६ माघ २०७८ बिहीबार
अन्य

निर्वाण अर्थात् सुखै सुख

सबै बौद्धका लागि सर्वप्रिय शब्द हो, ‘निर्वाण’। बुद्ध र बौद्धसँग सम्बन्धित सम्पूर्ण धर्मदर्शन तथा क्रियाकलापको तात्पर्य वा अन्तिम लक्ष्य निर्वाण मात्रै हो। बौद्ध धर्मदर्शनले दुःखलाई एक सत्य मानेको छ, तर त्यो शाश्वत होइन, शाश्वत  केही छैन। जीवन प्रवाह भन्नु नै दुःख हो। बुद्ध र बौद्ध जगत्मा चासोका विषयमा पर्छन्–  दुःख छ, दुःखको कारण छ, यसलाई निवारण गर्न सकिन्छ र अष्टांगिक मार्गलाई अवलम्बन गर्दा दुःख अन्त्य हुन्छ। अष्टांगिक मार्ग भन्नु नै निर्वाण मार्ग हो। दुःखको अन्त्य वा दुःखरहित भन्नु नै निर्वाण लाभ गर्नु हो।

पञ्चनिवरण
कोही कसैले निर्वाण लाभ गर्न नसक्नुका केही  कारण समेटिएको बुद्ध वचनअनुसार पञ्चनिवरणले मान्छेलाई निर्वाण मार्गमा जान दिँदैन। पञ्चनिवरणमा कामच्छन्द, व्यापाद, थिनमिथ्थ, उद्धस–कुकुच्छ र विचिकिच्छा पर्छन्। लोभ, मोह, कामवासना (रूप, शब्द, गन्ध, रस र स्पर्श) आदिमा भुल्नु कामच्छन्द हो। यसले अविद्या मात्रै बढाउँछ। अविद्या हुन्जेल निर्वाण लाभ हुँदैन। त्यस्तै, व्यापाद (मान्छेमा हुने रिस, द्वेष, हिंसा, घृणा लगायत भाव)ले साधनामा अवरोध सिर्जना गर्छ। मान्छेमा हुने अल्छीपन, निद्रा, बेहोसी आदि  थिनमिथ्थअन्तर्गत पर्छन्, जसले मान्छेलाई प्रगति गर्न दिँदैन। उद्धस– कुकुच्छ (चञ्चलता, पश्चात्ताप, व्याकुलता) को अवस्थामा पनि सत्मार्गमा लाग्न सकिँदैन। यसले  निर्वाण लाभ गर्ने बाटोमा लाग्न बाधा दिन्छ। त्यस्तै, निर्वाणकै सम्बन्धमा विचिकिच्छा (आत्मविश्वासको कमी)  राखेर बस्दा कुनै पनि हालतमा निर्वाण प्राप्त हुँदैन। कुनै पनि कुरालाई अक्षरशः पालना गर्नुअघि सुनारले सुन जाँचेर हेरेजस्तै हेर्नू भनेर स्वयं बुद्धले भनेका छन्। साधकलाई यो एउटा ठूलो वैचारिक स्वतन्त्रता हो।

निर्वाण मार्ग
बौद्ध धर्मदर्शनमा स्थापित हिनयान र महायान दुई भेद कसैले कसैलाई होच्याउन वा फुक्र्याउन प्रयोग गरिएका शब्द होइनन्। निर्वाणसम्म पुग्न  अवलम्बन गरिने मार्गका आधारमा यी भेद देखिएका हुन्। सबै बौद्ध सम्प्रदाय तथा उपसम्प्रदाय हिनयान र महायान गरी दुई यानअन्तर्गत नै पर्छन्। आजभोलि श्रीलंका, थाइल्यान्ड, म्यानमार लगायत देशमा रहेको थेरवाद हिनयानका अनेकौं सम्प्रदायमध्ये एक हो, तर यसले हिनयान भनेर आफूलाई मात्र बुझ्ने गरेको छ। ‘हिन’ भनेर आफूहरूलाई तुच्छ ठानिएको वा होच्याइयो भन्दै चित्त दुखाउने गरेको पाइन्छ। उनीहरूको मागअनुसारै बौद्ध समाजमा हिनयान शब्दको प्रयोग नगर्न आह्वान गरिएको छ, तर यो शब्द थेरवादीको मात्रै पेवा होइन। हिनयान र थेरवादलाई पर्यायवाची शब्दका रूपमा बुझ्नु र बुझाउनु समग्र बौद्ध धर्मदर्शन तथा इतिहासलाई गोलमाल पार्नु हो।

