१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

पाइलट बन्ने सपना अधुरो भो

फिल्म ‘बुलबुल’बाट उदाएका कलाकार हुन्, मुकुन भुषाल । उनको ‘झिङ्गे दाउ’ फिल्म प्रदर्शनको तयारीमा रहेको छ भने ‘विच्छेद’ सुटिङको तयारीमा छ । उनीसँग भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः

अभिनयमा कसरी आउनुभयो ?
अरुलाई जस्तै मलाई पनि रंगीन दुनियाँले आकर्षण गर्‍यो । सानामा हलमा गएर लाइन लागेर फिल्महरु हेर्ने गरिन्थ्यो । यसरी फिल्म हेर्दा फिल्म खेल्न पाए त भन्ने लाग्थ्यो । जब फिल्म हेरिन्थ्यो, ती क्यारेक्टरहरु गज्जबका लाग्थे । त्यसकै प्रभावले होला फिल्म क्षेत्रमा आइयो ।

कसका फिल्म हेर्नुहुन्थ्यो ?
मलाई बलिउडमा अभिताभ बच्चनका फिल्म एकदमै मन पर्थे । अमिताभका फिल्म आएको हल्ला चल्नेबित्तिकै हलमा हेर्न गइहालिन्थ्यो । उनैको प्रभावले ओहो यस्तै हुन पाए भन्ने चाह बढ्दै गयो । नेपालका राजेश हमाल, विराट भट्ट, निखिल उप्रेतीको फिल्महरु पनि हेरिन्थ्यो तर मलाई बढी हिन्दी फिल्ममा नै रस बसेको थियो । फिल्मले आफ्नो ध्यान बढी खिचेकाले पढाइले पनि थिचिरहेको थियो ।

कस्को प्रेरणाले फिल्म आउनुभयो ?
म कसैको पे्ररणाले फिल्ममा आएको होइन । म आफैँले संघर्ष गरेर आएको हुँ । सुरुवातमा कसैको सपोर्ट थिएन ।

पहिलो पटक क्यामेरा फेस गर्दाको अनुभव ?
मैले फिल्म ‘बुलबुल’ खेल्नुअघि नै सर्ट फिल्म गरिसकेको थिएँ । मलाई क्यामेरा फेस गर्दा त्यस्तो कठिन लागेन । मलाई त नर्मल नै भयो ।

कस्तो फिल्म खेल्न मन छ ?
मलाई ग्याङस्टार खाल्को फिल्ममा खेल्न रहर छ । नेपाली फिल्ममा त टाइपकास्टेड भूमिका मात्र प्रस्ताव लिएर आउँछन् ।

गीत कत्तिको सुन्नुहुन्छ ?
म त गीत एकदमै सुन्छु । क्लासिकल गीतहरु मेरो रोजाइमा पर्छन् । मलाई ड्याङडुङ गीतहरु त्यति साह्रो मन पर्दैन । मलाई भजन  मनपर्छ ।

तपाईंको पहिलो पारिश्रमिक ?
मेरो पहिलो कमाई ३०/३५ हजार रुपैयाँ थियो । ठमेलको एउटा होटलमा कुनै बेला म म्यानेजर थिएँ । त्यो बेला नै मेरो पहिलो पारिश्रमिक ३०/३५ हजार थियो । दश वर्ष अगाडिको कुरा हो ।

अभिनेता नबनेको भए ?
सायद म लेक्चरर बन्थेँ होला । मलाई पढाउन एकदम मनपर्छ । फिल्म क्षेत्रमा नआएको भए सायद कुनै स्कुलमा पढाइरहेको हुन्थेँ । शिक्षक बन्ने चाहना ममा थियो । मैले गाउँकै स्कुलमा पनि पढाइरहेको थिएँ । पढाउन मन लाग्ने भएका कारण एक पटक स्कुलको शिक्षक पनि बनेको थिएँ । बिस्तारै फिल्ममा पनि लगाव बढेर आयो ।

तपाईलाई कुन कुराले चित्त दुःछ ?
मलाई चित्त त खासै दुख्दैन । मान्छेले मलाई चित्त दुखाइदिएर दुख्ने चित्त त हैन । जब आफैँ गलत बाटोमा हिँडे कि जस्तो फिल भयो भने आफैँसँग चित्त दुख्छ ।

अलिक फरक प्रश्न गरौँ ल ! तपाईं सुतिरहेको बेला अचनक भुत आयो भने तपाई के गर्नुहुन्छ ?
मैले के गर्नुपर्छ र ? सबै काम भुतले गरिहाल्छ नि ! मैले अहिलेसम्म भुत त देखेको छैन । हामीलाई अरुले भनिदिएको आधारमा भन्ने हो भने भुत कत्रो कत्रो हुन्छ । इम्याजिन गर्दा पनि डरलाग्दो खाल्को । भुत आयो भने त के होला के होला !

