेलुकीपख आँगनमा हिँडाउँछौं । हजुरआमाले गाँउका बारेमा, उहाँका बाल्यकालका घटना सुनाउँदा लोककथा जस्तो लाग्छ । 

ममी र बाबा अफिसको काम घरबाटै गर्नु हुन्छ, त्यसैले उहाँहरूका लागि दिउँसोको खाजा बनाउने काम म र बहिनीले गर्छौ । ममीले विदेशी साथीसँग इमेल तथा इन्टरनेट मार्फत् कुरा गर्दा सम्पादन गरेर म सहयोग गर्छु । 

ममीलाई सामाजिक सञ्जालमा कुरा गर्न खुब मन पर्छ । म ममीको हरेक दिनका फोटा तथा भिडियो खिचेर युट्युवमा राखिदिन्छु । मलाई भिडियो सम्पादन गर्न अलिअलि आउँछ । ममीको च्यानलमा अपलोड गरिदिने काम गर्छु । बहिनी टिकटक बनाउन चाहन्छे त्यसैले दिउँसो टिकटक बनाइदिन्छु । म निर्देशन पनि गर्छु कस्तो बनाउने र कसरी फोटो खिच्ने भन्नेमा । जब ममी दिदी, बाबा, हजुरआमा बास्केटबल, फुटबल, व्याटमिन्टन खेल्न थाल्नुहुन्छ म उहाँहरूको भिडियो सुटुक्क लिन्छु र ममीको सामाजिक सञ्जालका लागि तयार गरिदिन्छु ।   

हामी आफुले आफैंलाई सुरक्षित बनाउन घरमै एकान्तबास बसिरहेका छौं । यसबेला परिवारका सदस्यलाई सहयोग गर्दै जीवनपयोगी सीप सिकिरहेका छौं । मैले हजुरआमाका कथाबाट त्यो बेला र आजकोे समाजको बारेमा बुझ्न पाएँ । हामीलाई त कति स्वतन्त्रता रहेछ ! ममीबाट परिवारमा मेलमिलाप ल्याउने उपाय, अरुको विचारको कदर गर्ने, आफ्नो विचार अरु सामु कसरी राख्ने भन्ने सिकें । बाबाबाट समयको सदुपयोग, सफलता हासिल गर्न कस्ताकस्ता सीप चाहिन्छ भन्ने सिकें । बहिनीबाट सानाले के चाहन्छन् र दिदीको कतव्र्य के हो भन्ने बुझें । 

यो एकान्तबासले काठमाडौंको वातावरण सुन्दर, स्वच्छ अनि शान्त पनि हुँदोरहेछ भन्ने थाहा पाएँ । घरवरपर गाडी र मान्छे हिँडेको आवाजमात्र सुनिरहेको आजभोली जताततै चिरबिर सुनिन्छ । साथमा कुकुर भुकेको आवाज पनि । साँच्चै हामी प्रकृतिसँग कति नजिक रहेछौं ।  

लकडाउनका बेला दिनमा कम्तिमा एउटा चलचित्र हेर्ने गरेकी छु । बहिनी र म सँगै बसेर हेर्छौं । हामी एमाजोनको प्राइम भिडियो र नेटफिल्क्समा चलचित्र हेर्छौं । धेरैजसो अंग्रेजी भाषाको चलचित्र हेर्न थालेकी छु । मैले हेरेका अंग्रेजी भाषाका चलचित्रहरु स्टेपअप, मिन गल्र्स, मिन गल्र्स टु, क्लुलेस, एनोदर सिन्ड्रेला स्टोरी, व्रिङ्ग इट अन, प्रिन्सेस डायरी, प्रिन्सेस डायरी टु, ह्यारी पोटर, सिन्ड्रेला टुइस्ट इन टाइम हुन् । त्यस्तै हिन्दीमा विरजारा, केजीएफ, जानु, गुडन्यूज, गिता गोभिन्दम हेरें भने नेपाली भाषामा तीन घुम्ती र लभस्टेसन । 

चलचित्रबाट विभिन्न कालखण्डका संगित, भाषा, संस्कार र चालचलन बुझ्न पाएँ । त्यसबेलाको समाज र राजनीति नियाल्न पाएँ । त्यतिबेलाको हेयर स्टाइल र फेसनका बारेमा जानकारी पाएँ । मन छोएको चलचित्र मिन गल्र्समा हाई स्कुलमा एक युवतीले भोग्नु परेका चुनौतीका साथै एक व्यक्तिले अर्कोलाई प्रगति र प्रख्यात हुन नदिन कस्ताकस्ता खेल रच्दा रहेछन् भन्ने बुझ्न पाएँ । 

चलचित्रबाट आत्मबल दह्रो बनाउन, स्वाभिमानी बन्न, आत्मरक्षाका लागि सीप सिक्न र सृजनात्मक बन्न सिकें । संगतको असर कस्तो हुन्छ र कस्ता साथी बनाउने भन्ने पनि सिकें । आफूले आफैंलाई माया गर्नु पर्छ भन्ने शिक्षा पनि पाएँ । 
यसरी मैले लकडाउन सदुपयोग गर्दै आएकी छु ।

प्रकाशित: २७ चैत्र २०७६ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App