राजा मिलिन्दको प्रश्नको जवाफ दिँदै भिक्षु नागसेनले निर्वाणमा दुःखको लेस  नहुने र सुखै सुख हुने बताएका थिए।  जसरी हिलोमा फुलेको कमलको फूल हिलोरहित हुन्छ,  निर्वाणको अवस्थामा त्यस्तै हुन्छ।

दुःखरूपी जीवनप्रवाहको कारणलाई अन्त्य गरेर पुनर्जन्म लिन नपर्ने अवस्थामा पुग्नु एउटा अवस्था हो।  यही अवस्था अरूका लागि  ल्याउने कार्यमा सहायक बन्न निर्वाण यात्रा स्थगन गरेर बोधिसत्व भई पुनः जन्म लिएर बोधिचर्या गरिरहनु बीचको भेद नै हिनयान र महायान हो। हिनयान र महायानले लिने लक्ष्य वा दृष्टिकोण नै फरक छन्। यसकारण, निर्वाण मार्ग दुई वटा भएका हुन्। अर्हत् भई निर्वाण प्राप्त गर्न निश्चित तहहरू पार गर्नुपर्छ। यसैगरी  बोधिसत्वहरूले पनि निश्चित तहहरू पार गर्नुपर्छ। अर्हत् मात्रै हुने मार्गमा लागेकाले सर्वप्रथम प्राप्त गर्ने तह श्रोतापति हो। बोधिको श्रोततर्फ उन्मुख हुनु भनेकै श्रोतापन्न हुनु हो। श्रोतापति हुनेले सात जन्मभन्दा बढी  मान्छे भएर जन्मनु पर्दैन, तर सात जन्म मान्छेको मात्रै हो, यसमा अन्य योनीको गन्ती हुँदैन। अन्य योनी भनिए पनि श्रोतापति भएकाहरू दुर्गतिमा पर्दैनन्। उनीहरूमा अहं भाव पनि नाश भइसकेको हुन्छ।

श्रोतापतिले थप अभ्यास गर्दा सकृदागामी हुन्छन् र सात जन्ममा नभएर अर्को जन्ममा निर्वाण लाभ हुन्छ। मृत्युपछि देव, ब्रह्म आदिमा जन्मने र त्यहाँबाट पुनः मान्छेका रूपमा आएपछि निर्वाण लाभ गर्न सकिन्छ भनेर बुझ्नुपर्छ। यस अवस्थामा राग, द्वेष र मोहलाई कम गरिए पनि क्लेश नाश भइसकेको हुँदैन। अनागामीले यस लोकमा पुनः जन्म लिनुपर्दैन, अर्थात् मृत्युपछि ब्रम्हलोकमा जन्म लिन जाने हो र ब्रह्मलोकबाटै निर्वाण लाभ गर्छन्। अनागामीले नै थप अभ्यास गर्दा अर्हत् हुन्छन्। यस अवस्थामा अविद्या नाश हुन्छ। तृष्णा निर्मूल गर्नुका साथै क्लेशरहित भई कहिल्यै कहीँकतै जन्म लिनु नपर्ने हुन्छ। अर्थात्, यही जन्म उसको अन्तिम जन्म हुन्छ। अर्हत्सम्मका तहहरू एक व्यक्तिले एकै जन्ममा वा एकै दिनमा पनि प्राप्त गर्न सक्छ।

अर्हत् हुने हैसियत राखेर त्यसलाई स्थगन गरी अरूको कल्याणमा समर्पित हुने सत्वलाई बोधिसत्व भनिन्छ। यसलाई बोधिसत्व यान वा महायान पनि भनिन्छ। यो मार्गमा लागेकाहरू बोधिचर्या गर्दै क्रमशः प्रमुदिता, विमला, प्रभाकारी, अर्चिष्मती, सुदुर्जया, अभिमुखी, दुरंगमा, अचला, साधुमती, धर्ममेघ, समन्तप्रभा, निरुपमा र ज्ञानवती (बज्रभूमि) पार गर्छन् र त्यसपछि निर्वाण लाभ गर्छन्। यस मार्गबाट निर्वाण लाभ गर्नेहरूले सम्यक्सम्बोधी पाउँछन् र स्वयं सम्यक्सम्बुद्ध नै हुन्छन्। सुमेध नामका तपसीले यही मार्ग अवलम्बन गरेर विभिन्न तह पार गर्दै सम्यक्सम्बोधी प्राप्त गरेर स्वयं बुद्ध बनेका हुन् र उनको पहिचान अहिले गौतम बुद्धका रूपमा छ।  