तपाईंलाई एक दिनका लागि प्रधानमन्त्री बनाइयो भने सबैभन्दा पहिला के गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्थें । कसैलाई सिधै भ्रष्टाचारी भन्न सकिँदैन । फलानाले भ्रष्टाचार गरेको छ भन्ने सूचना दिनेलाई पुरस्कारको घोषणा गरिदिन्थेँ । त्यस्तो सूचना जारी गरेपछि धेरैले यस्तो जानकारी दिने गर्छन् । यसरी जानकारी दिएपछि नियन्त्रण गर्न सजिलो हुन्छ । भ्रष्टाचार गरेको कुरा सरकारलाई पनि थाहा हुन्न तर छिमेकी आफ्ना आफन्तलाई थाहा हुन्छ । उनीहरुको यसबारेमा जानकारी दिनेलाई भ्रष्टाचार गरेको आधा दिने भनेसी यसले भ्रष्टाचार गरेको छ भन्ने कसैले कञ्जुस् गर्दैनन् होला भन्ने लाग्छ । त्यसको आधा रकम राज्यकोषमा राख्थेँ । यसरी नयाँ तरिकाबाट म भ्रष्टाचार नियन्त्रणको लागि एकदिनमा सक्दो प्रयास गर्थेँ ।

तपाईंलाई जुनै विषयमा पनि भाषण गर्नुस् भन्यो भने के विषयमा भाषण गर्नुहुन्छ ?
म सायद आध्यामिक कुराको भाषण गर्थें होला । मलाई आध्यामिक कुरा जस्तै महाभारत, रामायणका लगायतका विषयमा नै भाषण गर्थे होला । यसमा मलाई भाषण गर्न लगाइयो भने दिनभरि नै गर्न सक्छु जस्तो लाग्छ । अर्को कुरा इतिहासका बारेमा पनि भाषण दिन्थेँ होला ।

तपाईंलाई कुन कुराले खुसी बनाउँछ ?
मैले काम गर्न पाएँ भने खुसी लाग्छ । काम नै भएन भने त के गर्ने होला ? कसो गर्ने होला भनेर टेन्सन बनाउँछ । काम भयो भने त दिन बितेको पत्तै पाउँदिनँ । अझ फिल्म क्षेत्रको आयो भने काम पनि भइरहन्छ । रमाइलो पनि भइरहेको छ अनि पैसा पनि आइरहेको छ । मलाई खुसी हुन अर्को कुरा कुनै पर्दैन ।

के देख्दा दुःख लाग्छ ?
दुःखीहरुलाई देख्दा मलाई दुःख लाग्छ । सबैलाई एउटै लेभलमा राखिदिएको भए भन्ने लाग्थ्यो तर यस्तो हुदैन । कोही बाटोमा सुतिरहेका हुन्छन् । कोही खानकै लागि भिख मागिरहेका हुन्छन् ।

फेसनमा कत्तिको ध्यान दिनुहुन्छ ?
फेसनमा मेरो त ध्यान नै छैन । जे लगाउन मन लाग्छ, त्यही लगाउने हो, हिँड्ने हो ।

प्रेम प्रस्ताव कत्तिको आउने गरेका छन् त ?
खै, मलाई त आएकै छैनन् । मलाई पनि त्यता रुचि नै नभएर हो कि ! खै के हो कुन्नी, अहिलेसम्म कसैले प्रेम प्रस्ताव राखेकै  छैन ।

आफूले गर्न चाहेको तर गर्न नसकेको अधुरो काम के हो ?
मैले पाइलटिङ हो । मलाई पाइलटिङ गर्न एकदमै रहर थियो तर मैले कहिल्यै गर्न सकिनँ । मन हुँदाहुँदै पनि गर्न चाहेको तर नपाएको अधुरो काम भनेको यही हो । पाइलटिङ गर्ने प्रोसेसिङबाट पनि गुज्रेको थिएँ । घरपरिवारको सल्लाह भए पनि आफ्नै कमजोरीका कारण मैले गर्न पाइनँ । मेरो आँखाको समस्याले गर्दा पनि यसमा बाधा पर्‍यो ।

आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?
म कसैसँग छिट्टै खुल्न सक्दिनँ । अरुको देख्छु, उनीहरु भेट्नेबित्तिक्कै खुल्छन् तर म त अलिकति संगत गरेपछि मात्रै खुल्ने गरेको छु । सायद मेरो कमजोरी यही हो कि ! कोही रिस उठ्दाजस्ता हुन्छन्, कोही मायालाग्दो हुन्छन् ।

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
मेरो त धैर्यता र आत्मविस्वास नै हो । अर्को त छँदैछैन । कुनै पनि कामका लागि कहिल्यै आत्तिन्नँ । हरेक काम आरामले गर्छु तर मज्जाले गर्छु । 

आफ्नो आफैँलाई मनपर्ने बानी के हो ?
म अलिक घुमन्ते छु । मे प्रायः घुमिरहेकै हुन्छु । घुम्दाखेरि धेरै कुरा सिक्ने अवसर पाएको हुन्छु । यो मेरो एकदमै आफूलाई मनपर्ने बानी हो । घुमेका ठाउँका बारेमा लेखेर उतार्न सकिन्छ । कुन ठाउँमा के छ कसो छ सबै जान्न सकिन्छ । पढेको भन्दा हेरेर धेरै कुरा जानिन्छ । त्यस कारण पनि घुम्न मन पर्छ ।

नराम्रो बानी नै ?
खासमा हरेक बानी मेरो नराम्रो नै होलान् ।

प्रकाशित: २ चैत्र २०७६ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App