निर्वाणका प्रकार
सौपादिशेष र अनुपादिशेष गरी निर्वाणका दुई प्रकारका हुन्छन्।
सौपादिशेष निर्वाण
श्रोतापति, सकृदागामी, अनागामी र अर्हत् भएर निर्वाण लाभ गरेको होस् वा बोधिचर्या गर्दै त्रयोदश भुवन पार गरेर निर्वाण लाभ गरेर सम्यक्सम्बुद्ध बनेको होस्, जीवन त रहन्छ नै। गौतम बुद्धले ३५ वर्षको उमेरमा बोधगयामा वैशाख पूर्णिमाको रात बोधिलाभ गरे भन्नु निर्वाण लाभ गर्नु हो। त्यसपश्चात् ४५ वर्षसम्म बाँचेर उनले ८० वर्षको उमेरमा कुशीनगरमा देहत्याग गरे। सशरीर निर्वाण प्राप्त गर्नुलाई सौपादिशेष निर्वाण भनिन्छ। यसरी नै भिक्षु नहुँदै अर्थात् गृहस्थ जीवनमै  अर्हत् हुनेहरू पनि हुन्छन्, तर अर्हत्व प्राप्त गर्ने जो कोही गृहस्थ केही दिनभित्रै घरबार छाडी प्रव्रज्या लिई भिक्षु बन्नुपर्छ। नत्र उसको आयु लामो हुँदैन। घरबार छाडी प्रव्रज्या लिएर भिक्षु भइसकेकाहरू पनि अर्हत् भएर लामो समयसम्म अरूको हितमा समर्पित हुन्छन्।  

अनुपादिशेष निर्वाण
गौतम बुद्धले ८० वर्षसम्म बाँचेर वैशाख पूर्णिमाका दिन कुशीनगरमा दुई शालवृक्षको बीचमा देहत्याग गरेका थिए। जीवनको कुनै पनि बेला सौपादिशेष निर्वाण लाभ गरिसकेकाले देहत्याग गर्नुलाई निरुपानिशेष निर्वाण लाभ गरेको भनिन्छ। यही अर्थमा बुद्धले कुशीनगरमा प्राप्त गरेको महापरिनिर्वाणलाई निरुपादिशेष निर्वाण भनेर बुझ्न सकिन्छ। निर्वाणमा दुःख हुन्छ कि भन्ने राजा मिलिन्दको प्रश्नमा भिक्षु नागसेनले दुःखको लेस  पनि नहुने र सुखै सुख हुने जवाफ दिएका थिए, जुन यहाँ मननीय छ। जसरी हिलोमा फुलेको कमलको फूल हिलोरहित छ, त्यसरी नै निर्वाणको अवस्था हुन्छ भनिएको छ। यो सुखको अनुभव गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको सात हप्तासम्म बोधगयाकै विभिन्न ठाउँमा रहेर अनुभव गरेका थिए।

निर्वाणका सम्बन्धमा धेरैले धेरै उपमा दिएका  छन्। त्यस्तै, निर्वाणलाई व्यक्त गर्ने क्रममा महाकवि अश्वघोषले ‘सौन्दरनन्द’ (महाकाव्य)मा निर्वाणको तुलना निभेको दियोसँग गरेका छन्। निभेको दियो पृथ्वी, अन्तरिक्ष या  कुनै दिशामा जाँदैन, तर यसले शान्ति प्राप्त गर्छ। यसरी नै ज्ञानी पुरुष पृथ्वी,  अन्तरिक्ष,  कुनै दिशा र  कुनै विदिशामा जाँदैन, क्लेश क्षय भएपछि शान्ति प्राप्त गर्छन्। यही विषय समेटिएको संस्कृत श्लोक यस्तो छ–
दीपो यथा निर्वृतिमभ्युपेतो नैवावनिं गच्छति नान्तरिक्षम्।
दिशं न काञ्चिद् विदिशं न काञ्चित् स्नेहक्षयात् केवलमेति शान्तिम्।।
तथा कृती निर्वृतमभ्युपेतो नैवावनिं गच्छति नान्तरिक्षम्।
दिशं न काञ्चिद् विदिशं न काञ्चित् क्लेशक्षयात् केवलमेति शान्तिम्।। (१६।२८,२९)

प्रकाशित: १ चैत्र २०७६ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App